कर्पोरेट कुराकानी

‘विदेशमा लगानी गर्नु नै राष्ट्रिय इज्जत हो’

मङ्गलबार, १९ असार २०७५, १७ : ५६ नागरिक

महेश जाजु, औद्योगिक सहर विराटनगरमा जमेका उद्यमी हुन् । बाबु स्व. रामानन्द्र जाजुले २००७ सालमा विराटनगरमा सुरु गरेको कपडाको पसललाई रूपान्तरण गर्दै ४ दशकअघि जाजुले उद्योगमा हात हालेका हुन् । सुरुमा भिनाजु धनश्याम काबरासँग मिलेर क्वालिटी बिस्कुटबाट उद्योगमा प्रवेश गरेका महेश २०५४ सालपछि एक्लै उद्योगमा होमिएका हुन् । एसियन थाइफुड प्रालि, एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि, हिमगिरी सप एण्ड केमिकल प्रालि, गुड लाइफ विभरेज प्रालि, इको इन्फ्राइस्ट्रक्चर प्रालि र जाजु ब्रदर्श व्यापारिक प्रतिष्ठानका प्रबन्ध निर्देशक महेश आफ्ना उद्योगका उत्पादन निर्यात गर्ने ध्याउन्नमा देखिन्छन् । दुई तिहाईको सरकारका कामकारबाहीलाई एक वर्षसम्म ‘पर्ख र हेर’ को अवस्थापछि मात्र नयाँ क्षेत्रमा लगानी बढाउने सोचमा छन् । अहिलेको सरकारलाई विकास र आर्थिक उन्नतिमा लाग्नेबाहेकको विकल्प नरहेको कांग्रेसको राजनीतिमा सक्रिय जाजुको धारणा छ । वैदेशिक लगानी ल्याउनका लागीपरेको सरकारलाई जाजु भने नेपाली उद्यमी, व्यापारीलाई विदेशमा लगानी गर्ने छुट दिनुपर्ने विचार राख्छन् । ‘नेपाली उद्यमी, व्यापारीले भारतलगायत विदेशमा लगानी गर्नुभनेको राष्ट्रिय इज्जत हो,’ जाजु भन्छन्, ‘यसले नेपालको शान बढाउने हो, उता कमाएको पैसा फेरि नेपालमै आउने हो ।’ 

मुलुकको औद्योगिक, व्यापारिक अवस्था, आर्थिक, बैंकिङ नीतिबारे नागरिक परिवारका लागि विश्वमणि पोखरेलसँग महेशको कर्पोरेट कुराकानी :  

अहिले मुलुक राजनीतिक स्थायित्व, आर्थिक उन्नति र समृद्धितर्फको यात्रामा छ भनिन्छ । आर्थिक दृष्टिकोणले अहिलेको अवस्थाबारे तपार्इंको विश्लेषण के हो ? अहिलेको माहोल कस्तो छ ?   

नेपालमा अहिले तीन तहको निर्वाचन सम्पन्न भएका छन् । माओवादी पनि अब राजनीतिको मूल प्रवाहमा आइसकेको छ । केन्द्रमा एकमना सरकार गठन भएको छ र सरकारमा नेपाल समाजवादी फोरमको सहभागिता पनि भएको छ । सरकार दुई तिहाईको छ । बलियो सरकार बनेको छ । अब राजनीतिबाट सरकारले आर्थिक क्षेत्रमा लाग्ने बाटो खुलेको छ । दुई तिहाईको सरकारका लागि अहिलेको अवस्थामा आर्थिक उन्नति गर्ने र विकास गर्नेबाहेकको विकल्प देखिँदैन । इमानदारीपूर्वक लाग्ने हो भने अहिले प्रचुर सम्भावना छ, अवसर छ । 

अहिले सम्भावनायुक्त समय भन्दै हुनुहुन्छ । तपार्इं आफूहरू भने केमा केन्द्रित हुनुहुन्छ । के–के गर्दै हुनुहुन्छ ? नयाँ योजनाहरू के–के हुन् ? 

