जीवन यात्रा

दीर्घजीवन : सन्तुष्टि र खुसी

मङ्गलबार, १९ असार २०७५, १७ : ३० विश्वमणि पोखरेल

‘म आजको २० दिनपछि ९१ वर्ष पार गरी ९२ वर्षमा पाइला टेक्दै छु। आज कुरा सकिएला जस्तो छैन, म भोलि बारा जानु छ, त्यहाँ एउटा मुद्दामा बहस गरेर ४, ५ दिनपछि फर्किन्छु, फेरि थप कुरा गरौंला,’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अभिव्यक्ति हो यो। जेठको दोस्रो साता भण्डारी निवास बानेश्वरमा कुरा गरिरहँदा उनी ९१ वर्षका थिए, यो सामग्री प्रकाशित हुँदा अहिले उनी ९२ मा टेकेका छन्। सात सालको जनक्रान्तिमा रौटहटमा नेतृत्वदायी भूमिका निर्वाह गरेका भण्डारीको लामो जीवनयात्राको  दुई तिहाई समय अर्थात्  ६३ वर्ष वकालतमा बिताएका छन्। उमेरले ९२ वर्षमा लाग्दा पनि वकालती पेशाबाट विश्राम लिएका छैनन् उनले।

अदालत परिसरमा भेटिरहने भण्डारीको मर्निङ वाक जारी छ। स्पष्ट कान सुन्ने, राम्रोसँग देख्ने, लेखपढ गर्ने, भण्डारी आफ्नो दीर्घ जीवनको रहस्य खोल्दै भन्छन्, ‘खुसी, स्वस्थ हुन खुसी भैरहनुपर्छ। २, ४ पैसा मुद्दा गर्नेले दिइहाल्छन्, खानबस्न घरमा दिइहाल्छन्,’ भण्डारी भन्छन्, ‘मलाई पैसा चाहिएको होइन, पेशाको सम्मानका लागि लाग्दै छु, त्यसै बसेर पो के गर्ने?’ 

भण्डारीको जन्म १९८४ साल जेठ २६ गते रौटहट जिल्लाको कटुवा रामचन्द्र गाउँमा भएको हो जो अहिले गौर नगरपालिकामा पर्छ । भण्डारीको दैनिकी बिहान ५ बजेबाट सुरु हुन्छ र त्यसपछिको ३ घण्टा शरीरको सुरुक्षाका निम्ति खर्च हुन्छ । कागती पानी खाएर सुरु भएको दैनिकीमा ६ बजे चना, मुग लगायतका गेडागुडी उमारेको क्वाटीमा लसुन, प्याज, टमाटर फलफूल मिसाएको खाजा भण्डारीको शब्दमा ककटेल्स लिन्छन् । त्यसपछि एक गिलास दूघ खाएर मर्निङवाक। ‘अलिअलि कसरत पनि गर्दछु, मेरो खुट्टा अलिक कमजोर छ, त्यसकै कसरत गर्दछु,’ भण्डारी भन्छन्, ‘त्यसपछि दिनभरिको काम सुरु हुन्छ, साँझमा बानेश्वर पञ्चकुमारीमा बुढाहरू जम्मा हुन्छन्, त्यहाँ गयो गफसफ ग-यो, घर फर्कियो, लेखपढ ग-यो ।’ 

