१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निर्जीवन बिमा करिब २३ प्रतिशतले वृद्धि

दिपप्रकाश पाण्डे, प्रमुख कार्यकारी अधिकृत, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेसँग बिमा क्षेत्रमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ। एभरेस्ट इन्स्योरेन्स कम्पनीबाट बिमा क्षेत्रमा प्रवेश गरेका पाण्डेले विगत १२ वर्षदेखि शिखर इन्स्योरेन्सको सिइओको जिम्मेवारी सहाल्दै आएका छन्। शिखर इन्स्योरेन्सको बिमा समितिले हालै ल्याएको संस्थागत सुशासन, वित्तीय अवस्था, इन्स्योरेन्स क्षेत्रमा देखिएका अवसर, समस्या, चुक्ता पुँजीको बढाउने योजना, समग्र इन्स्योरेन्सबारे नागरिकका विष्णु बेल्वासेले सिइओ पाण्डेसँग गरेको कुराकानीः

बिमा समितिले संस्थागत सुशासनसम्बन्धी निर्देशिका ल्याएको छ। यसमा तपाईंको भनाइ के छ?

०६९ सालमा बिमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धि निर्देशिकालाई समयसापेक्ष परिमार्जन गरी जारी गरिएको नयाँ निर्देशिका समष्टिगत रुपमा स्वागतयोग्य छ। पुरानो निर्देशिकामा रहेको कतिपय व्यवस्थालाई नयाँ निर्देशिकामा परमार्जन गरिएको छ। हाम्रो विचारमा यस्ता निर्देशिकालाई निरन्तर रुपमा समयसापेक्ष परिवर्तन गर्दै जानुपर्ने हुन्छ।

निर्देशिकामा रहेका सकारात्मक पक्ष के के छन् र यसले पार्ने नकारात्मक प्रभाव पनि छन् कि?

पुरानो निर्देशिकाको तुलनामा नयाँ निर्देशिकालाई अझ व्यवहारिक तथा सरलीकरण गर्ने प्रयास गरिएको छ। नयाँ निर्देशिकाले बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको योग्यता तथा पारिश्रमिक सम्बन्धी व्यवस्था तथा सञ्चालकको सुविधामा केही खुकुलोपना ल्याएको छ। नयाँ निर्देशिकामा धेरै सकारात्मक पक्ष भए पनि सञ्चालकको योग्यता तथा सञ्चालकको कार्यावधि सम्बन्धी व्यवस्थाले भविष्यमा बिमा कम्पनीमा व्यवहारिक तथा प्रशासनिक अड्चन निम्त्याउने देखिन्छ। बजारको वास्तविकता तथा अनुभवको आधारमा भविष्यमा यस्ता व्यवस्था समयानुकूल परिमार्जन हुँदै जाने विश्वास लिएका छौं।

भूकम्पपछि मधेस आन्दोलन र नाकाबन्दीको असर बिमा कम्पनीको वित्तीय विवरणमा पर्‍यो भनिन्छ। आगामी दिनमा पनि पर्ने सम्भावना पनि छ। ती असरलाई सामना गर्न के सोच्नुभएको छ?

भूकम्पपश्चात भएको आन्दोलन तथा नाकाबन्दीले राष्ट्रलाई नै नकारात्मक असर पारेको हुँदाहँुदै पनि समष्टिगत रुपमा बिमा क्षेत्रले गत आवमा रामै्र प्रगति गरेको देखिन्छ। सो समयमा सरल अवस्था भइदिएको भए बिमा क्षेत्रले अझै राम्र्रै फड्को मार्न सक्ने थियो कि जस्तो लाग्छ। यस्तो अवस्थाबाट पाठ सिक्दै आउँदा दिनमा हाम्रो व्यवसायलाई पर्ने असर न्यूनीकरण गर्न कम्पनीका आफ्ना शाखा विस्तार तथा नयाँ बिमालेखको विस्तार लगायत अन्य लगानीका क्षेत्र समेत पहिचान गरी आफ्ना जोखिमलाई न्यूनीकरण गरी अगाडि बढ्दै जानुपर्ने देखिन्छ।

प्रायः सबै बिमा कम्पनीले असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। समग्रमा बिमा कम्पनीकोे वित्तीय अवस्थालाई कसरी हेर्नुभएको छ?