हामी उद्योगी हौं । हाम्रो पेशा नै उद्योग, व्यवसाय हो । हामीले वर्षौंदेखि चाउचाउ, बिस्कुट, साबुनलगायतका उत्पादन गर्दै आएका छाैं । निश्चय नै अहिले देशमा राम्रो वातावरण छ, राजनीतिक माहोल राम्रो देखिन्छ । तर सरकारले ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेटमा आन्तरिक उद्योगलाई नराम्रो असर गर्नेगरी ट्याक्स अन्तःशुल्क लगाइएको छ । नुडल्समा प्रतिकेजी ७ रुपैयाँ ५० पैसा अन्तःशुल्क बढाएर १५ रुपैयाँ पु-याइएको छ । त्यस्तैगरी साबुन र जुसमा अन्तःशुल्कको दर उल्लेख्य बढाइएको छ । निश्चय नै भ्याट, अन्तःशुल्कजस्ता शुल्क अन्ततः उपभोक्तामा पर्ने हो । तर, यहाँको उत्पादन महँगो भएपछि खुला सिमानाबाट तस्करी भएर आउने सम्भावना रहन्छ । हामीकहाँ कच्चा पदार्थ छिमेकी भारतमा भन्दा महँगो पर्दछ । भारतमा एउटा उद्योगले ५०० टन उत्पादन गर्दछ भने हामी ५० टन उत्पादन गर्दछाैं । हिजोका दिनमा हामीकहाँ श्रम सस्तो र सहज प्राप्त थियो, आज त्यो अवस्था छैन । बैंक ब्याजदर पनि हामीकहाँ महँगो भएको छ, अहिले १४, १५ प्रतिशत ब्याज पुगेको छ । हाम्रो प्रमुख समस्या व्यापार घाटा हो, विशेष गरेर भारतसँग । त्यस आधारमा निर्यात हुनसक्ने उत्पादनहरूलाई प्रोत्साहन दिनुपर्ने थियो । नेपालले हाइड्रो, पर्यटनजस्ता क्षेत्रमा प्राथमिकता दिन आवश्यक छ । विराटनगर पनि अहिले निकै अगाडि बढ्दै छ । विराटनगरलाई क्षेत्रीय विमानस्थल बनाउने योजना अगाडि बढेको छ । अध्यागमन कार्यालय स्थापना भएको छ । परिस्थिति बाहिर जति राम्रो देखिए पनि हामी उद्यमी अप्ठारोमा छौँ । सरकारी करको दर, बैंक ब्याज लगायतका कुराले हामी पीडित बनेका छौँ । हामी उद्यमी भनेका उद्यम, व्यवसाय गरेर काम गरेर २ पैसा कमाउने जात हो । हामी जुन क्षेत्रमा सम्भावना छ त्यतै लाग्छौँ । व्यापारी उद्यमी भनेको आकाशमा उड्ने परेवा जस्तै हुन्, जहाँ चारो देखिन्छ त्यहीँ ओर्लने । हामी हाडड्रो, सिमेन्टलगायतका खनिज पर्यटन जता पनि जान सक्छाैं । अहिलेको अवस्था भनेको पर्ख र हेरको हो । दुई तिहाईको सरकार छ, बजेट आएको छ, संघीय शासन प्रणाली लागू भएको छ । हामी एक वर्षसम्म हेर्ने यो सरकारले कसरी काम गर्दछ, वातावरण कस्तो हुन्छ । त्यसपछि मात्र नयाँ क्षेत्रमा हात हाल्ने सोचमा छौं । अहिलेको अवस्था भनेको त भैरहेको उद्योग, धन्दालाई भ्याट, अन्तःशुल्क लगायतका करका बाबजुद धान्न सक्ने बनाउने भन्ने मात्र हो । 

नेपालको अर्थतन्त्रका अहिलेका चुनौती के–के हुन् ?  तपाईंको विश्लेषण ? 

अर्थतन्त्र बढाउने कुरा छन् । तर कसरी पुग्ने भन्ने छैन । व्यायार घाटा कसरी कम गर्ने प्रमुख चुनौती हो । सरकारको राजस्वको प्रमुख स्रोत भन्सार राजस्व भएको छ । भन्सार राजस्व बढाउने भनेको आयात बढाउने हो । आयात बढाउँदै जाँदा व्यापारघाटा पनि बढ्दै  जान्छ । मेरो विचारमा त राजस्वका अन्य स्रोतहरू बढ्न आवश्यक छ । निर्यातजन्य उद्योगलाई प्रोत्साहित ग¥यो भने राजस्व पनि बढ्छ, व्यापारघाट पनि कम हुँदै जान्छ । सरकारी नीति र बजेट भाषणमा जसरी आर्थिक वृद्धि गर्ने भनिएको छ, त्यस अनुसारका योजना भने देखिँदैनन् । 