भण्डारीको बाल्यकाल वनारसमा बित्यो जहाँ उनले प्रारम्भिक शिक्षा हासिल गरे । त्यसैबेला भारतमा महात्मा गान्धीले चलाएको अंग्रेज भारत छोड आन्दोलन चर्किँदै थियो । वनारस आन्दोलनले प्रभावित भएपछि कक्षा ८ मा पढ्दै गरेका उनी रौटहट फर्किएका हुन् । गौरमा त्यसबेला खुलेको श्रीजंग हाइस्कुलमा उनले म्याट्रिकसम्म अध्ययन गरे । त्यसबेलाको समयमा गाउँका धनीमानी, हुनेखानेहरू मात्र पढ्दथे, स्कुलहरू थिएनन् । ‘वेटवा पढ्के कि होथे, भैंसी चराते, छालि खेते, पहलमानी करते । पढवेके कि हो ते ? समाज अशिक्षित थियो । सामाजिक चेतना थिएन । भण्डारीको परिवार भने समाजमा सम्पन्नहरूमध्येको थियो । रौटहटमा उनको परिवारको जमिन्दारी थियो । प्रशस्त खेतीपाती हुन्थ्यो र  बाबुबाजे ब्याजमा पैसा लगाउने गर्थे । नेपालमा प्रजातन्त्रको लहर चलेको बेलामा विद्रोही स्वभावका जो महात्मागान्धीका आदर्शबाट सम्मोहित थिए । उनले आफ्नै घरका तमसुक च्यातेर समाजमा क्रान्ति सुरु गरे । वनारसमै रहँदा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालसँग भेटघाट र परिचय थियो उनको । गान्धीको प्रभाव र पुष्पलालको चिनजाबाट उनी सामाजिक अभियानमा लागेका हुन् र ‘आप भला तो जग भला’गान्धीको आदर्शबाट प्रभावित भण्डारी त्यही मान्यताबाट प्रभावित भएको बताउँछन् । भण्डारीका अनुसार उनी विचारमा हिसाबले कम्युनिस्ट हुन्, त्यस्तै अभियान र कार्यक्रम गर्ने उनको रुचि छ । तर, व्यवहारमा भने उनी लामो समय कम्युनिस्ट पार्टीको सक्रिय सदस्य हुन सकेनन् । गान्धीका शिक्षा प्रचार, झगडा मिलाउने र समाजका स–साना विकासका काममा अग्रसर हुने कामबाट प्रभावित भण्डारीले गौरमा स्कुल पढिरहेको विद्यार्थीकालदेखि नै व्यवहारमा उतार्ने प्रयास गरेको उनी सम्झन्छन् । ‘स्कुल छुट्टि हुनासाथ म गाउँ समाजमा पुगिहाल्थेँ, साना–तिना विवाद मिलाउने प्रयत्न गर्दथेँ’ भण्डारी भन्छन्, ‘विकासमा काममा पनि लागि हाल्थे ।’ 

क्रान्तिको समयमा गौरमा दशाैं हजार जनताको भीड लागेको, त्यसबेलाको प्रशासनिक हस्तक्षेपबाट ठूलो हताहत भएको भण्डारी बताउँछन् । ‘त्यसबेला गौरमा १० औं हजार मानिस प्रजातन्त्रको पक्षमा ओर्लिएका थिए,’ भण्डारी भन्छन्, ‘११ जना मारिए, ३१ जना घायल भएका थिए ।’ 

कम्युनिस्ट आकर्षण विकर्षण 

वैचारिक रूपमा कम्युनिस्ट विचारमा रुझान राखे पनि उनी त्यसको सदस्य हुन सकेनन् । कारण, कम्युनिस्टहरूको गरिबी प्रदर्शन गर्ने जीवनशैली । गरिबहरूसँग सम्पर्कमा रहने, गरिबजस्तै हुनुपर्छ भन्ने सोच नेपालमा कम्युनिस्टमा रहेको उनको आँकलन छ । ‘मैले त्यसबेला ९ सालमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) सदस्यता लिए, आर्थिक मान्यताका आधारमा म त्यसमा रहन सकिन, २०११ सालमा छोडिदिएँ’ भण्डारी भन्छन्, ‘कुनै पनि पार्टीको सदस्यता छैन, तर म आफू भने कम्युनिस्ट विचारधारासँग नजिक छु, कम्युनिस्ट भनेको भौतिकवादी हो, म भौतिकवादी हो ।’ कम्युनिस्ट पार्टीका नेता विष्णुबहादुर मानन्धरसँग नजिक रहेर काम गरेको अनुभव उनीसँग छ । गौरबाट म्याट्रिक पास गरेपछि भण्डारी अध्ययन गर्न फेरि वनारस गए । त्यहीँ उनको पुष्पलालसँग चिनजान सुरु भयो । ‘पुष्पलालको आर्थिक अवस्था कमजोर थियो, उनी पार्टीका लागि चन्दा लिन रेल स्टेसन पुग्थे । कटियार, गोरखपुरबाट आउने नेपालीले १, २ पैसा, चार आना दिन्थे । चन्दा मागेर चलाएका हुन् उनले पार्टी । यता तुल्सीलाल अमात्य, रतनलाल मास्के लगायतले तमसुक फटाल आन्दोलन सुरु गरेका थिए । म पनि त्यसमा सहभागी भएँ । ‘म आफ्नै घरमा रहेका तमसुक च्यातेर अभियानमा सहभागी भएँ,’ भण्डारी भन्छन्, ‘त्यो अभियानको प्रभाव जताततै प-यो, हाम्रो घरमा पनि ।’ 

