बर्लिन – रूस विश्वकपमा साबिक विजेता जर्मनी आश्चर्यजनक रूपमा समूहचरणबाटै बाहिरिए पनि प्रशिक्षकमा जोचिम लोउले निरन्तरता पाउने जर्मनी फुटबल एसोसिएसनले मंगलबार जनाएको छ।
गत वर्ष ब्राजिलमा अर्जेन्टिनालाई हराउँदै विश्वकपको उपाधि जितेको जर्मनी रूस विश्वकपको पहिलो खेलमै मेक्सिकोसँग १–० तथा समूहचरणको अन्तिम खेलमा दक्षिण कोरियासँग २–० ले पराजित हुँदै घर फर्किएको थियो। ८० वर्षमा जर्मनीले समूहचरणको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको यो पहिलो पटक हो। त्यस्तै जर्मनी विश्वकपको समूहचरणबाटै बाहिरिएको यो १९३८ पछि पहिलो पटक हो। यससँगै १२ वर्षदेखि प्रशिक्षकका रूपमा रहेका लोउले राष्ट्रिय टोलीलाई पुनर्संरचना गर्ने चाहना व्यक्त गरेको जर्मन फुटबल संघले जनाएको छ। प्रतियोगिताअघि लोउले २०२२ सम्मका लागि नयाँ सम्झौता गरेका थिए।
‘जर्मन फुटबल संघले मप्रति देखाएको विश्वासका लागि म धेरै खुसी छु। प्रतियोगिताबाट बाहिरिएपछि आलोचनाभन्दा पनि सहयोग र प्रोत्साहनले मलाई हौसला मिलेको छ,’ जर्मन प्रशिक्षक लोउले भने, ‘म अझै पनि धेरै निराश छु। तर मेरो टोलीसँग होइन। म टोलीलाई पुनर्संरचना गर्न चाहन्छु। नयाँ सिजन सुरु हुनुअघि म टोलीसँग बसेर प्रतियोगिताको गम्भीर समीक्षा गर्दै ठोस निष्कर्ष निकाल्न चाहन्छु। यसमा केही समय लाग्छ, तर सेप्टेम्बरबाट सुरु हुने अन्तर्राष्ट्रिय खेलअघि म पुनर्संरचनाको काम सक्नेछु।’
सामी खेदिरा, टोनी क्रुज र थोमस मुलरजस्ता टोलीका सिनियर खेलाडीको कमजोर प्रदर्शनपछि भएका आलोचनाका बावजुद लोउको उनीहरूको बचाउ गरिरहेका छन्। फ्रांकफर्टबाट प्रकाशित हुने फाज पत्रिकाले खेलाडीको नाम उल्लेख नगरी रूसमा जर्मन टोलीका सिनियर र जुनियर खेलाडीबीच मनमुटाव बढेको लेखेको छ।
टिमो वेर्नेर र जुलियन ब्रान्डट (दुवै २२ वर्षे)लाई २०१४ मा विश्वकप जितेका खेलाडीभन्दा कम समय खेलाइएको थियो। गोलकिपर तथा कप्तान म्यानुयल नुयुरलाई विशेष जिम्मेवारी दिइएकोमा पनि टोलीभित्र मन नपराइएको समाचार बाहिर आएका छन्। बार्सिलोनाका गोलकिपर मार्क–आन्द्रे टेर स्टेगन लयमा हुदाँहुँदै पनि खुट्टा भाँचिएका कारण ८ महिना मैदानबाहिर बसेर खेलमा फर्किएका बायर्न म्युनिखका नुयुरलाई समूहचरणका तीनै खेलमा अवसर दिइएको थियो। लोउले निरन्तर राम्रो खेलिरहेका खेलाडी मात्र खेलाउने भन्दा केही खेलाडीले चित्त नबुझाएको जनाइएको छ।
जर्मनीले बस्नका लागि मस्कोको दक्षिण–पश्चिम क्षेत्रलाई रोजेको पनि धेरै खेलाडीले मन पराएका थिएनन्। मेसुट ओजिल र इल्के गुन्डोगन सम्मिलित काण्डलाई पनि भद्दा ढंगले समाधान गरिएकोमा पनि खेलाडी खुसी थिएनन्।
टर्कीका राष्ट्रपति रेसेप तेइप इर्डोगनसँग भेट्दा गुन्डोगनले ‘मेरो राष्ट्रपतिलाई’ भन्दै हस्ताक्षर गरिएको जर्सी दिएकोमा पनि खेलाडीको जर्मनीप्रतिको इमानदारितामाथि पनि प्रश्न खडा भएको थियो।
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा ओजिल र गुन्डोगनलाई जर्मन समर्थकले गिज्याएको कुराले प्रतियोगिताको तयारीमा समेत असर गरेको थियो। ओजिलले विश्वकपको विवादबारे बोल्न अस्वीकार गरेका छन् भने गुन्डोगनले एक अन्तर्वार्तामा ‘कठिन अनुभव’ रहेको बताएका छन्।
प्रकाशित: १९ असार २०७५ २२:१९ मंगलबार