तपार्इंले अाैंल्याउनु भएका चुनौतीहरूको सम्बोधन कसरी गर्न सकिन्छ ? तपाईंको प्रेसक्रिप्सन । 

हाम्रो अर्थतन्त्रको प्रमुख चुनौती व्यापार घाटा हो । व्यापार घटाउन हामीले के गरेका छौँ त ? सबैभन्दा पहिला हामी आत्मनिर्भर भएका उत्पादन आयात नगर्ने नीति लिनुप-यो । नेपाल जे–जेमा आत्मनिर्भर छ, त्यस्ता सामान आयात गर्न भएन । अन्न खाद्यान्न खासमा आयात गर्ननपर्ने हो । अहिले एन्टिडम्पिङ ऐनको मस्यौदा बनेको छ । जुन संसदबाट अनुमोदन हुनुप-यो र लागू हुनुप-यो । डब्लुटिओ, साफ्टा, विमस्टेकजस्ता कुराले आयात रोक्न मिल्दैन । तर, देशका उद्योगधन्दालाई असर गर्नेगरी आयात गर्न नपाउने नियम आवश्यक छ । त्यतातिर ध्यान दिनसक्नुपर्दछ । 

हामी के–केमा आत्मनिर्भर छौँ ? 

सिमेन्ट, छडजस्ता भौतिक निर्माणका सामग्री । चाउचाउ, बिस्कुट, कन्फेक्सनरी, जुसमा हामी आत्मनिर्भर छाैं । निर्यातसमेत गर्दै आएका छौँ । तर दुर्भाग्य हामीकहाँ बंगलादेशको जुस बजारमा छ । उपभोक्ता मूल्य उस्तै हो । तर, पनि आयात भैरहेको छ । सरकारले आफ्ना उद्योगलाई कसरी स्पेस दिने भन्ने नीति लिनुपर्ने हुन्छ । हामी रोजगारी दिएका छाैं? भ्याट, अन्तःशुल्क लगायतका कर तिरेका छौँ । हामी राष्ट्रका सेवक हाैं, हामीलाई राज्यबाट संरक्षण पनि चाहिन्छ । 

नेपालमा उद्यमको तुलनामा व्यापार फस्टाएको देखिन्छ । कतिपय उद्यममा स्थापित घरानाका नयाँ पुस्ता व्यापारमा केन्द्रित देखिन्छ ? यस्तो अवस्थाबारे तपार्इंको विश्लेषण । 

व्यापार र उद्योग फरक–फरक कुरा हुन् । व्यापार गर्ने मानिसले एक रुपैयाँमा सामान ल्याएर त्योभन्दा महँगोमा बेच्नु उसको धर्म हो । तर उद्योग भनेको त्यस्तो हो । विस्तार विस्तार उद्योग अगाडि बढ्छन् । कतिपय अवस्थामा घाटा पनि हुन्छ । देशलाई चाहिएको उद्योग हो । औद्योगिक घरानाका सबैजना व्यापारमा लागेका छैनन् । कतिपयले उद्योग, व्यापार दुवैमा हात हालेको अवस्था हो ।  प्रत्येक दिन देशबाट १५०० युवा विदेश जान्छन् । नेपालका उद्यमहरू जनशक्ति अभाव झेल्दै छन् । कतिपय क्षेत्र अटोमोबाइल्सजस्ता क्षेत्रमा व्यापार मात्र हुनसक्छ, ती सामान यहाँ उत्पादन गर्न सहज छैन । नेपालमै उत्पादन नभएका उत्पादनमा व्यापार भएको भए पनि औद्योगिक उत्पादन भएको छैन भन्न मिल्दैन । नयाँ पुस्ता उद्योग स्थापना गर्ने कुराबाट भागेको छैन । 

बैंकहरू लगानी योग्य पुँजीको अभाव देखाउँदै ठूलो लगानी गरिरहेका छैनन् भनिँदैछ ? तपार्इं एउटा उद्यमीको हिसाबले यो अवस्थाबारे के भन्नुहुन्छ ? यसले उद्यम, व्यापारमा कस्तो असर पारेको छ ? 