प्रारम्भिक तथ्यांकअनुसार गत आवमा नेपालको निर्जिवन बिमा करिब २३ प्रतिशतले वृद्धि भएको देखिन्छ। प्रायः सबै कम्पनीको व्यवसाय तथा खुद नाफा वृद्धि भएको देखिन्छ। सम्पुर्ण बिमा कम्पनीको सेयर मूल्यमा समेत राम्रै वृद्धि भएको छ। करिब आधा आव राजनीतिक समस्याको चर्को मारमा परेका बेला समेत यस्तो किसिमको वृद्धिदर हासिल गर्न सक्नुलाई उत्साहजनक रुपमा लिनुपर्छ। नेपाली बिमा कम्पनीको वित्तीय अवस्था जतिसुकै सुदृढ रहे पनि गएको भूकम्पजस्तो महाविपत्तिको जोखिमले सिर्जना गर्ने दाबी आफैले भुक्तानी गर्न बिमा कम्पनी सक्षम हँुदै जानुपर्छ। त्यसका लागि आफ्नो व्यवसायअनुकुलको महाविपत्ति पुनर्बिमा व्यवस्था गर्दै जानुपर्छ।

हामीले चालु आवमा कम्पनीको खुद धारण रक्षावरण गर्न ६०० करोडको महाविपत्ति पुनर्बिमाको व्यवस्था गरेका छौं जुन अन्तराष्ट्रिय मापदण्डलाई ध्यानमा राखेर गरिएको छ। यसतर्फ सम्बन्धित सबै पक्षको उचित ध्यान जानु आवश्यक छ जस्तो लाग्छ।

बिमा कम्पनीमा अझै पनि दाबी भुक्तानीको समस्या छ भनिन्छ, यसलाई कसरी समाधान गर्न सकिएला?

तपाईंको यो प्रश्न विगतका अनुभवलाई संगालेर राख्नुभएको जस्तो लाग्छ, जुन हालको अवस्थामा लागू नहुन सक्छ। बिमा कम्पनीले दाबी भुक्तानी गर्दा न्यूनतम कानुनी कागजात संकलन गर्नुपर्ने हुँदा बिमितले समयमै ती कागजात पेस नगर्दा बिमा कम्पनीले समयमै दाबी भुक्तानी गर्न सक्दैनन्। कतिपय अवस्थामा सर्भेयरबाट प्रभावकारी भूमिका निर्वाह नहुँदा समेत दाबी भुक्तानी गर्न समस्या हुन्छ। साथै केही बिमितबाट सिर्जना हुने नैतिक जोखिमले पनि दाबी भुक्तानीमा समस्या पर्ने गर्छ।

हाम्रो विचारमा छिटो छरितो तथा सरलीकृत दाबी प्रक्रियाबाट नै बिमा व्यवसायको उज्ज्वल भविष्य निर्धारण हुन्छ। विगतमा कम दाबी भुक्तानी गर्न सके कम्पनीको मुनाफामा वृद्धि हुने सोच हुन सक्थ्यो होला। तर हाम्रो विचारमा छिटो छरितो तथा सहज वातावरणमा जतिसक्यो चाँडो र झन्झटमुक्त रुपमा वास्तविक दाबी भुक्तानी गर्न सके जनमानसमा बिमाप्रति विश्वास बढ्ने र बिमाको बजार विस्तार हुँदै जानेछ।

यसका लागि कम्पनीले आफ्नो दाबी विभागलाई सक्षम बनाउँदै जानुपर्छ र सर्भेयरको कार्य क्षमता तथा दक्षतामा समेत अभिवृद्धि गर्न सम्बन्धित पक्षको ध्यान जानु आवश्यक छ।

बिमा समितिले बिमा कम्पनीलाई पनि मर्जरमा जान दबाब दिइरहेको छ भनिन्छ नि। मर्जरमा जाने सोचाइ तपाईंले बनाउनु भएको छ कि?

बिमा समितिले हालसम्म बिमा कम्पनीलाई मर्जरमा जान कुनै दबाब दिएको छ जस्तो लाग्दैन। भविष्यमा कम्पनीको चुक्ता पँुजी वृद्धिसम्बन्धी व्यवस्थाले केही बिमा कम्पनीलाई मर्जरको विकल्प नहुन सक्छ। हाम्रो सोचाईमा पुँजीको आधारमा नै कम्पनीले आफ्नो धारण शक्ति र सो को फलस्वरुप उच्चतम प्रतिफल समेत प्राप्त गर्न सक्नेे हुन्छ। हालको अवस्थामा अस्वाभाविक पुँजी निर्धारण गरिएको अवस्थामा बाहेक विना मर्जर नै हाम्रो कम्पनी अगाडि बढ्न सक्षम रहेको छ।

अहिले बिमा कम्पनीबीच चर्को प्रतिस्पर्धा छ। कम्पनीलाई अझ प्रतिस्पर्धी बनाउने के कस्ता कार्ययोजना अगाडि बढाउनुभएको छ?