सामाजिक अभियान, राजनीतिक सक्रियता र पढाइ सँगसँगै चलेको उनी बताउँछन् । वनारसबाट आइए गरेका भण्डारीले विहार विश्वविद्यालयबाट बिएल गरेपछि केही समय गृह जिल्लामै सक्रिय रहे , सामाजिक, राजनीति अभियान चलाउँदै ।

नसोचेको जागिर 

भण्डारीको सोच जागिर खाने थिएन, सामाजिक क्षेत्रमै काम गर्ने योजना थियो । तर राजनीतिक सक्रियता र सामाजिक अभियानमा लाग्ने छुट भने समयले दिएन । ब्याज लगाएर आउने राम्रो आम्दानी तमसुक च्यात्ने अभियानपछि सुक्दै गयो र परिवारमा पैसाको आवश्यकता खट्कियो । त्यही माहोलमा उनी २०११ सालमा काठमाडौं हानिए भाइ सोमनाथ जागिर ख्याउने उद्देश्य लिएर ।

भैरवप्रसाद उपाध्याय जो काठमाडौं उपत्यकाका एसिस्टेन्ट कमिस्नर थिए, उनी कृष्णप्रसादका ससुरा थिए । २००२ सालमा भैरवकी छोरी शान्तासँग भण्डारीको विवाह भएको थियो । भाइ सोमनाथलाई भनसुन गरेर जागिर ख्वाउन आएका भण्डारी आफैँ जागिरे बन्न पुगे । ‘भाइले आइए मात्र पास गरेका थिए, बिए पास गरेकाका लागि जागिर खुलेको छ भने म जागिरे भएँ, मलाई भोलिपल्टदेखि जागिर खान आउन भनियो ।’ निर्वाचन आयोगमा भण्डारी मासिक १३५ रुपैयाँ तलब पाउने गरी नासुमा नियुक्त भए । काठमाडौंको जागिर उनका लागि ल पढ्ने अवसर बन्यो ।

आयोगमा दिनभरि जागिर खाने र राति ल कलेजमा अध्ययन गर्न थाले । नेपाल ल कलेजको पहिलो ब्याजका विद्यार्थी भण्डारी ल कलेजमा अध्ययन गरिरहेकै समयमा रौतहट, बाराबाट मुद्दा लिएर आउनेहरूलाई अदालती लिखतहरूमा सघाउन थाले । ‘नेपाल ल कलेजमा हामी ३७, ३८ जना विद्यार्थी थियौँ’ भण्डारी भन्छन्, ‘हामीमध्ये सबैजसो दिउँसो काम गर्ने र राति कलेज पढ्ने थियाँै ।’ २०१३ सालमा ल को रिजल्ट आयो, उनी वकिल बनेर बहस गर्न पाउने भए । त्यसैबेलादेखि भिर्न थालेको कालोकोट अहिले पनि भण्डारीको आङमा सुहाएको देखिन्छ, कानुनका ज्ञाता, सामाजिक अभियन्ता र राजनीतिक चिन्तनले परिस्कृत कानुन व्यवसायीको परिचय दिलाएको छ । 

