coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सरकारको निर्देशन विपरीत दूषित पानी बिक्री

काठमाडौं - उपत्यकामा विभिन्न खानेपानी कम्पनीले बिनास्टिकर पानी बेचिरहेको भेटिएको छ । सरकारले पानीको वर्गीकरण अनुसार ट्यांकरमा स्टिकर टाँस्न निर्देशन दिए पनि कतिपयले टेरेका छैनन्।

सरकारले उपत्यकामा बोरिङको पानी अनुगमनका क्रममा ट्यांकरले स्टिकरबिना नै पानी वितरण गरेको भेटिएको हो । बर्खा लागेसँगै पानीको मुहानमा फोहोर पस्ने र पानीजन्य रोग फैलने भएकाले सरकारले उपत्यकाको खानेपानी मुहान र स्रोतमा अनुगमन थालेको हो ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, अनुगमन शाखाका इन्जिनियर बोधराज दाहालले अहिलेसम्म पाँच सय ५८ वटा मात्रै ट्यांकर दर्ता भएको जानकारी दिए । तर, उपत्यकामा करिब नौ सय ट्यांकरले पानी आपूर्ति गर्ने उनको भनाइ छ ।‘बोर्डमा ट्यांकी दर्ताको तथ्यांक फरक छ, बजारमा फरक छ । यस विषयमा अहिले अनुगमन तीव्र बनाएकाछौं । धेरै मुहान खोलाको नजिक छन् । पानीको बोरिङ ढल नजिक–नजिक छ । यही पानी ट्यांकरले घर–घरमा पुर्याएको देखिन्छ,’ बोर्डका अनुगमन शाखाका इन्जिनियर दाहालले भने, ‘पानीको मुहान कहाँ छ ? ट्यांकरको पानी सोझै पिउन मिल्ने हो कि घरायसी प्रयोजनका लागि ? भन्ने उपभोक्तालाई थाहा हुन्न ।’

उनका अनुसार धेरैजसो ट्यांकरले स्टिकरबिनै पानी आपूर्ति गरिरहेका छन् । ‘हामीले चाल्नाखेल, चोभार, गोदावरी र भक्तपुरका पानीको स्रोत अनुगमन गरेका छौं । केही ठाउँमा कैफियत छ । यसलाई सुधार गर्न निर्देशन दिएका छौं,’ उनले भने । वर्षातको बेला पानी दूषित हुन्छ । पानीमा आवश्यक मात्रामा क्लोरिन मिसाउन निर्देशन दिएका छौं ।’उनका अनुसार अनुमति लिएकाको पनि स्रोतको गुणस्तरमा शंका लागेपछि नमूना परीक्षण गर्न केयुकेल पठाएका छन् । खानेपानी स्रोत रासायनिक र भौतिक रुपमा मापदण्ड विपरीत पाइएको छ ।

तत्कालीन आपूर्तिमन्त्री दीपक बोहराले यसअघि खानेपानी र अन्य प्रयोजनमा प्रयोग हुने पानी ट्यांकरको लागि छुट्टाछुट्टै स्टिकर लगाउन निर्देशन दिएका थिए । त्यसपछि मन्त्री बोहोरासहित ट्यांकर व्यवसायी, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, उपत्यका खानेपानी लिमिटेड सम्मिलित बैठकले खानेपानी तथा अन्य प्रयोजनमा प्रयोग हुने ट्याकंरका लागि छुट्टै स्टिकरको व्यवस्था गरेको थियो ।घरासयी प्रयोग गर्न मिल्ने पानी बोक्ने ट्यांकरले पहेँलो स्टिकर पाउँछ । उमालेर पिउन र भान्छामा प्रयोग गर्न मिल्ने पानी बोक्ने ट्यांकरमा हरियो स्टिकर लगाउने निर्णय गरिएको थियो । निलो स्टिकर टाँसिएको ट्यांकरले बोक्ने पानी सिधै पिउन मिल्छ ।

सरकारले प्रमाणित गरेको स्टिकर ट्यांकरमा अनिवार्य टाँसेर मात्र उपभोक्तालाई पानी वितरण गर्नुपर्ने व्यवस्था भए पनि कार्यान्वयन फितलो हुने गरेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । केही निजी ट्यांकर सञ्चालकले हचुवाका भरमा स्टिकर टाँसेको पाइएको छ । यस विषयमा सरकारले प्रभावकारी अनुगमन गर्न नसकेको उपभोक्ताकर्मी बताउँछन्।ट्यांकरलाई उद्योग विभागले लाइसेन्स दिन्छ । बजार अनुगमनको जिम्मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलार्य छ । तर ऊ अनुगमनमा कमजोर देखिएको छ । कम्पनीलाई लाइसेन्स दिएपछि अनुगमनमा कैफियत भेटिँदा कारबाही गर्न नसक्नु सरकारको कमजोरी भएको अधिकारकर्मी बताउँछन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पानी तथा ढल गुणस्तर निर्धारण महाशाखाका प्रमुख ज्ञानेन्द्र कार्कीले बोरिङको पानी अनुगमनमा स्वास्थ्यका हिसाबले प्राविधिक समस्या रहेको बताए । ‘जारको पानीमा जस्तै ट्यांकरको पानीमा पनि समस्या छ । सर्वसाधारणले ट्यांकरको पानी सिधै पिउने गरेका छन्,’ उनले भने, ‘यसरी सिधै पिउँदा हैंजा, झाडापखला, आउँ, जन्डिस, टाइफाइड जस्ता रोग लाग्न सक्छ ।’उनका अनुसार निलो स्टिकर टाँसिएको ट्यांकरले सप्लाई गर्ने पानीमात्रै सिधै पिउन सकिन्छ । उपत्यकामा खानेपानी उमालेर मात्रै पिउन उनले सुुझाए ।सरकारले खानेपानीलाई व्यवस्थित बनाउन ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४’ कार्यान्वयनमा ल्याएको छ ।

प्रकाशित: २० असार २०७५ ०१:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App