प्रतिस्पर्धी बजारमा आफ्नो सेवा तथा क्षेत्रको विस्तार गर्दै अगाडि बढ्ने योजना रहेको छ। तीव्र प्रतिस्पर्धी बजारमा आफ्ना बिमितलाई चुस्तरुपमा सेवा प्रदान गर्न कर्मचारी तालिम तथा दक्षता अभिवृद्धिका कार्यकक्रम ग्ार्दै आएका छौं। अगाडि भनिएजस्तै छिटो छरितो तथा झन्झटमुक्त दाबी भुक्तानी नै आजको आवश्यकता हो। यसले जनमानसमा विश्वासको वातावरण सिर्जना गर्दै बिमा क्षेत्रमा सोचेभन्दा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ।

शिखरलेे शाखा र आधुनिक सेवा विस्तार गर्ने सम्बन्धमा के गरिरहेको छ?

हामीले हरेक वर्ष नयाँ–नयाँ बिमालेख जारी गर्दै आएका छौं। नेपाली बिमा बजारमा पहिलोपटक नगदरहित स्वास्थ्य बिमा योजना हामीले नै ल्याएका हौं भने व्यक्तिगत ऋणीको सुरक्षार्थ ढुक्क मनस्थिति बीमा, संवेदनशील रोगको बिमा, गल्फ खेलको लागि 'होल इन वन' बिमा तथा मौसमी सुचकांकमा आधारित बिमा सेवा प्रदान गर्ने हामी एकमात्र कम्पनी हौं। चालु आवमा पनि केही नयाँ बिमालेखको सुरु गर्दैछौं। साथै शाखा विस्तार गर्ने क्रममा भौगोलिक विकटता रहेका क्षेत्र जुम्ला, मुगु, कालिकोट तथा मुस्ताङमा समेत शाखा विस्तार गरिरहेका छौं र थप नयाँ शाखा सञ्चालन गर्ने योजना रहेको छ।

बिमा कम्पनीका समस्या तथा चुनौती के के छन्? त्यसको सामना के गर्नुपर्ला?

दक्ष जनशक्तिको अभाव हालको प्रमुख समस्याको रुपमा रहेको छ। यसको लागि बिमा कम्पनीले कर्मचारी तालिममा विशेष ध्यान दिनु जरुरी छ। हालको परिप्रेक्षमा नीति नियमको समेत आवश्यकता महसुस गरेका छौं। नेपाल सरकारको बजेटबाट निर्देशन भएबमोजिम ५ प्रतिशत लघुबिमाको लक्ष्य हासिल गर्नु बिमा कम्पनीका लागि प्रमुख चुनौती रहेको छ। आफ्नो सेवा तथा शाखाको विस्तार गरी यो चुनौतीको सामना गर्न सकिन्छ। हाल प्रायःजसो बिमालेखमा बिमा समितिबाट निर्धारित बिमादर लागू गर्नुपर्ने अवस्थामा यसैमा अस्वस्थ प्रतिस्पर्धा हुने वातावरण रहने भएमा बिमा बजारमा नकारात्मक असर पर्ने हुँदा समय अनुकुल बिमा दर परिमार्जन गर्नुपर्ने देखिन्छ।

नयाँ बिमा ऐनका लागि मस्यौदा तयार गरिँदैछ, ऐन कस्तो आउनुपर्छ?

हाम्रो विचारमा नीति नियम र समयअनुसार परिवर्तन हुँदै जानुपर्छ। प्रस्तावित बिमा ऐन तयार पारिएको समयसमेत धेरै बितिसकेको अवस्थामा यसलाई पुनः एकपटक सम्बन्धित पक्षसँग विचार विमर्श तथा छलफल गरी ल्याइएमा व्यवहारिक भइ समग्र बिमा क्षेत्रलाई नै दिगो रुपमा सकारात्मक असर पुग्ने देखिन्छ।

कम्पनीको वित्तीय अवस्था कस्तो छ?