कालो कोटमा यात्रा 

२०१४ साल वैशाख ३० गतेदेखि वकालती पेशामा आबद्ध भएका हुन् भण्डारी । वकालती पेशालाई सामाजिक इन्जिनियरको संज्ञा दिने भण्डारीले ६ दसक लामो यात्रामा धेरै आरोह–अवरोह झेलेका छन् । नेपालको न्यायसम्पादनमा आएका परिवर्तनहरूलाई नजिकबाट नियाल्न पाएका छन् । वकालत थालेको ६ वर्षपछि उनले नेपाल ल फर्म दर्ता गरेर अफिस खोलेका हुन् । नेपालको पहिलो ल फर्म अहिले पनि आफ्नो परिचयसाथ उभिएको छ । नेपालमा कानुन व्यवसाय आफ्नै ढंगले विकसित र विस्तारित भएको उनको आँकलन छ । ‘अमेरिकामा वकिलहरूले कम्पनी खोलेर काम गर्छन्, ठूला वकिल र अन्य वकिलहरूबीच प्रशासनिक सम्बन्ध रहन्छ, भारतमा वकालतमा आएकाहरू विरासतबाट आएका छन्,’ भण्डारीले भने, ‘हामीले सुरुदेखि नै गरिबलाई सेवा दिने, न्यायमा पहुँच पु-याउने र नयाँ पुस्तालाई प्रशिक्षण दिने उद्देश्य राख्यौं ।’ कानुन व्यवसायीले समाज सुधारको भूमिकामा रहेर काम गर्नुपर्छ भन्ने मान्यतामा आफूहरूले काम गरेको उनको कथन छ । त्यसबेला वासुदेव ढुंगाना, कुुसुम श्रेष्ठ, कृष्णप्रसाद पन्त वकिलहरू नेपाल ल फर्मको छाताभित्र रहेर वकालतमा सक्रिय थिए । अदालती फैसलामा जानुअघि मुद्दाहरूबारे प्रशस्त ध्यान दिने, प्रशस्त पढ्ने, तर्कसाथ बहसमा जाने चलन बसालेको उनको भनाइ छ । ‘हामीले मुद्दामा आफ्नो भनाइ राख्नुहँुदैन, अरूका भनाइ, कानुनका भनाइ, मिसिल, नजिरका कुराहरू गर्नुपर्छ भन्ने मान्यता बसालेका हौं,’ भण्डारी भन्छन्, ‘त्यसबेला वकिलहरू पनि अध्ययनशील थिए, राम्रो तयारीका साथ जान्थे र न्यायाधीशहरू पनि चासो राखेर बहस सुन्थे, उनीहरूले पनि अध्ययन गर्दथे, हामी वकिलहरू पनि प्रशिक्षित भयांै, न्यायाधीशहरूलाई पनि एक किसिमको प्रशिक्षण दिने काम भयो, उच्च कोटीका बहस गरेर ।’ 
‘हामीले न्यायमा पहँचु, वकालत पेशाको स्वतन्त्रता र पेशालाई प्रशिक्षित गर्दै लग्ने योजनामा काम गरेका थियौं,’ भण्डारी भन्छन्, ‘अमेरिका, बेलायत, भारतका महत्वपूर्ण फैसलाहरू, नजिरहरू र कानुनका सिद्धान्तबारेमा बहस हुन्थ्यो त्यसबेला ।’ 

भण्डारीको वकालती पेशाको परख सुरुमै भयो । १५ सालको आम चुनावको खारेजीको मुद्दा हालेका थिए, डा. केआई सिंहले । के आई सिंहका वकिल थिए भण्डारी । नेपालमा संवैधानिक, प्रजातान्त्रिक अभ्यासमा भर्खर पाइला टेकेको देशमा त्यस्तो संवैधानिक मुद्दामा बहस गर्नसक्ने वकिलहरूको अभाव थियो । भण्डारी त्यो मुद्दामा बहस गर्ने क्षमता हासिल गर्न दिल्ली हानिए । भारतमा ठूलो नाम कमाएका एनसी चटर्जीको सम्पर्कमा उनी पुगे । ‘२ महिना दिल्ली बसेर ज्ञान हासिल गर्ने काम भयो,’ भण्डारीले भने, ‘पछि काठमाडौंमा बहस गर्न चटर्जी पनि आएका थिए, मैले सघाएको थिएँ ।’ दिल्लीका चर्टजीलाई उनी आफ्नो गुरु मान्छन् । उनीबाट आफूले धेरै कुरा सिकेको भण्डारी बताउँछन् । चटर्जीबारे भण्डारीमा उसबेला बनेको धारणा अहिले पनि ताजा छ । ‘बहस गर्दा सरस्वती जस्ता हुन्थे चटर्जी, धेरै ठूला विद्वान, धाराप्रवाह बहस गर्न सक्ने’ भण्डारी भन्छन्, ‘व्यवहारमा अर्धपागलजस्ता, भावनामा बग्ने, अव्यावहारिक ।’ प्रतिनिधिसभा खारेजीको त्यो मुद्दा पनि सरकारले खारेज गरिदिएको भण्डारीले बताए । 