बैंकहरूले धेरै असर पारेका छन् । बैंकहरूको त्रैमासिक विवरण हेर्दा कुनै पनि बैंक घाटामा छैनन्, उनीहरूको नाफा प्रत्येक त्रैमासिकमा बढेको देखिन्छ । हामीले छिमेकी भारतका उत्पादनसँग प्रतिस्पर्धा गर्ने हो । केही वर्ष अघिसम्म हामीकहाँ सस्तो ब्याज थियो, ६, ७ प्रतिशतसम्म । त्यस्तो बेलामा भारतमा ९। १० प्रतिशत थियो । भारतीयहरू नेपालमा सस्तो ब्याज छ भन्दथे । अहिले परिस्थिति बढलिएको छ । भारतमा ९, १० प्रतिशत ब्याज चलेको छ, हामीकहाँ १४, १५ प्रतशित छ । यस्तै अवस्था लामो समयसम्म रह्यो भने उद्योग, व्यापार चौपट हुन्छ ।  हामीकहाँ के –के कमजोरी छन्, के भएर ब्याज उकालो लागेको हो ? छानबिन हुनुप-यो । कतै बैंकहरू गाडी, जग्गाजस्ता अनुत्पादक क्षेत्रमा लगानी त गरिराखेका छैनन् ? बैंकहरूले उद्योग, व्यापारलाई प्राथमिकता दिनुपर्ने नीति अपनाउन आवश्यक छ । ९, १० प्रतिशत सम्मको ब्याज उद्योग, व्यापारले धान्न सक्छ । त्यो भन्दा धेरै ब्याजले ठूलो चुनौती खडा गर्दछ । त्यसले गम्भीर समस्या ल्याउने देखिन्छ । बैंकहरूको नाफा करोड अरब हुने अहिलेको अवस्था र ब्याज दरलाई राम्रोसँग केलाउने कदम चाल्नुपर्छ । बेलैमा ध्यान पु-याएन भने ब्याज घट्ने सम्भावना रहँदैन। 

नेपालमा उद्यमशीलताको सम्भावना कत्तिको छ ? कुन–कुन क्षेत्र सम्भावनायुक्त छन् ? 

नेपालमा सम्भावनाका क्षेत्र विद्युत, पर्यटन, सिमेन्ट, खानी लगायतका अहिले भैरहेका चाउचाउ, बिस्कुट हो । सम्भावनाका क्षेत्रमा सबैभन्दा पहिला पूर्वाधार विकासमा काम हुनुप-यो । पूर्वाधार विकासले मुलुकलाई अगाडि बढाउन मद्दत गर्दछ, औद्योगिक वातावरण सृजना गर्र्दछ । काठमाडौंमा मेट्रोरेलको कुरा हुँदैछ, विराटनगरमा मोनो रेलको चर्चा छ । तर आश्वासनमा आएका राम्रा कुराले मात्र हुँदैन । कार्यान्वयन पक्ष फितलो हुनु भएन । काम थाल्नुप-यो । बजेट हाल्नुप-यो प्राथमिकता क्षेत्रमा । जस्तो  ८४ अर्ब विद्युतका लागि छुट्याइएको छ । त्यो राम्रो कुरा हो । 

नेपालको आर्थिक नीति उदारवादी र प्रतिस्पर्धी भनिन्छ । व्यवहारमा जताततै सिन्डिकेट र कार्टेलिङ देखिन्छ ? यस्तो अवस्थाका लागि प्रमुख दोषी को हो ? तपार्इंको विचारमा उद्यमी, व्यापारीको दोष कति छ । सिन्डिकेट र कार्टेलिङ अन्त्य गर्न के गर्नुपर्दछ । 
दोषी को भन्ने भन्दा पनि अब सिन्डिकेट, कार्टेलिङ हुनु भएन । यो ठूलो समस्या हो । विगतदेखि थियो । यो हटाउन संयुक्त प्रयास भएनन् । अहिले सिन्डिकेट तोड्ने कुरा हुँदैछन् । सरकारी पक्षबाट भएका कामहरू हामी स्वागत गर्दछौँ । सरकारले कदम लिन आवश्यक थियो । अहिलेको प्रयास इमानदारीका साथ लागू हुनुपर्दछ । दोषी खोजेर साध्य छैन । सबैको मिलिभगत हो यो । सबै दोषी छन्, व्यवसायी पनि दोषी छन्, सरकारी कर्मचारी पनि  दोषी छन् । अहिले सुन तस्करीकै मामला हेरांै न । एक दुईजनाले गर्ने होइन, यहाँ धेरै पक्षको मिलिभगत देखिन्छ । 

तपार्इंले नेतृत्व गरेको उद्यम, व्यापार फस्टाएको देखिन्छ । तपार्इंको काम गर्ने शैलीबारे बताउनुस् न । सफलताको राज के हो ? 

