७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपालगन्जमा थन्कियो चामल , हुम्लामा खाद्य संकट

नेपालगन्ज/ हुम्ला- चार महिनादेखि हुम्लामा चामल ढुवानी हुन नसक्दा खाद्य संकटको अवस्था सिर्जना भएको छ । सरकारी अनुदानको चामल सकिएको र थप अनुदानको चामल जिल्लामा पुग्न नसक्दा यहाँ खाद्य संकट उत्पन्न भएको हो ।

हुम्लामा नेपालगन्ज र सुर्खेतबाट चामल ढुवानी हुने गर्छ । वार्षिक अनुदान नेपालगन्जबाट चार हजार दुई सय ५० क्विन्टल र सुर्खेतबाट आठ हजार पाँच सय क्विन्टल चामल जिल्ला जान्छ । चार महिनादेखि चामल सकिँदा संस्थानले एक साता अघि सुर्खेत र नेपालगन्जबाट १५–१५ सय क्विन्टल चामल माग भएको थियो ।हाल यहाँ तीन सय ८० क्विन्टल चामल मात्र स्टक छ । दुई हप्तादेखि यहाँका बासिन्दालाई संस्थानको चामल बिक्री वितरण बन्द गरिएको छ । खाद्य संस्थान हुम्लाका प्रमुख नारायणसिंह केसीका अनुसार १५ सय क्विन्टल चामल स्टक हुनुपर्छ । अहिले त्यो भन्दा कम भएपछि सर्वसाधारणलाई चामल दिन बन्द गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिएपछि मात्र चामल उपलब्ध हुने गरेको उनले बताए । प्रजिअले अवस्था हेरेर दुईदेखि १० किलोसम्म चामल स्वीकृति दिने गरेको प्रमुख केसीले नागरिकसँग बताए । ‘एक हप्तासम्ममा हुम्ला चामल नपुगे यहाँ ठूलो खाद्य संकट पर्छ,’ उनले भने, ‘यसका लागि अरु कुनै माध्ययमबाट सरकारले चामल ढुवानी गर्नु पर्छ ।’ अहिले यहाँका उपभोक्ता बजारको चामल चर्काे मूल्यमा किन्न बाध्य छन् । वर्षाको समयमा गाउँ गाउँसम्म चामल पुग्न समस्या हुँदा उक्त क्षेत्रमा समस्या हुने खाद्य संस्थानले जनाएको छ।

‘अहिले यहाँका बासिन्दा बजारको चामल महंगो मूल्यमा किन्न बाध्य छन्,’ उनले भने, ‘यदी संस्थानमा चामल भएको भए उनीलाई सहज हुन्थ्यो ।’ यहाँका बासिन्दा खाद्य संस्थानको चामलमा निर्भर छन् । बजार क्षेत्र कम भएकाले पनि खाद्य संस्थानको चामलको माग बढी छ । पहाडी जिल्ला भएकाले वर्षामा पैदल मार्ग भएर चामल लिन समस्या हुने खाद्य संस्थान हुम्लाका प्रमुख केसीले जनाए । मौसम सफा नहुँदासम्म चामल जिल्ला आउन नसक्ने बताइएको छ । यहाँका स्थानीयले सरकारले उक्त चामल हुम्ला पु¥याउन विकल्प खोज्नु पर्ने बताएका छन् ।

‘बजारको चामल महंगो हुन्छ,’ उनले भने, ‘संस्थानको चामल सस्तो र राम्रो हुने भएकाले स्थानीयको रोजाइमा बढी संस्थानकै पर्छ ।’ यदि चामल ढिलो गरी आए यहाँ खाद्य संकट हुनसक्ने स्थानीयको भनाइ छ । नेपालगन्ज र सुर्खेतबाट छिटो चामल आए सहज हुने स्थानीय बताउँछन् ।पठाउने चामल राँझा विमानस्थल नेपालगन्जमा रोकिएको छ । नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय नेपालगन्जले पठाएको १५ सय क्विन्टल चामल विमानस्थलमा रोकिएको हो ।

गत साता खाद्य संस्थान हुम्लाले चामल अभाव भएको भन्दै नेपालगन्ज र सुर्खेतमा चामलको माग गरेको थियो । ‘हामीले यहाँबाट चामल पठाएका छौं,’ नेपालगन्ज खाद्य संस्थानका प्रमुख पुर्णप्रसाद दाहालले भने, ‘तर केही दिनदेखिको खराब मौसमले चामल जान सकेको छैन ।’ अब केही दिन चामल रोकिए हुम्लामा खाद्य संकट पर्ने उनले बताए।

हवाईभन्दा अन्य वैकल्पिक उपाय नभएको खाद्य संस्थानले जनाएको छ । नेपालगन्ज र सुर्खेतमा माग गरिए पनि हालसम्म चामल जिल्लामा आइनपुग्दा समस्या भएको खाद्य संस्थान हुम्लाका प्रमुख केसीले बताए । अरुवा मोटा, जिरा मसिनो, जापानी, मकवानपुर लगायत चामल यहाँ जाने गरेका छन् ।

प्रकाशित: २० असार २०७५ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App