राजाको अफर 

२०१७ साल पुस १ गते राजा महेन्द्रले शासन सत्ता हातमा लिएर प्रधानमन्त्रीलगायतका नेतालाई जेल हालेका थिए । राजा महेन्द्रले २०१५ सालको संविधान निलम्बन गर्दै त्यस्तो कदम चालेका थिए । भण्डारीले २००४ सालको व्यक्तिगत स्वतन्त्रता ऐन समातेर बीपी कोइरालालगायतलाई बन्दीप्रत्यक्षीकरण गर्नुपर्ने रिट हाले । भण्डारीले रिट हालेपछि मात्र महेन्द्रले पुस २१ गते मौलिक हक निलम्बन गरिएको घोषणा गरेका थिए । भण्डारीको कदमको विरोधमा गए पनि राजा महेन्द्र उनलाई न्यायाधीश बनाउने सोचमा थिए र त्यसैअनुसार कदम अगाडि बढाएका थिए । आफू कलकत्ता गएको बेलामा तीनपटक त्यसबेलाका कानुनमन्त्री अनिरुद्धप्रसाद सिंह घरमा भेट्न आएको प्रसंग सुनाउँछन् भण्डारी । ‘राजाको न्यायाधीश बनाउने इच्छा रहेछ, मन्त्री त्यही भन्न आएका थिए,’ भण्डारीले भने, ‘मैले वकालतमै रहन्छु भनेँ ।’  न्यायाधीश नबन्नुका उनका कारण छन् । ‘न्यायाधीश भनेको बन्धन हो, सामाजिक काम गर्न पनि मिल्दैन, राजनीतिक अभियानमा लाग्न पनि पाइँदैन,’ भण्डारीले भने, ‘वकिलमा कमाइ पनि राम्रो थियो र वकालत पेशामै इज्जत पनि थियो ।’ 

१० वर्षको वकालती सक्रियतापछि २०२४ सालमा उनी वरिष्ठ अभिवक्ता बनेका हुन् । लामो वकालती यात्रामा भण्डारीले कतिवटा मुद्दा हेरे, कतिवटा बहस गरे ? उनी आफैंले हिसाब राखेका छैनन् । राजनीतिक दृश्यमा महत्व राख्ने केही मुद्दाहरूमा बीपी कोइरालामाथिको मुद्दामा उनले खेलेको भूमिकाले ठूलो अर्थ राखेको छ । बीपीलाई गणेशराज शर्मा, कुसुम श्रेष्ठलगायतका वकिलले सशस्त्र क्रान्तिबारे आफूलाई थाहा नभएको कुरा अदालतलाई बताउन सुझाएका थिए । जिम्मेवारीबाट पन्छिएर अदालतमा जवाफ दिनुपर्ने शर्मा र श्रेष्ठको सुझावविपरीत भण्डारीले राजनीतिक नेतृत्व जिम्मेवारीबाट हट्न नहुने सुझाव दिए । ‘मैले सत्य बोल्न सुझाव दिएको थिएँ,’ भण्डारी भन्छन्, ‘बीपीले पनि त्यसै गरे ।’ बीपीले आफूलाई ठूलो विश्वास गर्ने भण्डारीको अनुभव छ । ‘२०१५ सालमा उत्तम शम्मेरलगायत २५ जना स्नातकलाई सरकारले गरेको नियुक्तिलाई लिएर मुद्दा परेको थियो,’ भण्डारी भन्छन्, ‘त्यो मुद्दा बीपीले मलाई दिएका थिए । २०३३ सालमा मेल मिलापको नीति लिएर स्वदेश फर्किने क्रममा पनि बीपीले आफ्नो भरोसा गरेको प्रसंग उनी कोट्याउँछन् ।  

सत्र महिना जेल 

वकालती पेशालाई सामाजिक इन्जिनयिरिङ भन्न रुचाउने भण्डारीको  राजनीतिक आकांक्षा भने साम्य भएको थिएन । सात सालको किशोरावस्थादेखि सुरु भएको राजनीतिक अभ्यास उनले २०२८ सालमा प्रयोगमा ल्याए । त्यसबेलाको स्नातकबाट राष्ट्रिय पञ्चायतको निर्वाचनमा उनी सहभागी भए र निर्वाचित भए । तर, जुझारु स्वभाव र जनपक्षीय सोच चिन्तनका भण्डारी राष्ट्रिय पञ्चायतमा जम्न भने पाएनन् । पञ्चायती व्यवस्थाले बालिग मताधिकारजस्ता राजनीतिक मागहरू लिएर इटुमवहालमा भएको भेलामा सहभागी भएको आरोपमा पक्राउ परे र १७ महिना जेलमा राखिए । त्यस बेला सूर्यबहादुर थापा, रत्नप्रसाद खरेल, प्रकाशचन्द्र लोहनी लगायतकालाई जेलमा राखिएको भण्डारी बताउँछन् । 

