coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय तहका जनप्रतिनिधिको स्कारपियो र मोटरसाइकल मोह

जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुखका लागि खरिद गरिएको स्कारपियो गाडी । तस्बिर : नागरिक

बारा– स्थानीय तहको निर्वाचनको बेलामा जनतासँग भेट माग्दा आफु निर्वाचित भएपछि निजी स्वार्थमा नलागेर विकास, सुशासन र जनताको सेवामा केन्द्रीत हुने वाचा गरेका स्थानीय तहका जनप्रतिनिधि सुविधा भोगी मात्रै भएको पाइएको छ।

निर्वाचित भएको एक बर्ष नबित्दै अधिकांश स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले अनावश्यक रुपमा आर्थिक लाभ लिने कार्य गर्नुको साथै आफू चढ्ने गाडी र मोटरसाइकल पनि खरिद गर्न सफल भएका छन्।

जिल्लाको अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरुले महँगो गाडी र हेभी मोटरसाइकल विकास गर्न आएको बजेट रकमबाट खरिद गरी आफूलाई समाजमा ठुलो व्यक्ति देखाउने कार्यमा केन्द्रित भएको स्थानीयले आरोप लगाएका छन्।

गाउँपालिका तथा नगरपालिका प्रमुखहरुले महिन्द्र कम्पनीको महँगो तथा सुबिधा सम्पन्न स्कारपियो गाडी आफ्नो लागि खरिद गरेका छन भने उपप्रमुख र  वडा अध्यक्षहरुको लागि हेभी मोटरसाइकल खरिद गरेका गरेका छन्।

जनप्रतिनिधिहरुले निजी स्वार्थ तथा समाजमा ठुलो व्यक्ति देखाउनको लागि जथाभावी तरिकाले स्कापियो र हेभी  मोटरसाइकलको खरिदले स्थानीय तहलाई दिर्घकालिन रुपमै आर्थिक भार बढाएको गुनासो कर्मचारीबाट हुन थालेको छ।

स्थानीय सरकारका  प्रमुख, उपप्रमुख र वडा अध्यक्षले आन्तरिक राजश्व बढाउन कार्य गर्नु भन्दा बढी केन्द्रबाट प्राप्त हुने विकास निर्माणको बजेट रकमबाट नै अनावश्यक भत्ता लिने र सवारी साधन खरिदमा नै केन्द्रित भएको आरोप फेटा गाउँपालिकाका चन्देश्वर दुबेले लगाएका छन्।

चुनावको बेलामा गरिएको खर्च रकमलाई असुल्न र त्यसको फाइदा लिने कार्यमा मात्रै स्थानीय तहका जनप्रतिनिधिहरु अहिले केन्द्रित भएको हुँदा अनावश्यक भत्ता लिने, खर्च भएको भन्दा बढीको बिल पेश गरेर भुक्तानी लिने, मँहगो गाडी र मोटरसाइकल खरिद गरी चढने जस्ता कार्यहरु गरिएको दुबेको आरोप छ। 

एउटा स्थानीय तहका वडामा चुनाव लडेका उम्मेदवारले ५० लाखसम्म र प्रमुखमा चुनाव लडेका उम्मेदवारले एक देखी दुई करोडसम्म खर्च गरे पछि उनीहरुले चुनाव जितेर आए पछि स्थानीय तहको विकास गर्नु भन्दा बढी निजी स्वार्थमा लाग्ने कुरा स्वभाविक भएको उनले बताए। 

प्रसौनी गाउँपालिका प्रमुख भोला प्रसाद गुप्ताले दुई हप्ता पहिला लगभग ५० लाख रुपैया पर्ने महिन्द्र कम्पनीको एस फाईभ मोडेलको स्कारपियो खरिद गरेका छन्।

आफू मात्रै ५० लाख रुपैयाको स्कारपियोमा चढेको भन्दै वडा अध्यक्षहरुले गुनासो गरेपछि वडा अध्यक्षहरुलाई पनि अगामी आर्थिक बर्ष २०७५/७६ मा हेभी मोटरसाइकल खरिद गर्ने आश्वासन दिएर गाउँसभाबाट ३० लाख बजेट समेत बिनियोजित गराएका छन्।

