८ वैशाख २०८१ शनिबार
खेल

काभानी खेल्ने अझै अनिश्चित

पोर्चुगलविरुद्धको खेलमा चोट लागेपछि काभानीलाई डोर्याएर बाहिर लैजाँदै रोनाल्डो (बायाँ)। तस्बिरः एपी

निज्नी नोभगोरोड – बायाँ पिँडौलामा चोट लागेका उरुग्वेका स्ट्राइकर इडिन्सन काभानीले फ्रान्सविरुद्धको क्वार्टफाइनल खेल्ने अझै अनिश्चित भएको छ।

‘जारी प्रतियोगितामा तीन गोल गरेका काभानीको पिँडौला सुन्निएको छ भने मांसपेशीमा केही समस्या देखिएको छ,’ उरुग्वेले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

काभानीको घाइते अवस्थापछि उनका बारेमा मंगलबारसम्म कुनै नयाँ निर्णय लिइएको छैन। शुक्रबार फ्रान्सविरुद्ध हुने खेलका लागि उनलाई छिटो तयार गर्न स्वास्थ्य टोली निरन्तर लागिरहेको छ।

‘उनी चोट मुक्त भइसकेका छैनन्,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सामान्य अभ्यासमा दोस्रो रोजाइका खेलाडीसँग उनी समावेश हुनेछन् र शारीरिक थेरापी हुँदै छ।’

पोर्चुगलविरुद्धको खेलमा काभानीले चोटका कारण ७४औं मिनेटमा मैदान छाडेका थिए। अन्तिम १६ को खेलमा काभानीको टोली उरुग्वेले शनिबार पोर्चुगलविरुद्ध २–१ को जित हात पार्दै क्वार्टरफाइलनको यात्रा तय गरेको थियो। घाइते भएर मैदानमा लडेपछि उनलाई पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले डो-याउँदै मैदानबाहिरसम्म साथ दिएका थिए। ‘काभानीको स्वास्थ्य अवस्था सुधार हुँदै छ। टोलीमा उनको उपस्थितिले हामीलाई सहज हुन्छ,’ उरुग्वेका मिडफिल्डर रोडरिगो बेन्टानकुरले भने, ‘उनको स्वास्थ्यमा छिट्टै सुधार आउनेमा हामी विश्वस्त छौं।’

यदि काभानी फ्रान्सविरुद्धको खेलमा फिट नभए प्रशिक्षक ओस्कार टाबारेजले क्रिस्टियन स्टुआनीलाई मैदानमा उतार्ने सम्भावना छ।

काभानीको टोली उरुग्वेले समूहचरणका सबै खेलमा स्पष्ट नतिजा हात पार्दै नकआउट चरणको यात्रा तय गरेको थियो।

प्रकाशित: १९ असार २०७५ २२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App