७ वैशाख २०८१ शुक्रबार
अर्थ

स्तरोन्नति कात्तिकबाट सुरु हुने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रबेँसी सडक ।तस्बिर : नागरिक

रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडकको स्तरोन्नति आगामी कात्तिकबाट सुरु हुने भएको छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त सडक स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको छ । २०७२ वैसाख १ देखि निर्माण कार्य सुरु भएको सडकको गत जेठ ६ गते ट्रयाक खोल्ने कार्य सम्पन्न भएको थियो ।
नेपाली सेनाको मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले निर्माण गरेको सडक हस्तान्तरण भएसँगै गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले स्तरोन्नतिको कार्य अघि बढाएको हो । असार मसान्तसम्ममा डिपिआर तयार हुने योजनाले जनाएको छ ।

राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना (२०७५-७६–०७७-७८) मा उल्लेख भए अनुसार आर्थिक वर्ष ०६१÷६२ सालदेखि निर्माण सुरु भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना ०७५÷७६ भित्र निर्माण तथा स्तरोन्नति भएको हुने उल्लेख छ ।रसुवागढी नाका जोड्ने सडक निर्माण तथा स्तरोन्नतिका लागि तीन स्थानमा काम भइरहेको छ । गल्छीदेखि त्रिशुलीसम्म २१ महिनामा काम सम्पन्न गर्ने गरी २०७३ कात्तिक २२ गते सम्झौता भएर पुस १ गतेदेखि सडकको स्तरोन्नति तथा विस्तारको काम सुरु गरिएको थियो ।

तर सोचे जस्तो उपलब्धि हासिल आयोजनाले गर्न नसकेपछि ६ महिना थप गरी २७ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ०७५ फागुन ५ गतेसम्म काम सम्पन्न गरिसक्ने लक्ष्य लिएको योजना प्रमुख सुवोध कुमार देवकोटाले बताए।

धादिङको गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटरको सडकको काम टुण्डी निर्माण कन्स्ट्रक्सनले गरिरहेको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेँसीसम्म पर्ने १७ किलोमिटर सडकको नेपाली सेनाले ट्र्याक खोल्ने कार्य सम्पन्न गरेको छ । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडक चीन सरकारले निर्माण कार्य अघि बढाइरहेको छ । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडकको सर्भेको काम सकिएको योजनाले जनाएको छ ।

रसुवागढी नाका जोड्ने सडक चार लेनको बनाउने
गत पुष ४ गते रसुवागढी नाका अवलोकनका लागि आएका प्रधानमन्त्री केपि शर्मा ओलीले दुई लेनको सडक निर्माण सकिए लगत्तै चार लेनको सडक निर्माण गरिने बताएका थिए ।

अन्तर्राष्ट्रिय नाका जोड्ने सडक दुई लेनले मात्रै पर्याप्त नहुने उनको भनाइ थियो । पहिलो चरणमा दुई लेनको सडक निर्माण गर्ने गरी कार्ययोजना निर्माण गरिएको थियो । सडक निर्माण सम्पन्न भएको भएपनि स्तरोन्नतिका लागि कार्य भइरहेको योजनाले जनाएको छ ।नवनिर्मित सडकमा सडक चौडा गर्ने, पुल निर्माण गर्ने, नाली निर्माण गर्ने, ग्याभिन वाल लगाउने र कालोपत्रे गर्ने लगायत कार्य अझै बाँकी छ । ‘अहिले प्रारम्भिक कार्य मात्रै सम्पन्न भएको छ,’ योजना प्रमुख देवकोटाले भने, ‘अबको दुई वर्षमा निर्माण कार्य सम्पन्न हुने छ ।’

पासाङल्हामु राजमार्गको बेत्रावती–धुुन्चे सडक हाल सञ्चालनमा रहेका कारण नयाँ सडकको स्तरोन्नतिमा सहज हुने उनले बताए । साउनको पहिलो सातासम्ममा टेन्डर गरिने भएकाले त्यसको ९० दिनसम्म टेन्डरको कार्य हुनेछ।

सबैभन्दा छोटो मार्ग

यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।

पासाङल्हामु राजमार्ग अन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन । काठमाडौंदेखि गल्छी ४४ किमि, गल्छीदेखि बट्टार २२ किमि, बट्टारदेखि बेत्रावती ११ किमि, बेत्रावतीदेखि मैलुङ १२ र मैलुङदेखि स्याफ्रु १६ किमि दूरी रहेको छ ।

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँडन कुनै पनि घुम्ती पार गर्न गर्नु पर्दैन । मैलुङ¬–स्याफ्रुबेँसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेँसी सडक प्रयोग गर्न सकिने बताइएको छ।

निर्माण सकिएपछि सार्वजनिक सवारी सञ्चालन अनुमति

रसुुवागढी नाका जोड्ने छोटो दूरीको सडक भएका कारण यातायात व्यावसायीले नयाँ सडक प्रयोगका लागि अनुमति माग्दै आएका छन् । तर योजनाले भने पहिरोको जोखिम रहेको भन्दै सडक बन्द गराएको छ ।
नवनिर्मित सडकमा सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढी हुने भएकाले सवारी सञ्चालनका लागि अनुमति नदिएको योजना प्रमुख देवकोटाले बताए । ‘वर्षातको समयमा सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम हुन्छ,’ योजना प्रमुख देवकोटाले भने, कात्तिकबाट निर्माण कार्य सुरु भएपछि काममा अवरोध आउने सम्भावना रहन्छ ।’

पासाङल्हामु राजमार्गको बेत्रावती धुन्चे सडक सञ्चालनमा रहेका कारण त्यो सडक प्रयोग गर्न उनले सुझाव दिए । हस्तान्तरण गरिएको दिन सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिइएको थियो ।त्यसको केही समयसम्म सवारीसाधन सञ्चालन भएको भएपनि सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको योजनाले जनाएको छ । सवारी सञ्चालन रोक्नका लागि सडकको दुवैतर्फ ढुंगा राखिएको थियो ।

‘मैलुङदेखि स्याफ्रुबेँसीबीचमा पर्ने सडकखण्डको चार स्थानमा पहिरोले बाटो अवरुद्ध बनाएको छ,’ योजना प्रमुख देवकोटाले भने, ‘भर्खरै निर्माण भएको कारण पहिरोको जोखिम उच्च छ ।’
नयाँ सडकमा प्रहरी र सेनाको जाँच चौकी

भर्खरै निर्माण भएको मैलुङ–स्याफ्रुबेँसी सडकमा सुरक्षा निकायको उपस्थिति रहेको छैन । अन्तर्राष्ट्रिय नाका जोड्ने सडक भएको कारण नेपाली सेना र नेपाल प्रहरीको जाँच चौकी स्थापना गर्न लागिएको बताइएको छ । मैलुङ–स्याफ्रुबेँसी सडकमा प्रहरी चौकी स्थापनाका लागि मन्त्रालयमा लेखेर पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।
 

प्रकाशित: १९ असार २०७५ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App