प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरीले चालु आर्थिक बर्षमा प्रमुखले चढने स्कारपियो खरीद गरेपछि वडा अध्यक्षहरुलाई पनि मोटरसाइकल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको बताए। सात वटा वडाहरु रहेको गाउँपालिकामा केही महिनापछि १० वटा मोटरसाइकल खरिद गरिने योजना रहेको केशरीले बताए। प्रमुख र वडा अध्यक्षहरुलाई गाडी सुबिधा दिदा इन्धन र मर्मतमा मात्रै बार्षिक लाखौं रुपैंया गाउँपालिकालाई आर्थिक भार बढने भएपनि बाध्य भएर  जनप्रतिनिधिहरुको बिरोधमा जान सकिने अवस्था नरहेको केशरीले बताए।

कोल्वी नगरपालिकाले पनि नगरप्रमुखको लागि नयाँ मोडेलको एस इलेभेन स्कारपियो र वडा अध्यक्षहरुको लागि तीन लाख मुल्य पर्ने बढी सिसिको मोटरसाइकल खरिद गरेको छ। कोल्वी नगर प्रमुख भरत भण्डारीले स्कारपियो गाडी खरिद गर्दा लगभग ६२ लाख परेको र वडा अध्यक्षहरुको लागि ११ वटा मोटरसाइकल खरिद गर्दा ३३ लाख खर्च भएको बताए। 

जनप्रतिनिधिहरुको सेवा सुबिधाको लागि खरिद गरिएको गाडी र मोटरसाइकलको इन्धन र मर्मत खर्च नगरपालिकाबाट नै व्यहोर्ने प्रमुख भण्डारीले बताए। दिनहुँ गाउँ गाउँमा पुग्नु पर्ने र त्यसको लागि जनप्रतिनिधिहरुलाई सवारी चाहिने भएकोले गर्दा नगरपालिकाले प्रमुख र वडा अध्यक्षहरुको लागि लगभग एक करोड खर्चेर सवरी साधन खरिद गर्नु पुगेको तर्क उनको छ।

सुर्वण गाउँपालिकाले पनि प्रमुख र वडा अध्यक्षहरुको लागि लगभग एक करोडको हाहारीमा सवारी साधन खरिद गरेको छ। गाउँपालिका प्रमुख महेन्द्र यादवले आफूलाई चढ्न स्कारपियो गाडी खरिद गरेको छन भने वडा अध्यक्षहरुलाई बढी सिसिको मोटरसाइकल खरिद गरेर दिएका छन्।

महिन्द्र कम्पनीको लगभग ५० लाख पर्ने स्कारपियो गाडी खरिद गरेका छन भने वडा अध्यक्षहरुको लागि ३३ लाख जति खर्चेर १३ वटा यामाहा कम्पनकिो हेभी मोटसाइकल खरिद गरी वडा अध्यक्षहरुलाई दिएको सुर्वण गाउँपालिका कार्यालयले जनाएको छ।
जितपुरसिमरा उपमहानगरपालिकाले पनि नगरप्रमुख कृष्ण पौडेललाई चढन नयाँ स्कारपियो खरिद गरेको छ भने कलैया उमहानगरपालिकालले पनि स्कारपियो खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ।

परवानीपुर, फेटा, बिशरामपुरा लगाएतका गाउँपालिकाले पनि प्रमुखको लागि महँगो गाडि र वडा अध्यक्षको लागि मोटरसाईक खरिद गरेका स्थानीयहरुले बताएका छन्।

स्कारपियो गाडी र हेभी मोटरसाइकल खरिद गरेर चढने बाहेक पनि स्थानीय तहका जनप्रतिनिधिहरुले भित्र भित्रै करोडौ रकम भत्ता र अनावश्यक कार्यमा पनि खर्च गरेको स्थानीयहरुले गुनासा गरेका छन्।

दुई उपमहानगरपालिका, पाँच नगरपालिका सात गाउँपालिका गरी १६ वटा स्थानीय तह रहेको बाराका अधिकांश स्थानीय तहहरुले प्रमुखलाई स्कारपियो र वडा अध्यक्षहरूलाई धमाधम हेभी मोटसाइकल उपलब्ध गराइरहेका छन्।

प्रकाशित: १९ असार २०७५ १५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App