मेरो आफ्नै शैली छ । आफ्ना उत्पादनको राम्रो प्याकेजिङ गर्ने, उत्पादनहरूको ब्रान्डिङ गर्ने । म ब्रान्डिङ गर्ने कुरालाई ठूलो महत्व दिन्छु । कतिपय उत्पादनको ब्रान्डिङ गर्न १० औं वर्ष लाग्दछ । ब्रान्डिङ गर्न मिहिनेत, लगानी र धैर्यता आवश्यक हुन्छ । कतिपय ब्रान्डिङलाई खर्च मान्दछन्, म लगानी भन्दछु । कच्चा पदार्थ ल्याउने, उत्पादन गर्ने, प्याकेजिङ गर्ने, टिभि, रेडियो र पत्रपत्रिकामा विज्ञापन गर्ने जस्तै ब्रान्डिङ औद्योगिक उत्पादनको प्रमुख पक्ष हो । यसको अर्थ ब्रान्डिङ गरेर मात्रै पनि हुँदैन, उत्पादन पनि गुणस्तरीय र आकर्षक हुनुप-यो । 

तपार्इंका औद्योगिक उत्पादनबारे बताउनुस् न ? 

रमपम, प्रिति, २ पिएम चाउचाउ हाम्रा उत्पादन हुन् । गुडलाइफ बिस्कुटका विभिन्न भेराइटी छन् । धोनी साबुन तथा हिमगिरी डिटरजेन्टसन हाम्रो उत्पादन हुन् । विभिन्न खाले कन्फेक्सनरी, जुसहरू पनि हामी उत्पादन गर्दैछौँ । करिब–करिब हामीले १५० थरीका उत्पादन गर्दछौँ । मलाई के लाग्दछ भने हाम्रा उत्पादनका सामान मात्र राखेर पनि एउटा पसल चल्नसक्छ । 

नेपालमा कर्पोरेट कल्चर कस्तो अवस्थामा छ ? नेपालका उद्यमी व्यापारिक घराना पारिवारिक विरासतको अभ्यासबाट कर्पोरेट संस्कृतिमा जान के कस्ता चुनौती छन्  ? 

मेरो विचारमा अहिले चलिरहेका मध्यम र ठूला उद्योग र व्यापारमा कर्पोरेट संस्कृति छ । विराटनगरमा त्यस्तो क्रम ५, ७ वर्ष सुरु भैसक्यो । व्यापार, उद्योग विस्तार हुँदै गएपछि परिवारका सदस्यले मात्र धान्न सक्तैनन् । व्यवस्थापन गर्ने, मार्केटिङ गर्नेलगायतका काममा अन्यलाई जिम्मेवारी दिनैपर्दछ । अहिले कर्पोरेट कल्चर समयको आवश्यकता भैसक्यो । आउने दिनमा कर्पोरेट कल्चर विकसित हुँदै र व्यवस्थित हुँदै जाने हुन्छ ।

तपाईंको दैनिकी ? खानपिन, धर्मकर्म ? आदि बताउनुस् न । 

म बिहान ५ः३० मा उठिसकेको हुन्छु । नियमित मर्निङवाक जान्थे । आजकल विराटनगरमा जताततै धुलो र पानी पर्दा हिलो हुने भएकोले मर्निङवाक बन्द छ र मेरो घर नजिकैको जीममा जान्छु । करिब ८ बजे जीमबाट फर्कन्छु । फलफूल लगायतका हल्का नास्ता गरेर आफ्नो नित्यकर्म सुरु हुन्छ । घरमै मन्दिर छ । मन्दिर घरमा १५, २० मिनेट भगवान्को आराधना गरेर बिताउँछु । त्यसपछि घर नजिकैको शिव मन्दिरमा दूध चढाउन जान्छु  । पत्रपत्रिका हेर्ने, समाचारहरू सुन्ने गर्छु । ११ बजेतिर खाना खाएर अफिस जान्छु । अफिसको नियमित कामसँगै विराटनगरका सामाजिक काममा सहभागी हुनुपर्ने हुन्छ । म सामाजिक काममा सक्रिय नै छु । उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य र मोरङ्ग व्यापार संघको अध्यक्ष भैसकेको नाताले सामाजिक, धार्मिक कार्यक्रममा सहभागी हुनैपर्ने हुन्छ । ६, ७ बजे अफिस सकिएपछि सामाजिक कार्यक्रम, भेटघाट गर्दै साँझको ८, ९ बजिसक्छ । त्यसपछि केही बेर टिभि हे-यो अनि सुत्यो । सामान्य छ, मेरो दैनिकी । 

