८ वैशाख २०८१ शनिबार
खेल

इङ्ल्यान्डलाई इतिहास बदल्ने अवसर

लन्डन – इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले फाइनलसम्मको यात्रा सहज बनाउनका लागि समूह ‘बी’ को अन्तिम खेलमा दोस्रो रोजाइको टोली उतारेपछि इङ्ल्यान्डको त्यो निर्णय जोखिमपूर्ण हुन सक्ने बेलायती रग्बी टोलीका प्रशिक्षक क्लिभ उडवार्डले चेतावनी दिएका छन्।

गत बिहीबार बेल्जियमसँग १–० ले पराजित भएपछि समूहको उपविजेता बनेको इङ्ल्यान्डले मंगलबार क्वार्टरफाइनलका लागि कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ। २००३ मा इङ्ल्यान्डलाई रग्बी विश्वकपको उपाधि जिताएका उडवार्डले प्रशिक्षक साउथगेटको रणनीतिलाई लिएर प्रश्न उठाएका छन्। तथापि समूहचरणको अन्तिम खेलमा साउथगेटसँगै बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि दोस्रो रोजाइका खेलाडी उतारेका थिए।

‘पछिल्लो दुई दशक इङ्ल्यान्डले ठूला प्रतियोगितामा संघर्ष गरिरहेको छ। सम्भावित क्वार्टरफाइनल र सेमिफाइनल सोचेर अहिलेदेखि उनीहरू समय र सामाथ्र्य खेर फालिरहेका छन्,’ उडवार्डले डेली मेलमा लेखेका छन्, ‘त्यहाँसम्म पुगेकै छैन। त्यसअगाडि पनि खेल जित्नु आवश्यक छ। यो बेल्जियमविरुद्धको खेल होइन। विश्वकपको नकआउट चरणको खेल हो। इङ्ल्यान्डका प्रशिक्षक र खेलाडीबाट म धेरै उत्साहित छैन।’ पछिल्ला भेटमा कोलम्बियाले इङ्ल्यान्डलाई पराजित गर्न सकेको छैन। पछिल्लो पटक फ्रान्समा सम्पन्न १९९८ को विश्वकपमा पनि इङ्ल्यान्ड २–० ले विजयी भएको थियो। पहिलो खेलमा जापानसँग २–१ ले पराजित भएको जोसे पेकरम्यानको कोलम्बियाले दोस्रो खेलमा पोल्यान्डलाई ३–० तथा अन्तिम खेलमा अफ्रिकी टोली सेनेगललाई १–० ले हराउँदै समूह ‘एच’ को शीर्ष स्थानमा रहेर अन्तिम १६ को यात्रा तय गरेको हो। कोलम्बियाको आक्रमण पंक्तिमा राडामेल फाल्काओ र हामेस रोडरिग्वेजजस्ता खेलाडी छन्। तर, चोटका कारण २०१४ को विश्वकपमा गोल्डेन बुट जितेका रोडरिग्वेज इङ्ल्यान्डविरुद्धको खेलमा उपलब्ध हुनेमा शंका छ।

ह्यारी केन, जिसे लिङ्गार्ड तथा डेली अलीजस्ता खेलाडीको उत्कृष्ट प्रदर्शनमा इङ्ल्यान्डले पहिलो दुई खेलमा सहज नतिजा निकालेको थियो। तर, इङ्ल्यान्डको युवा टोलीको वास्तविक परीक्षण हुने बेल्जियमविरुद्धको खेलमा दुवै टोलीले दोस्रो रोजाइका खेलाडी उतारे। जसले दुवै टोलीका प्रशिक्षकको आलोचना भइरहेको छ। नकआउट चरणमा इङ्ल्यान्डको इतिहास बिर्सनलायक छ। त्यसैले प्रशिक्षक साउथगेटले आफ्ना खेलाडीलाई यसबारे सचेत गराएका छन्। इङ्ल्यान्डमा अनुभवी खेलाडीको कमी भए पनि टोलीमा प्रतिभावान् खेलाडीको कमी छैन। समूहचरणमा पाएको सफलताले पनि उनीहरूको मनोबल बढाएको छ। कप्तान केनले ५ गोल गरिसकेका छन् र उनी प्रतियोगितमा गोल्डेन बुटको दाबेदारका रूपमा उभिएका छन्।

ब्राजिलमा सम्पन्न २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको कोलम्बिया त्यही नतिजालाई दोहो-याउँदै लगातार दोस्रो पटक अन्तिम ८ मा पुग्ने लक्ष्यमा छ। लगातार चार खेल जितेको कोलम्बिया क्वार्टरफाइनलमा आयोजक ब्राजिलसँग २–१ ले पराजित हुँदै घर फर्किएको थियो। कोलम्बियाले इङ्ल्यान्डलाई हराउन उनीहरूको रक्षापंक्ति र विंग्सलाई रोक्न जरुरी छ। ‘इङ्ल्यान्ड बलियो टोली हो,’ कोलम्बियाका मिडफिल्डर कार्लोस सान्चेजले भने, ‘उनीहरू यस्तो टोली हो जसले फुटबललाई जन्म दिए र उनीहरूसँग एक से एक क्षमतावान् खेलाडी छन्। त्यसैले यो खेल निकै प्रतिस्पधात्मक हुनेछ।’

प्रकाशित: १८ असार २०७५ २२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App