पढ्ने शोख 

भण्डारीको सबभन्दा प्रिय शोख पढाइमा छ । दिनको १०, १२ घण्टासम्म लगातार अध्ययन गर्नसक्ने बताउँछन् उनी । ‘मलाई पढ्न औधी मन पर्दछ,’ भण्डारीले भने, ‘राम्रो पठन सामग्री भयो भने घण्टांै त्यसैमा हराउन सक्छु ।’ वकालत पेशामा लागेपछि पेशाकै कारण पनि धेरै अध्ययन गर्नुपरेको उनको कथन छ । आफ्नो वकालतीको प्रारम्भिक दिनमा मुुलुकी ऐन, मधेस माल सवाल, भारतीय पेनल कोड, भारतीय प्रोभिन्सियल ल एक किसिमको कण्ठस्थ जस्तै थियो उनलाई ।‘ न्यायालयका निर्णयहरू, भारतीय संविधानबारे दास एण्ड बसुको किताब, भारतका सुप्रिमकोर्ट, हाइकोर्टमा फैसलाहरू, मौलिकहकबारेका निर्णयहरू, प्रमाण ऐनजस्ता प्रचलनमा रहेका ऐन नियम पानी पानी पारेको अनुभव उनी सुनाउँछन् । राम्रा किताब पढ्ने र राम्रा बुद्धि भएकाहरूको संगतबाट धेरै लाभ हुने अनुभव भण्डारीको छ । 

न्यायिक आँखा 

प्रजातन्त्रको आँगनमा वकालत पेशामा लागेका भण्डारीले प्रजातन्त्रको हरण, पञ्चायतको तीस वर्षे प्रयोग, प्रजातन्त्र पुनस्र्थापना, लोकतन्त्र, गणतन्त्र सबै राजनीतिक कालखण्डमा आफूलाई सक्रिय राखेका छन् । यी फरक–फरक राजनीतिक कालखण्डमा नेपालको न्यायिक क्षेत्र कसरी गुज्रियो त ? भण्डारीको आँकलनमा पञ्चायतकालको प्रारम्भिक समयदेखि २०२८ सालसम्मलाई स्वर्णिम काल मान्छन् । ‘यो कालखण्डमा राम्रा, अध्ययनशील प्रधानन्यायाधीशहरू भए, वकिलमा सिक्ने जाग्ने उत्साह थियो, अध्ययन गर्ने बानी थियो, न्यायाधीशहरू पनि गहन अध्ययन गर्दथे र बहसमा सक्रिय चासो राख्थे,’ भण्डारी भन्छन्, ‘हामी सबै सिक्ने र सिकाउने काममा थियौँ, करिब ८० प्रतिशत न्यायालय स्वतन्त्र थियो ।’ त्यसबेला दरबारका कर्मचारीले खेल्न खोजे पनि न्यायालय धेरै हदसम्म स्वतन्त्र रहेको भण्डारीको अनुभव छ । राजाले गरेका कतिपय निर्णय पनि अदालतले अस्वीकार अयोग्य गरेको उनी बताउँछन् । प्रधानन्यायाधीशमा नैनबहादुर खत्री आएपछि न्यायालयमा विकृतिहरू सुरु भएको र बहुदलीय व्यवस्थाको आगमनसँगै न्यायालयमा राजनीतिकरण र भागबण्डा चल्न थालेको भण्डारीको आँकलन छ । ‘ नैनबहादुरले आफैंले पैसा खाएको त सुनिएन,’ भण्डारीले भने, ‘पैसा लिएर अञ्चल र जिल्ला न्यायाधीश नियुक्त गरेको सुनियो ।’ २०२८ सालबाट खस्कन थालेको न्यायालय प्रजातन्त्रको आगमनसँगको राजनीतिकरणको सिकार बनेको भण्डारीको विश्लेषण छ । 

