७ वैशाख २०८१ शुक्रबार
समाज

बाढीले बगाउँदा दुईको मृत्यु

सर्लाही– सोमबार दिनभर परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा २ जनाको ज्यान गएको छ। बाढीले बगाएका दुवैजनाको शव मंगलबार बिहान फेला परेको छ। जिल्ला स्थित हरिवन नगरपालिका–३ मोहनपुर निवासी ४० वर्षीय धनबहादुर लोप्चन र हरिवन नगरपालिका–९ विष्णुपुर निवासी ७० वर्षीय टेकबहादुर विकको बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

प्रहरीका अनुसार लोप्चनलाई गएसाँझ लालबन्दी बजारबाट घर फर्किने क्रममा लखन्देही खोलाले बगाएको थियो। मानसिक सन्तुलन गुमाएका विक भने सोमबार दिउँसोदेखि नै हरिवन खोलाले बगाए बेपत्ता भएका थिए। विकको शव शव मंगलबार बिहान बागमती नगरपालिका–२ स्थित डुम्रीटोलमा फेला परेको छ। 

जिल्लाकै दक्षिणी क्षेत्र स्थित कविलासीका ६० वर्षीय बलदेव महतो बेपत्ता भएका छन्। सोमबार लखन्देही पारी जानकीनगरमा ब्रम्हस्थानमा पूजामा गएका महतो सम्पर्कबिहिन भएका आफन्तले बताएका छन्। उनको खोजीका लागि मंगलबार दिनभर सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाढीले सर्वसाधारण थुनिए
 

त्यस्तै मनुष्मारा र वागमती नदीको भेलका कारण दुई खोलाको बीचमा सोमबार राती सर्वसाधारण थुनिएका थिए। ‘वागमती र मनुष्मारा खोलाको बाढीका कारण दुईवटा खोलाको बीचमा सर्वसाधारण थुनिएका थिए’, प्रहरी उपरीक्षक पोषराज पोखरेलले भने, ‘राती साढे ११ बजेतिर पानी घटेपछि उद्धार गर्न सफल भयौं।’

गतवर्ष आएको भिषण वर्षाका कारण वागमती खोलाले मानपुर नजिक बाँध तोडेका कारण सानो वर्षामा समेत बागमतीको पानी गाउँतिर पस्ने गरेको छ। प्रभावकारी ढंगले बाँध निर्माण नभएकाले महिनाथपुर, धनकौल, रामवन, छतौना, हथियौल, सुदामा लगायत गाउँहरुमा बागमती र मनुष्मारा खोलाको बाढी पस्ने त्रासले स्थानीय भयभित छन्।

सोमबार बिहान देखि दिनभर परेको बर्षाले जिल्ला स्थित चक्रघट्टा, रामनगर, गोडैता, बलरा, बसबरिया लगायत लखन्देही र बागमती खोलाको आसपासका बस्तीका केही घरहरु सामान्य डुबानमा परेका छन्। पानी घरमा पस्दा केही घरहरु डुबानमा परेपनि ठुलो किसिमको कटान र डुबानको समस्या नरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए। 

यसैबीच मंगलबार बिहानबाट पानी पर्न रोकिएपछि जनजीवन केही सामान्य बनेको छ। झरी पर्न रोकिएपछि खोला आसपास बसोवास गर्ने स्थानीयले केही राहत महसुस गरेका छन्।

प्रकाशित: १९ असार २०७५ १४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App