६ वैशाख २०८१ बिहीबार
समाज

मुख्य न्यायाधीशसहित ३ को सरुवा

राजविराज - उच्च अदालत जनकपुरको राजविराज इजलाशका मुख्य न्यायाधशिसहित ३ जना न्यायाधीशको आइतबार काज सरुवा गरिएको छ। राजविराज इजलाशबाट आदेश र फैसला गर्दा न्यायाधिशहरूले आर्थिक चलखेल गरेको आरोप लगाउँदै कानुन व्यवासयीको छाता संगठन राजविराज उच्च अदालत बार एशोसिएसनले बेन्च बहिस्कार गरेपछि न्यायपरिषद्ले न्यायाधीशहरूको सरुवा गरेको हो।

उच्च अदालत राजविराज इजलाशका रजिष्टार रोशनकुमार भट्टराईका अनुसार मुख्य न्यायाधीशको कार्यभार समेत सम्हालेका मोहन बहादुर कार्की र न्यायाधिशद्वय डा. सलाउद्दिन अख्तर सिद्दिकी र नसरुल्लाह अन्सारीको काज सरुवा भएको हो। सरुवा भएकामध्ये कार्की र नसरुल्लाहमाथि विभिन्न समयमा लागूऔषध, जबरजस्ती करणी, किर्ते नागरिकता र अंश मुद्दामा कानुनविपरीत आदेश र फैसला गरेको आरोप लाग्दै आएको छ।

कार्कीलाई उच्च अदालत जनकपुर, सिद्दिकीलाई सर्वोच्चमा हाजिर र नसरुल्लाहलाई उच्च अदालत दिपायल सरुवा गरिएको हो। बार एशोसिएशनले भने उच्च अदालत राजविराज इजलाशमा कार्यरत रहेका अन्य चारजना न्यायाधीशको पनि सरुवा हुनुपर्ने र यहाँ कार्यरत सबै न्यायाधीशमाथि छानबिन हुनुपर्ने माग गरेको छ।

राजविराज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष विजयकुमार यादवले भने, ‘३ जना न्यायाधिशको सरुवा भएको छ, यो हाम्रो मागको आधा सम्बोधन हो, अन्य न्यायाधीशको सरुवा र सबैमाथि छानविन हुनुपर्ने हाम्रो धारणा हो।’ न्यायपरिषद्ले आपूmहरूको माग सम्बोधन गर्दै ३ जना न्यायाधीशको सरुवा गरेकाले मागप्रति परिषद् सम्बेदनशिल भएको आफुहरुले महसुश गरेको बताउँदै अध्यक्ष यादवले सोमबारदेखि बेन्च बहिस्कारको कार्यक्रम फिर्ता लिएको जानकारी दिए।

बाँकी अन्य न्यायाधीशको सन्दर्भमा न्यायपरिषद्ले साउन महिनाभित्र आवश्यक कार्य गर्ने आश्वासन दिएको अध्यक्ष यादवले बताए। परिषद्ले राजविराज उच्च अदालतबाट ३ जना न्यायाधीशको काज सरुवा गरेसँगै यहाँ २ जना न्यायाधीश पठाएका छन्। राजस्व न्यायाधीकरणका अध्यक्ष न्यायाधीश तिलप्रसाद श्रेष्ठ र उच्च अदालत धनकुटा इजलाशका न्यायाधीश सिताराम मण्डललाई परिषद्ले उच्च अदालत राजविराज इजालाशमा सरुवा गरेको छ।

न्यायाधीशको सरुवासँगै बार एशोसिएसनले बेन्च बहिस्कारको आन्दोलन फिर्ता लिएपछि सोमबारबाट उच्च अदालत राजविराज इजलाशको कामकाज सुचारु भएको छ। राजविराज इजलाशबाट हुने गरेका आदेश र फैसलामा आर्थिक चलखेल भएको भन्दै गत मंगलबारदेखि बार एशोसिएसनले बेन्च बहिस्कार गर्दै आएको थियो।

बार आन्दोलनपछि न्यायपरिषद्का सदस्यसमेत रहेका सर्वोच्च अदालतका वरिष्टतम न्यायाधीश ओम प्रकाश मिश्र र सर्वोच्चकै प्रवक्ता महेन्द्रनाथ उपाध्यायसहितको टोली गत शुक्रबार राजविराज आएको थियो। उक्त टोलीले ३ दिनभित्र समस्याको समाधान गर्ने आश्वासन दिएपछि बारले आइतबारबाट बेन्च बहिस्कारको आन्दोलन फिर्ता लिएपनि आइतबार दिउँसोसम्म परिषद्बाट कुनै जानकारी नआउँदा फेरि बेन्च बहिस्कारको आन्दोलनलाई निरन्तरता दिएको थियो।

कानुन व्यवसायीले आन्दोलनलाई निरन्तरता दिने अडान लिएपछि परिषद्ले आइतबारै साझ उच्च अदालत राजविराज इजलाशमा पत्र पठाई कार्की, सिद्दिकी र अन्सारीको काज सरुवा गरिएको जानकारी गराएको थियो।

प्रकाशित: १९ असार २०७५ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App