६ दशकका साक्षी भण्डारी भन्छन्, ‘अहिलेका अधिकांश वकिल बिचौलियाको भूमिकामा छन् र न्यायाधीशहरू राजनीतिक नेता जस्ता ।’ अहिले न्यायालयमा बहस नहुने गरेको उनको बुझाइ छ । भण्डारी भन्छन्, ‘अहिलेका वकिल पढ्दैनन्, न्यायाधीश सुन्दैनन् ।’ न्यायाधीशहरूमा हामी न्यायाधीश हौं, आफ्नो बुद्धि र न्याय दिन र दिलाउन सक्छौं भन्ने भावना पाइँदैन ।’ आजकल नाटकीय बहस हुन्छ, सबै नाटकमा सहभागीजस्ता देखिन्छन्,’ भण्डारी भन्छन् ‘पहिला–पहिला त न्यायाधीश प्रश्न गर्दथे, वकिललाई अप्ठ्यारोमा पार्थे, अहिले त्यस्तो केही अनुभव हुँदैन ।’ 

२०४६ सालपछि न्यायालयमा दलगत भावनाले काम गरेको र  राजनीति गर्ने वकिलहरूका कारण अदालतमा भ्रष्टाचार बढ्दै गएको विश्लेषण भण्डारीको छ । 

यस्तो आलोचना गर्दा तपार्इंमाथि मानहानीको मुद्दा लाग्ने त होइन ? प्रश्नमा भण्डारीको जवाफ थियो— मैले न्यायालयको होइन, न्यायालयमा देखिएका भ्रष्टाचारको आलोचना गरेको हो । ‘मलाई कन्टेम्प गर्ने हिम्मत गर्न सक्तैनन्,’ भण्डारी भन्छन्, ‘ सर्वोच्चले यिनी कानुन र न्यायका रक्षक हुन्, यिनबाट अदालतको अबहेलना हुन सक्तैन भन्ने फैसला सर्वोच्च आफैँले गरिसकेको छ ।’ 

आँखा अस्पताल 

भण्डारी लामो समयदेखि नेत्रज्योति संघमा आबद्ध छन् । नेपालका सबैजसो आँखा अस्पतालहरूले राम्रो सेवा दिइरहेको र नेपालमा उच्चस्तरको सेवा प्रदान गर्नसक्ने अवस्थामा रहेको उनी बताउँछन् । भण्डारीका अनुसार नेपाल आँखा अस्पतालले बाराको सिमरामा आँखाको रोग अनुसन्धान र तालिम केन्द्र खोल्ने प्रक्रियाअगाडि बढाएको छ भने काठमाडौंका उपत्यकाका बुढानीलकण्ठ, थानकोट, चाँगुनारायण, साँगा र खोकनामा आँखा अस्पतालको सेवा विस्तार गर्ने योजना अघि सारेको छ ।

‘नेपालका सबै जसो आँखा अस्पतालले राम्रो सेवा दिएका छन् र कमाएको भए पनि अहिलेको समय चुनौतीपूर्ण रहेको भण्डारीको आँकलन छ । ‘हाम्रो तराईमा रहेका अस्पतालमा आउने धेरैजसो रोगी भारतका हुन्, हामी भारतीयलाई सेवा दिएर कमाइरहेका छौं,’ भण्डारी भन्छन्, ‘अहिले भारतमा पनि उत्तिकै स्तरीय सेवा विस्तार भएको छ, हामीले अहिलेको सेवा र गुणस्तर बढाउन सकेनाैं भने पछि पर्दै जान्छौं ।’  

फिल्ड वर्क मधेस 

दशक अघिसम्म भण्डारी शुक्रबार रात्रि बस चढेर बारा, रौतहट पुग्थे, त्यहाँको सामाजिक, राजनीतिक र कानुनी अभियानमा सहभागी हुन्थे । गाउँ–गाउँबीच, टोल–टोल र जाति–जातिका बीचका थुप्रै गाउँका मुद्दा मिलाएको अनुभव छ भण्डारीसँग । शनिबार दिनभरि काम गर्ने र रात्रिबस चढेर काठमाडाैं आउने नियम मधेस आन्दोलनपछि पातलिन थाल्यो र अहिले बुढेुसकालका कारण बन्द भएको छ । ‘म रात्रिबसमा रातभरि बसमै सुत्थेँ, शनिबार दिनभरि गाउँलेको साथमा हुन्थेँ र फेरि भोलिपल्ट काठमाडौं आइसकेको हुन्थें,’ भण्डारीले भने, ‘मेरो फिल्डवर्क मधेस हो ।’ 