खेलकुदका कार्यक्रममा पनि तपार्इं उत्तिकै देखिनु हुन्छ हैन ? 

खेलकुदका धेरै जसो कार्यक्रम, इभेन्ट्समा हामीले प्रायोजन गर्ने गरेका छौं ।  हाम्रो खेलकुदलाई प्रोत्साहित गर्ने भन्ने नीति छ । म क्रिकेटमा रुचि राख्ने र खेल्ने पुरानो खेलाडी हुँ ,। क्रिकेटमा विशेष रुचि थियो । अहिले पनि लगाव छ । पूर्वमा हुने र कतिपय राजधानीमा हुने हरेक महत्वपूर्ण खेलमा हाम्रो सहभागिता रहने गरेको छ । खेलकुद क्षेत्रमा योगदान गरेको भन्दै हालै मलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मान पनि प्राप्त गरेको छु । 

तपाईंको परिवारमा को–को छन्, उनीहरू के–के गर्दै छन् ? 

श्रीमती कमला गृहिणी हुन् । जेठो छोरो आशिष र बुहारी जयश्री जाजु अहिले मलाई उद्योगमा सघाइरहेका छन् । आशिष भारतको पुनेबाट एमबीए गरेर फर्किएको हो । कान्छो छोरो वेदान्त जाजु बेलायतका उत्पादन डिजाइनसम्बन्धी उच्च अध्ययन गर्दैछन् । ३ वर्ष पढिसकेँ अब डेढ वर्षमा पढाइ सकेर नेपाल फर्कन्छन् । छोरी स्नेही जाजुको  विवाह भारतको कलकत्तामा ५ वर्ष अगाडि शारदा परिवारमा भएको हो । छोरा र छोरी दुवैबाट नाति छन् । 

भविष्यको योजना  

आफ्ना उत्पादन विश्वको ठाउँ–ठाउँमा पु-याउने सोच छ । रमपम चाउचाउ अमेरिकामा ७५ लाख पिस पठाउने सम्झौता भएको छ । दुवही, अस्ट्रेलियामा पनि नेपाली चाउचाउको माग छ । भारतका विहार, युपिमा प्रशस्त माग छ । यहाँबाट मागअनुसार सहज पठाउन समस्या छन् । कहिले बोर्डर जाम हुन्छ । कहिले बन्द हड्ताल हुन्छ । भारतका विभिन्न ठाउँमा उद्योग स्थापना गर्न पाए हुन्थ्यो । त्यसका लागि नेपालीले अन्य देशमा लगानी गर्न पाउने व्यवस्था आवश्यक छ । हामी उद्योगीलाई विदेशमा उद्योग स्थापना गर्न दिने हो भने नेपालकै नाम उचो हुने हो । सन्दीप लामिछानेले भारतमा आईपीएल खेल्दा नेपाली खेलाडी भनेर कमेन्ट सुनिन्थ्यो । त्यस्तै हामीलाई भारतमा लगानी गर्ने अनुमति दिने हो भने नेपालमा महेश जाजु भन्ने हुन्छ । नेपाली उद्यमीहरू सरकारले अनुमति दिने हो भने विश्वका विभिन्न देशमा उद्यम, व्यापार विस्तार गर्न सक्छन् । हामी नेपालको विकासका लागि वैदेशिक लगानी ल्याउने भन्दछाैं । हामीलाई विदेशमा लगानी गर्ने अवसर दिने हो भने त्यहाँ कमाएर नेपालमै ल्याउने हो । हामीलाई भारतमा स्रोत देखाएर उद्योग खोल्न समस्या छ । त्यहीँका उद्यमीसँग मिलेर खोल्न पनि समस्या, जटिलता छन् र लगानी डुब्ने खतरा छन् ।  एनसेलले नेपालमा लगानी गरेर कमाइरहेको छ । हामी नेपाली पनि अन्यत्र लगानी गरेर कमाउन सक्छौं । राष्ट्रले उद्यमी, व्यापारीलाई अघि सारेर आफ्नो पहिचान स्थापित गर्नसक्छ । राष्ट्रको नाम उचो राख्ने कुरा हो, सबै थोक पैसा होइन । 

तपाईंले उद्योग, व्यापार के–के मा हात हाल्नु भएको छ ? कति जनालाई रोजगारी दिनु भएको छ ? 

