६ वैशाख २०८१ बिहीबार
खेल

स्वारेज ढुक्क

निज्नी नोभगोरोड – फ्रान्सका युवा खेलाडी किलियन एमबाप्पेलाई रोक्दै आफ्नो टोली अघिल्लो चरण प्रवेश गर्नेमा उरुग्वेका स्ट्राइकर लुइस स्वारेज ढुक्क छन्।

शुक्रबार हुने पहिलो क्वार्टरफाइनलमा स्वारेजको टोलीले फ्रान्सेली टोलीसँग प्रतिस्पर्धा गर्दै छ। सञ्चारमाध्यमसँग बोल्दै स्वारेजले फ्रान्सविरुद्धको खेलमा आफ्नो टोलीले नतिजा हात पार्नेमा विश्वस्त रहेको बताएका हुन्। जारी विश्वकपका चार खेलमा २ गोल गर्दै १ असिस्ट गर्दा उनको टोली उरुग्वेले अन्तिम १६ को खेलमा पोर्चुगललाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।

‘एमबाप्पे राम्रा खेलाडी हुन् भन्ने सबैलाई थाहा छ, तर हामीसँग पनि उनलाई रोक्ने सक्षम रक्षापंक्ति छ,’ बार्सिलोनाका स्ट्राइकर स्वारेजले भने। १९ वर्षे एमबाप्पेले अर्जेन्टिनाविरुद्धको खेलमा दुई गोल गर्दै उदीयमान खेलाडीको पहिचान दिएका थिए। उक्त खेलमा लियोनल मेसीको टोली अर्जेन्टिना ४–३ ले स्तब्ध हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। आकर्षक दुई गोल गरेका उनलाई पेनाल्टी बक्सभित्र फाउल गर्दा फ्रान्सले अग्रता लिने मौका पाएको थियो।

एमबाप्पेका अलावा फ्रान्सेली टोलीमा अन्य खेलाडी पनि उत्तिकै राम्रो खेल्न सक्ने भएकाले उनीहरूलाई रोक्न चुनौती रहेको उरुग्वेका कप्तान स्वारेजले बताए।

यद्यपि एडिन्सन काभानीको अनिश्चितताले भने उरुग्वे टोलीलाई चिन्ताको बढेको छ। काभानी पोर्चुगलविरुद्धको खेलमा बायाँ पिँडौलामा चोट लागेपछि मैदानबाट बाहिरिएका थिए।

प्रकाशित: १९ असार २०७५ २२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App