मोबाइल सिस्टम 

विश्व यान्त्रिकीकरणमा प्रवेश गर्र्दै गरेको बेलामा जन्मिएका भण्डारीले अहिलेको दुनियाँमा राज गरिरहेको इन्टरनेट र अनलाइन प्रणालीबारे उत्तिकै सचेत छन् । भ्रष्टाचार लगायतका सबै खाले व्यवहार अहिले विश्वव्यापीकरण भएको इन्टरनेटबाट गर्न सकिनेमा उनी विश्वस्त देखिन्छन् । ‘मानिसको आम्दानी खर्च सबै बैंकमार्फत गर्न सकियो र निगमन गर्न सकियो भने भ्रष्टाचार नियन्त्रण हुन्छ,’ भण्डारीले भने, ‘सबैको एक–एक विवरण राज्यले रोक्न सक्नुपर्छ, आम्दानी खर्चका हिसाबकिताब दुरुस्त राख्नसक्ने प्रविधि आएको छ यो अनलाइन प्रविधिको उचित प्रयोगले धेरै खाले विकृति नियन्त्रण गर्न सकिन्छ । ‘म त यस्तो प्रविधिलाई मोबाइल प्रविधि भन्छु,’ भण्डारीले भने, ‘मोबाइलबाट सबै नियन्त्रण गर्न सकिन्छ । प्रविधिलाई प्रयोगमा ल्याउने कानुन आवश्यक छ, नीति आवश्यक छ ।’ 

एकोहोरो समाज 

आठ दशकदेखि नेपाली समाजलाई नजिकबाट नियाल्दै आएका भण्डारीको विश्लेषणमा नेपाली समाज एकोहोरो प्रकृतिको समाज हो । राणाकालको थिचोमिचोबाट थलिँदै आएको समाज मुलुकमा गणतन्त्रको यात्रामा आउञ्जेलसम्म पनि समाज समग्रमा उठ्न नसकेको उनको बुझाइ छ । ‘नेपाली समाजले बाह्य एक्पोजर कम पाएको छ । सक्रिय समाज हो यो, ठूलो महत्वाकांक्षा नराख्ने समाज हो,’ भण्डारीले भने ‘गणतन्त्रमा प्रवेशपछि पनि नेपाली समाज व्यक्तिगत स्वार्थमा अल्झिएको छ, एकोहोरो सोचमा छ समाज।’ 

परिवार बनिया क्लास

भण्डारीको परिवारमा जीवनका अनेक अवरोधबीचको लामो यात्रामा साथ दिँदैछन् ८५ वर्षीया पत्नी शान्ता भण्डारीले । उनी पनि सामान्य हिँड्डुल गर्दैछन् । आफ्ना परिवारबारे दुवै दम्पती प्रसन्न देखिन्छन् । ‘सबैले राम्रो गरेका छन्’ शान्ताले भनिन्, ‘सबै जना आ–आफ्नो काम गर्र्दैछन् ।’ भण्डारी भने आफ्नो परिवारलाई बनिया क्लास अर्थात् उद्यमी भन्न रुचाउँछन् । ३ छोरामध्ये भण्डारीका जेठा विमल खेतीपातिमा सक्रिय छन्, जेठी बुहारी रिमा सामाजिक क्षेत्रमा छिन् । माहिला छोरा निर्मल परलोक भैसकेका छन् । माहिली बुहारी सबला ट्राभल एजेन्सी सञ्चालन गर्दैछिन् । कान्छा छोरा विमल र बुहारी समा अमेरिकामा बसोबास गर्दछन् । छोरी सविता भण्डारी बराल वकिल हुन्, उनी बाबुको विरासत धान्दै छन् । सुनिता नेपाल गृहिणी हुन् । भण्डारीले भने, ‘सबै आ–आफ्नै पेशामा छन्, जागिरतिर कोही गएनन् । 

खुसी हुने काइदा 

९२ वर्षको जीवनका पछाडि खुसी हुनलाई मान्छन् कृष्णप्रसाद । यसका लागि उनको सुझाव छ ‘तारिफ पाउने काम गर्ने, मानिसले तारिफ गरेपछि सन्तोष हुन्छ, राम्रोसँग सुत्ने, नियमित  व्यायाम गर्ने, सधैँ सक्रिय भैरहने ।’ 







यसमा तपाईको मत


अन्य समाचार

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।