मैले २०४५ सालदेखि उद्योगमा हात हालेको हो । पहिला मेरो भिनाजु धनश्याम काबरा र म मिलेर क्वालिटी बिस्कुट खोलेका हौँ । पछि त्यो उद्योग भिनाजुलाई छोडेर मैलै २०५४ सालमा एसियन थाइ फुड प्रालि खोलेँ । त्यसपछि एसियन बिस्कुट कन्फेन्सनरी, हिमगिरी सप एण्ड केमिकल, गुडलाइफ विभरेज प्रालि, इको इन्फ्राइस्ट्रचर प्रालि उद्योग र व्यापारमा जाजु ब्रदर्श छन् । हाम्रो उद्यममा करिब २ हजारले रोगगारी पाएका छन् । हामी वार्षिक करोडौँ राजस्व तिर्दर्छाैं । 

विराटनगर औद्योगिक नगरी भनिन्छ । संघीय नेपालमा विराटनगर प्रदेश १ को अस्थायी राजधानी पनि हो । यो नगरले आउँदा दिनमा कस्तो हैसियत राख्ला ?  

विराटनगर धेरै पुरानो सहर र औद्योगिक सहर हो । विराटनगरले मुलुकको राजनीतिमा पनि ठूलो भूमिका खेलेको छ । यसले ७ वटा प्रधानमन्त्री र ४ वटा अर्थमन्त्री दिएको छ । अहिले यसलाई प्रदेश १ को अस्थायी राजधानी भनिएको छ । यो प्रदेशमा विराटनगरको विकल्प छैन, राजधानी हुनका लागि । चाँडै स्यायी राजधानी हुने विश्वास छ मलाई । राजधानी हुने सुरुवातका काम भैसकेका छन् । यहाँ पाँचतारे होटल निर्माणाधीन छ । क्षेत्रीय विमानस्थल बन्नेक्रममा छ । अन्य पूर्वाधार पनि बन्दैछन् । नेपालको १ नम्बर प्रदेशलाई विराटनगरले एक नम्बर बनाउने हो । नाम जस्तै प्रदेश १ देशकै एक नम्बर हुने छ । 

विराटनगरले आफ्नो शाख कायम राख्न के–के गर्नुपर्दछ । तपार्इंको विचारमा कस–कसले कसरी योगदान गर्न सक्छन् ? 

उद्योगी, व्यवसायीको भूमिका छ । राजनीतिक पार्टी, नेताहरू, यहाँबाट चुनिएका नेताहरू सबैको भूमिका रहन्छ । विराटनगर आधार भएका कतिपय व्यवसायी, व्यापारी काठमाडाैं, वीरगञ्जलगायत मुलुकका विभिन्न क्षेत्रमा विस्तारित भएका हुन् । विराटनगरको शाख जोगाउन विराटनगर महानगरपालिका लगायत सबैको भूमिका रहन्छ । 

तपार्इंले  विराटनगरमै बसेर आफ्नो व्यापार, व्यवसाय चलाइरहनु भएको छ । काठमाडौं लगायतका सहरहरू छोडेर विराटनगर नै रोज्नुका विशेष कारण ? 

म विराटनगरमै जन्मिएको हुर्किएको हुँ । यहीँको माटोमा मैले कपडाको पसल गरेर अहिले यो ठाउँसम्म पुगेको छु । २०४४ सालदेखि म उद्योगमा प्रवेश गरेको हुँ । म विराटनगरबाहेक काठमाडांैलगायतका ठाउँमा अड्न सक्तिन । यहीँ मेरा साथीभाइ, घर परिवार छन् । सामाजिक सम्बन्ध छ । यहाँको वातावरण मलाई अनुकूल लाग्दछ । यहाँ धार्मिक प्रवृत्ति छ । यहाँ सजिलै एक अर्कामा घुलमिल हुनसक्ने वातावरण छ ।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad