coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नदीको जलस्तर बढ्ने अनुमान

फाइल फाेटाे

काठमाडौं - केही दिनयता मनसुन देशभरि नै सक्रिय भएसँगै केही ठूला र सहायक नदीमा पानीको सतह सतर्कता स्तरनजिक पुगेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखाका अनुसार सोमबार देशका मुख्य नदीमा पानीको बहाव बढेको छ।

बाढी पूर्वानुमान शाखाका अनुसार कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई तथा महाकाली नदीमा पानीको बहाव बढेको छ। त्यस्तै चुरे भएर बहने नदीमा पानीको तह सतर्कता वा खतरा स्तरभन्दा माथि हुने जनाएको छ।

बाढीसम्बन्धी तीन दिनसम्मको पूर्वानुमान गर्ने शाखाले मंगलबार कोसी, नारायणी, कर्र्णाली र महाकालीका सहायक नदीमा पानीको बहाव सतर्कता तहसम्म पुग्ने र महाभारत र चुरेबाट बग्ने पूर्वी तथा मध्य क्षेत्रका जलसतह खतराको तहभन्दा माथि हुने जनाएको छ। बुधबार भने ठूला नदीमा पानीको सतह कम हुँदै जाने शाखाको पूर्वानुमान छ।

लगातारको वर्षाका कारण पश्चिमी क्षेत्रका विभिन्न १० स्थानमा सामान्यभन्दा बढी वर्षा भएको छ। बाढी पूर्वानुमान शाखाका अनुसार कर्णालीको चिसापानी, बबईका चेपाङ्ग, गुलरिया, पदमपुर र रानी जरुवा, पश्चिम राप्तीका नेपालगन्ज र लमई, नारायणीका रजैया र कल्याणपुर र कर्णालीको गुराँसेमा सामान्यभन्दा बढी वर्षा भएको छ।

सामान्यतया २४ घण्टामा १४० मिलिलिटरभन्दा बढी वर्षा हुनुलाई खतराको संकेत मानिन्छ। यस्तो अवस्थामा बाढीपहिरोको सम्भावना हुने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषि शर्मा बताउँछन् । विभागले बाढीको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन एसएमएस सेवा तथा स्थानीय सञ्चारमाध्यमबाट जानकारी गराउँदै आएको छ।

सोमबार पनि पानीको तह सतर्कता वा खतरा स्तरभन्दा माथि भएका ठाउँमा विभिन्न माध्यमबाट सूचना प्रवाह गरिएको विभागले जनाएको छ। जल तथा मौसम पूर्वानुमान शाखाले मंगलबार देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम मध्यम वर्षा हुने जनाएको छ। त्यस्तै बुधबार केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने शाखाले पूर्वानुमान गरेको छ।

ऊर्जा मन्त्रालयमा समन्वय समिति
वर्षासँगै ठूला नदीमा पानीको सतह बढेपछि ऊर्जा मन्त्रालयले सम्भावित क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन समन्वय समिति बनाएर काम सुरु गरेको छ। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यससम्बन्धी जानकारी दिइएको हो।

विपद् व्यवस्थापनको मुख्य जिम्मेवारी गृह मन्त्रालयले सम्हाले पनि यससँग जोडिएका ९० प्रतिशत काम ऊर्जा मन्त्रालयसँग जोडिएको हुनाले विपद् व्यवस्थापनका लागि छुट्टै समन्वय समिति बनाइएको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए। ‘यो गृह मन्त्रालयको विपद व्यवस्थापन समितिभन्दा भिन्दै होइन, गृहलाई नै सघाउन र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन यो समिति गठन गरिएको हो,’ मन्त्री पुनले भने । मन्त्रीस्तरीय निर्णयअनुसार असार ४ गते गठन भएको समितिले सम्भावित अतिवृष्टि, अनावृष्टि तथा बाढीपहिरोबाट हुने क्षति न्यूनीकरण तथा पूर्वाधारको आपतकालीन संरक्षण गर्ने उद्देश्य राखेको छ।

समितिले विपद् व्यवस्थापनसँग सम्बन्धित केन्द्रीय निकायसँग समन्वय गरी आवश्यक काम गर्ने, जोखिम न्यूनीकरणका लागि प्रचारप्रसार अभियान चलाउने तथा त्यसका लागि आवश्यक वित्तीय स्रोत जुटाउने लगायतका काम गर्नेछ।

मन्त्री पुनले वर्षाको अवधिभर करिब तीन महिनासम्म ऊर्जा मन्त्रालय मातहतका कर्मचारी जोखिम क्षेत्रमा निरन्तर खटिने जानकारी दिए। ‘यो अवधिमा सबै कर्मचारीले बिदा नभनी काम गर्नेछन्, मन्त्रालयले विपद् व्यवस्थापनका लागि सबै किसिमको तयारी गरिरहेको छ,’ उनले भने।

प्रकाशित: १९ असार २०७५ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App