नेपालमा रहेका १७ वटा निर्जिवन बिमा कम्पनीमध्ये १५औं कम्पनीको रुपमा आजभन्दा १२ वर्ष अघिमात्रै शिखर इन्स्योरेन्सको स्थापना भएको हो। तथापी हामी प्रत्येक वित्तीय सुचकांकमा अन्य कम्पनीभन्दा माथि रहेका छौं। हाम्रो चुक्ता पुँजी, नेटवर्थ तथा लगानी अन्य बिमा कम्पनीभन्दा बढी छ। ५० करोडभन्दा बढी चुक्ता पुँजी भएको तथा निजी क्षेत्रबाट प्रवर्द्धित निर्जिवन बिमा कम्पनीमध्ये उच्चतम नेटवर्थ कायम गर्दै उच्चतम महाविपत्ति पुनर्बिमा व्यवस्था गर्दै अघि बढिरहेका छौं। कम्पनीको हाल करिब १५० करोडको नेटवर्थ रहेको छ।

नेपाली निर्जिवन बिमा बजारमा १०० करोडको बिमा शुल्क संकलन गर्ने हामी पहिलो कम्पनी बनेका थियौं भने आव ०७२/७३ मा २०० करोडको बिमा शुल्क संकलन गरी नेपाली बिमा क्षेत्रमा अर्को कोुसेढुंगा पार गर्‍यौं। साथै हाम्रो असमाप्त जोखिम जगेडा रकम मात्रै ५३ करोड पुगेको छ, यसले कम्पनीको वित्तीय अवस्थालाई सुदृढ पार्दै आगामी दिनमा कम्पनीको दाबी भुक्तानी गर्ने क्षमता, खुद मुनाफा लगायत लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्न सक्ने क्षमता बढेकोे संकेत गर्छ। समष्टिगत रुपमा कम्पनीप्रति लगानीकर्ता लगायत बिमितको विश्वास बढ्दै गएको हामीले महसुस गरेका छौं। यसका लागि हामी उहाँहरुप्रति आभार व्यक्त गर्छाैं।

चुक्ता पुँजी बढाउन कस्ता योजना बनाउनुभएको छ?

हामीसँग पुँजी बढाउन तीनवटा विकल्प छन्। पहिलो प्रत्येक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्दै जानु। दोस्रो हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्नु र तेस्रो साधारण सेयरको नयाँ निष्काशन (एफपिओ) गर्नु। बिमा समितिले हाललाई नगद लाभांस वितरण गर्न रोक लगाएको अवस्थामा हामीसँग बोनस सेयर वितरण गर्दै जानुको विकल्प छैन। बिमा ऐनबाट चुक्ता पुँजी सम्बन्धी व्यवस्था स्पष्ट भएपश्चात पुँजी बजारलाई मध्यनजर गरी हकप्रद सेयर अथवा साधारण सेयरको नयाँ निष्काशनबाट सजिलै पुँजी वृद्धि गर्न सकिन्छ।

गत आवमा शिखरले खासै नाफा बढाउन सकेन भनिन्छ नि?

आव ०७१/७२ मा हामीले २१ करोड ९६ लाखको खुद नाफा आर्जन गरेको थियौं। सो नाफामा नेपाल पुनर्बिमा कम्पनीबाट प्राप्त ७ करोड ४२ लाखको लाभांश हटाउने हो भने उक्त आवमा हाम्रो नाफा १४ करोड ५५ लाख हुन्छ। आव ०७२/७३ को अपरिस्कृत वित्तीय विवरण अनुसार आव ०७२/७३ मा ३१ करोडको खुद नाफा आर्जन भएको छ जुन आव ०७१/७२ को १४ करोड ५५ लाखको तुलनामा शतप्रतिशतभन्दा बढीको वृद्धि देखिन्छ। साथै गत आवमा हाम्रो असमाप्त जोखिम जगेडा रकम ३३ करोडबाट २० करोडले वृद्धि भई ५३ करोड पुगेको छ, जसको प्रत्यक्ष असर कम्पनीको खुद नाफामा पर्न जान्छ। बिमा व्यवसायको लेखांकन नीति अन्य व्यवसायको तुलनामा फरक रहेको हुन्छ। कम्पनीलाई सुदृढ बनाउन विभिन्न किसिमका जगेडाको व्यवस्थाका लागि नीति निर्देशन बनाइएको हुन्छ। यस्ता निति बुझेकाले कम्पनीको नाफा देखेर खुसी व्यक्त गरेका छन। अतः बिमासम्बन्धी लेखांकन नीति बुझ्न जरुरी छ। दीर्घकालीन रुपमा कम्पनीले राम्रै नाफा तथा प्रतिफल प्रदान गर्न सक्ने कुरामा हामी विश्वस्त छौं।

 

शिखर इन्स्योरेन्सको कार्यकारी अधिकृतको पद सम्हाल्नुभएको लामो समय भएको छ। यो अवधिमा गर्नुभएको उल्लेखनीय काम के के छन्?

शिखर इन्स्योरेन्स कम्पनी स्थापना भएको १२ वर्ष भएको छ। उक्त अवधिमा १७ वटा निर्जिवन बिमा कम्पनीमध्ये हामीले हाम्रो बजार हिस्सा करिब १५ प्रतिशत पुर्‍याउन सफल भएका छौं। जारी बिमालेखको संख्यामा त हाम्रो बजार हिस्सा करिब १९ प्रतिशत रहेको छ। आज हाम्रो कम्पनीले करिब ३ सय जनालाई रोजगरीको अवसर प्रदान गरेको छ। ती कर्मचारीमध्ये करिब १५ कर्मचारी बाहेक अन्य सबै कर्मचारीले पहिलोपटक यसै कम्पनीमा रोजगारीको अवसर प्राप्त गरेका हुन्। देशको अर्थतन्त्रमा वार्षिक ४० करोडभन्दा बढीको राजस्व योगदान गरेका छौं। अघि भनिए अनुरुप नेपाली बिमा बजारमा १०० करोड तथा २०० करोड बिमा शुल्क आर्जन गर्दै बिमाको हरेक क्षेत्रमा पथप्रदर्शकको भूमिका निर्वाह गर्दै अघि बढिरहेका छौं। अर्ध व्यवसायिक रुपमा रहेको नेपालको निर्जिवन बिमा व्यवसायमा हामीले व्यवसायिकरणको विकास गर्न योगदान पुर्‍याएका छौं जस्तो लाग्छ। यो अवधिमा बिमा कम्पनीले दाबी भुक्तानी गर्दैन वा एकदम ढिलो गर्छ भन्ने भावनामा धेरै हदसम्म शिखर इन्स्योरेन्सले परिवर्तन गरेको जस्तो लाग्छ। हामी विगत लामो समयदेखि वार्षिक औसत ५० करोडको दाबी रकम भुक्तानी गर्दै आएका छौं। कुशल जोखिमाकंन नीति तथा पुनर्बिमा नीतिसाथ अगाडि बढ्ने हो भने महाविपत्तिको समयमा समेत बिमा कम्पनीले सजिलै दाबी भुक्तानी गर्न सक्छ भन्ने कुरा हामीले पुष्टी गरेका छौं। हामीले गत आवमा ५५० प्रिमियममा साधारण सेयरको नयाँ निष्काशन गरेको थियौं। वैशाखको भूकम्पपश्चात जारी गरिएको सो निष्काशनमा १४ गुणाभन्दा बढीको आवेदन परेको थियो। कम्पनीको पुँजी वृद्धि गर्न साधारण सेयरको नयाँ निष्काशन पनि एउटा माध्यम हुन सक्छ भन्ने हामीले बजारमा पुष्टी गरेका छौं। समष्टिगत रुपमा १२ वर्षअघि १० करोडको नेटवर्थ रहेको कम्पनी आज करिब १५० करोड पुगेको छ। सेयरधनीलाई १४४.१५ प्रतिशत प्रतिफल प्रदान गरिसकेको छ। करिब ३ सय व्यक्तिलाई रोजगारीको अवसर प्रदान गरेको छ र कम्पनीलाई राष्ट्रकै अग्रणी कम्पनीको रुपमा स्थापित गरी उज्ज्वल भविष्यतर्फ अग्रसर हुने वातावरण बनेको छ।

बिमा कम्पनीको सेयर मूल्य अत्यधिक बढेको छ। यसलाई तपाईंले कसरी मूल्यांकन गर्नुभएको छ?

सेयरको मूल्य खुला बजारले निर्धारण गर्ने हुनाले यसबारे टिप्पणी गर्नु उचित नहोला। तथापी बिमा कम्पनीको पुँजी वृद्धि सम्भावित व्यवस्थाको कारण बिमा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको हो जस्तो लाग्छ। बिमा कम्पनीको वित्तीय विवरण तथा लेखानीतिको सुक्ष्म रुपमा अध्ययन गरी लगानी गरेको अवस्थामा अवस्य पनि बजारले कम्पनी अनुरुप सेयरको उचित मूल्य निर्धारण गर्ने हामीले विश्वास लिएका छौं।

प्रकाशित: २२ भाद्र २०७३ ०५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App