६ वैशाख २०८१ बिहीबार
अर्थ

अदुवा प्रतिबन्ध हटाउन कूटनीतिक पहल सुरु

काठमाडौं- एक सातादेखि भारतले अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटाउन सरकारले कूटनीतिक पहल थालेको छ। वाणिज्य मन्त्रालयले काठमाडौंस्थित भारतीय दूतावासमार्फत अदुवामाथिको प्रतिबन्ध तत्काल हटाएर निर्यात गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेको हो।

नेपाली अदुवालाई सहज रुपमा भारतीय बजारमा प्रवेश दिने वातावरण बनाउन पहल भइरहेको वाणिज्य मन्त्रालयले जनाएको छ। सीमा क्षेत्रका भन्सारमा पुर्‍याएको अदुवालाई भारतीय भन्सारले रोकेको खबर पाएपछि समस्या सुल्झाउन भारतीय दूतावास मार्फत पहल भइरहेको वाणिज्यमन्त्री रोमी गौचन थकालीले बताए। 'नेपाली अदुवामा चिनियाँ अदुवा मिसाएर पठाएको भन्दै भारतीय पक्षले चासो राखेको छ,' मन्त्री थकालीले नागरिकसँग भने, 'तत्काल निर्यात गर्ने वातावरण मिलाउन आग्रह गरेका छौं।'

स्रोतका अनुसार वाणिज्यमन्त्री थकालीले भारतीय दूतावासका प्रथम सचिवलाई फोन गरी अवरोध हटाउने वातावरण बनाउन भनेका थिए। थकालीले चिनियाँ अदुवा मिसावट हुन नदिन आश्वस्त पारेको बताए। 'कूटनीतिक मर्यादालाई ध्यान नदिएरै भए पनि छिटो निकासी गर्न लागिपरेका छौं,' उनले भने, '१–२ दिनमै परिणाम आउने अपेक्षा छ।' चीनमा उत्पादित अदुवा नेपाल हुँदै भारतीय बजारमा निकासी भइरहेको  विषयमा तत्काल छानबिन गर्न मन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

पूर्वी नेपालका किसानले उत्पादन गरेको अदुवा निकासीमा रोक लगाएको एक सातापछि सरकारले पहल सुरु गरेपछि किसान आशावादी देखिएका छन्। पूर्वी नेपालका संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ लगायत जिल्लामा उत्पादित अदुवा निकासीमा अवरोध भएको हो।

नेपाली किसानले उत्पादन गरेको अदुवा रोक्ने मनसाय नभएको भारतीय पक्षले जानकारी गराएको बाली संरक्षण निर्देशनालयले जनाएको छ। नगदे बालीको रुपमा रहेको अदुवा निकासीमा देखिएको समस्या सुल्झाउन कृषि मन्त्रालयले पनि आफ्नो ढंगले पहल सुरु गरेको छ। मन्त्रालय अन्तर्गतको बाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लिराम शर्माले पनि भारतका समकक्षीसँग मंगलबार टेलिफोन वार्ता गरेका थिए। नेपाली अदुवालाई रोक्ने मनसाय नरहेको भारतीय अधिकारीले जानकारी गराएको शर्माले बताए। 'नेपाली अदुवामा चिनियाँ अदुवा मिसिएर गएकोमा उनीहरुले चिन्ता व्यक्त गरे,' शर्माले भने, 'किसान निरास हुनुपर्ने अवस्था छैन। नेपाली अदुवाले सहजै भारतीय बजारमा प्रवेश पाउँछ।'

व्यापारीको कारण यहाँ उत्पादित अदुवाको बजारमा अवरोध सिर्जना भएको उनले बताए। 'हामीले पनि अदुवा परीक्षण गरेरमात्र पठाउने भनेका छौं,' उनले भने, 'गैरकानुनी रुपमा भित्रिएको चिनियाँ अदुवाले नेपाली अदुवालाई असर पार्‍यो।'

अदुवाको गुणस्तरबारे भारतले प्रश्न उठाएपछि सरकारले चीनबाट आउने अदुवाको निगरानी गर्ने आश्वासन दिएको छ। 'अब क्वारेन्टाइन चेकपोस्टमा अदुवाको चेकजाँच गर्छौं,' उनले भने, 'चिनियाँ अदुवालाई नेपाली भनेर प्रमाणपत्र दिने उद्योग वाणिज्य संघलाई पनि कारबाहीको दायारमा ल्याउँछौं।' उत्पादन हुने जिल्लाको उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्र जारी गरेपछिमात्र अदुवाले निकासीको लागि अनुमति पाउने कानुनी व्यवस्था छ। यसमा व्यापारीको मिलेमतो भएको सरकारी अधिकारीले आशंका गरेका छन्। 'व्यापारीले बढी नाफा कमाउन चिनियाँ अदुवा मिसाएको पाइयो,' शर्माले भने, 'किसानको उत्पादनलाई असर पुग्ने कामलाई निरुत्साहित गर्नुपर्छ।'

अदुवा निकासीमा लगाएको प्रतिबन्धबारे कृषि विकास मन्त्रालयले पनि चासो राखेको छ। भारतीय पक्षले नेपालबाट पठाएको अदुवामा चिनियाँ मिसावट भएको र त्यसमा विषादी रहेको विषयमा अध्ययन गर्न मन्त्रालयका उपसचिव प्रद्युम्नराज पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। कृषि विभाग, कृषि उद्यम केन्द्र, वाणिज्य मन्त्रालय र व्यापारीको सहभागितामा छानबिन थालेको मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले बताए। 'अदुवाको बजार सुनिश्चित गर्न मन्त्रालय गम्भीर छ,' कार्कीले भने, 'अदुवामा चिनियाँ अदुवा र विषादी मिसिएको विषयमा समेत अध्ययन गर्न समिति गठन गरेका छौं।'  यहाँ उत्पादन हुने २ लाख ४२ हजार ५ सय ४६ हजार मेटि्रक टन अदुवाको बजारलाई कुनै असर नपार्ने मन्त्रालयले जनाएको छ।

दुई वर्षपछि भारतमा हुन लागेको नेपाल र भारतको कृषि मन्त्रालयका सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठकमा पनि अदुवा प्रतिबन्धको विषय उठाउने तयारी छ। शुक्रबारबाट सुरु हुने सो बैठकमा भाग लिन कृषि मन्त्रालयका सहसचिव सुरज पोख्रेल नेतृत्वको टोली बिहीबार भारत जाँदैछ। कृषिसहित पशुपंछी, अर्थ, परराष्ट्र मन्त्रालयका अधिकारी टोलीमा सहभागी छन्। भारतीय समकक्षीसँगको बैठकमा कृषि, पशु सम्बन्धी अर्गानिक प्रमाणपत्र, माटो परीक्षण, कृषि तथा पशुजन्य वस्तुको आयात–निर्यात लगायतमा छलफल गर्ने एजेन्डा तय भए पनि अदुवा निकासीको विषय उठाउने सहसचिव पोख्रेलले बताए। 'बैठकका एजेन्डा महिनाअघि नै तय भएको भएको थियो,' उनले नागरिकसँग भने, 'तर अहिले अदुवा निकासीमा रोक लगाएको विषयमा पनि कुरा उठाउँछौं।'

प्रकाशित: २२ भाद्र २०७३ ०५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App