७ वैशाख २०८१ शुक्रबार
समाज

हिउँदमा चल्ने सडक वर्षामा ठप्प

वर्षाका कारण दिक्तेलको जिरोप्वइन्ट नजिकै हिलाम्मे बनेको सडक। तस्बिर : दमन राई/नागरिक

खोटाङ – वर्षाका कारण खोटाङका अधिकांश सडक बन्द भएका छन्। हिउँदमा सञ्चालन हुने जिल्लाका दर्जनौं सडक वर्षाका कारण ठप्प भएका छन्।

जिल्लामा बनेका दर्जनौं सडकमध्ये हाल चार वटा सडक मात्र सञ्चालनमा छन्। हाल मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–जयराम तथा दिक्तेल–बुइपा र दिक्तेल–जालपा फेदी सडक मात्र सञ्चालनमा रहेको यातायात व्यवसायी बताउँछन्। सवारीसाधन नचल्दा यात्रुहरुले सास्ति खेप्नु परिरहेको छ।

दिक्तेललाई केपीलासगढी र ऐसेलुखर्क गाउँपालिकासँग जोड्ने दिक्तेल–ऐसेलुखर्क सडक पनि ठप्प भएको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले बताए। केपीलासगढी र ऐसेलुखर्क जानेक्रममा हाल दिक्तेलबाट जालपा फेदीसम्म मात्र पुग्न सकिन्छ। दिक्तेलबाट फोक्सिङटार जानेक्रममा हाल बुइपासम्म मात्र पुग्न सकिने अवस्था छ। मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल मात्तिम, दिक्तेल–पञ्चमी लगायतका शाखा सडक पनि ठप्प भएका छन्।

सडकमा हिलो जम्नुका साथै कतिपय स्थानमा पहिरो खस्दा दक्षिणी क्षेत्र खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका जाने कुनै पनि सडकमा सवारी साधन चल्न सकेका छैनन्। यस्तै, जन्तेढुंगा–सिन्ताङ, फाक्टाङ–धाप्लाङघाट तथा खोटाङबजार–रसुवाघाट सडक ठप्प भएको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाध्यक्ष शिव फुयाँलले बताए। ‘ट्याक्टर र बाईकसम्म चलाउन सकिने अवस्था छैन,’ वडाध्यक्ष फुयाँलले भने, ‘सडक सञ्चालन नहुँदा गाउँबाट बिरामी ओसार–पसार गर्ने एम्बुलेन्स समेत प्रभाबित भएको उनले बताए।’

दिक्तेल–चखेवा भञ्ज्याङ ४६ किलोमिटर सडक कालोपत्रेको काम गरिरहेको निर्माण कम्पनी गोल्डेन गुड–रमन जेभीले निर्वाधरुपमा सवारी साधन चल्ने वातावरण बनाउन नसकेको यातायात व्यवसायी संघका महासचिव हिङमाङले बताए। वर्षाको सिजन सुरु भएकाले र सवारीसाधन ठप्प हुने भएकाले गत जेठ २ गतेको सर्वदलीय बैठकले ठेकेदारलाई मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल जिरो प्वइन्टदेखि पेट्रोल पम्प र जिरो प्वइन्टदेखि अल्छेढुंगा खण्डमा ग्राभेल राख्न भनेको थियो।

सदरमुकामकै सडकमा हिलो
वर्षाका कारण हिलो जम्दा सदरमुकाम दिक्तेलकै सडकमा पैदल यात्रुलाई हिँडडुल गर्न समेत सकस भइरहेको छ। मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रत्नपार्कस्थित जिरो प्वाइन्टदेखि पेट्रोल पम्प र जिरो प्वाइन्टदेखि अल्छेढुंगासम्मको सडक हिलाम्मे भएका कारण यात्रुले सास्ति खेप्नु परिरहेको छ।

हिलोमा कतिपय सवारी साधन घण्टौ अड्किने गरेको यातायात व्यवसायीको गुनासो छ। सडकमा जमेको हिलोमा सवारी साधन चल्दा हिलो उछिट्एर पैदल यात्रुले सास्ति खेप्नु परिरहेको छ।

प्रकाशित: १९ असार २०७५ ०७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App