सुरुमा तपाईं कोट टिप्नुस्। कहाँ छाडेँ भनेर बिर्सनु भएको छ भने त्यो मेरो मतलबको कुरा भएन, पत्तो लगाउनुस्। तपाईंको हातभरि रगत लत्पतिएको छ भने त्यसलाई राम्रोसँग धोइपखाली गर्नुस्। कोट लगाउनुस् र बाथरुम छिर्नुस्। कोट लगाइसकेपछि बाथरुमको ऐनामा आफूलाई राम्रोसँग नियाल्नुस्। नियाल्दै गर्दा भर्खरै मृत्यु भएको बालकको नाउँ उच्चारण गर्नुस्। उसकी आमाको नाउँ पनि उच्चारण गर्नुस्। तपाईं यसमा आदी नहुन सक्नुहुन्छ तर बानी पर्नुस्।
गोली लागेर भर्खरै मृत्युवरण गरेको बालककी आमासँग कसरी बोल्ने म तपाईंलाई सिकाउँछुः यदि त्यो मृत्यु भएको बालक म हुन्थेँ र मेरी आमालाई तपाईंले खबर सुनाउनु पर्थ्यो भने तपाईंले भन्नुहोस्, ‘श्रीमती रोजेनबर्ग, तपाईंलाई मैले एउटा ज्यादै...ज्यादै दुःखदायी खबर सुनाउनु छ। नाओमी भर्खरै बितिन्।’ यसो भन्दा तपाईं पर्याप्त सुनिने गरी आवाज निकाल्नुस्। यो स्पष्ट र अलि ठूलै स्वरमा बाहिर निस्कनु पर्छ। कति ठूलो? पर्याप्त ठूलो। बरु त्यसका लागि तपाईंले पाँच पटकसम्म अभ्यास गर्नुपर्छ भने पनि ऐनाअघि उभिएर बोल्ने अभ्यास गर्नुहोस्। यति गर्दा पनि पर्याप्त अभ्यास भएन भन्ने लाग्छ भने त्यसका लागि समय लिनुस्।
बाथरुमबाट बाहिर निस्केपछि तपाईं अन्य कुरा सोच्दै नसोच्नुस्, सिधै उनीकहाँ पुग्नुस्। तपाईंले फोन पनि नउठानुस्। तपाईंका मेडिकल विद्यार्थीसँग पनि बात नमार्नुस्। कसैलाई केही आदेश नदिनुस्। तपाईंले उनलाई धेरै कुराउन हुँदैन। उनी त्यस बालककी आमा हुन्।
जसै तपाईं कोठामा छिर्नु हुन्छ, त्यो दुखिया आमालाई तपाईंले परैबाट चिन्नु हुन्छ। अँ, म पक्का छु, तपाईंले उनलाई चिन्नु हुन्छ। उनीसँग हात मिलाउनुस् र तपाईंका बारेमा बताउनुस्। समय मिलेसम्म कोठामा भएका सबैसँग लाइनै हात मिलाउनुस्। अँ, समय छ कि छैन भन्ने कुरा त तपाईंलाई थाहा हुने भइहाल्यो। तपाईं उभिएर यी कुरा नबताउनुस्। बस्ने ठाउँ छैन भने काउचमा आरामसँग बस्नुस्।
उनको छोरा बितेको कुरा ती दुखिया आमालाई पहिल्यै थाहा छ कि छैन त्यो थाहा हुनु जरुरी छ। थाहा नभए तपाईंले मृत्युको खबर कसरी बताउने भन्ने निर्णय गर्नुस्। छोराको मृत्युको खबर सुनाउने तपाईं पहिलो व्यक्ति हो भने भन्नुस्, ‘तपाईंको छोरालाई गोली लागेको थियो। यहाँ आइपुग्दा उसको अवस्था निकै नाजुक थियो।’ यति भनिञ्जेल उनलाई कुनै प्रतीक्षामा नराख्नुस्। ती महिला त्यस बालककी आमा हुन्। यो खबर सुनाएर उनको जिन्दगीको सबैभन्दा सुन्दर उपहार चुँडालिदिनु भएको छ। तर यो खबर भन्नै पर्ने भएकाले तपाईं बाध्यतामा हुनुहुन्छ। यस्तो अवस्थामा भन्नुस्, ‘श्रीमती बुकर, मसँग ज्यादै... अति दुःखदायी खबर छ। अर्नेस्टको भर्खरै देहान्त भयो।’
त्यसपछि तपाईं केहीबेर कुर्नुहोस्, उनीहरुको प्रतिक्रियाका लागि।
तपाईं बसिरहेको ठाउँबाट नउठ्नुस्। यो सुनाउँदा तपाईंको मन पनि भारी भएको हुन सक्छ, श्वास फेर्दा तपाईंलाई पनि अप्ठेरो महसुस भएको हुन सक्छ। तपाईंले आफ्नै नौनाडी गलेको वा आफ्नै जुत्ताको तुना खुस्केको देखिएर ध्यान भङ्ग हुन सक्छ तर तपाईं यी सबै कुराको बहाना बनाएर नउठ्नुस्। यतिबेला अर्नेस्टकी आमालाई तपाईंको खाँचो छ।
अर्नेस्टकी आमासँग अर्को छोरो छ र यो खबर सुन्नेबित्तिकै उसले अस्पतालको भित्तामा एक मुक्का हान्यो अनि भित्ता चर्कियो भने दुःख नमान्नुस्। नजिकैको कुर्ची उठाएर भुइँमा पछार्यो र कुर्ची भाँच्चियो भने पनि झिँजो नमान्नुस्। कुर्चीको चिन्ता नलिनुस्। यस्तो पीडादायी खबर सुनाउँदा बरु यी कुनै काम गरेन, भुइँ कोतरेर बसिरह्यो अनि रुन मन गरेन भने खतराको सूचक हुन सक्छ। कुर्ची नभाँची उसले आफ्नी बहिनीतिर क्वार्रक्वार्ती हेर्यो भने त्यसको परिणाम कष्टदायी हुनसक्छ।
कुनै व्यक्ति देहान्त भएसँगै तिनका आफन्तले कोकोहोलो मच्चाउलान् भनेर सुरक्षाकर्मीलाई खबर नगर्नुस्। कोठाको चर्को पीडादायी आवाज सुनेर ह्वारह्वारी सुरक्षाकर्मी आउन नदिनुस् न त खतरा हुनेवाला छ, तपाईंहरु आउनुस् भनेर सुरक्षाकर्मीलाई खबर नगर्नुस्। उनीहरुलाई नर्थ फिलाडेल्पि्कयाको पारिवारिक कोठाका बारेमा थाहा छ। कोठामा पर्याप्त बस्ने कुर्ची छैन भने चिन्ता नगर्नुस्, कुर्ची फुटालिए पनि चिन्ता नगर्नुस् किनभने हरेक समरमा तपाईंले अर्को कुर्ची किन्न सक्नुहुन्छ। उनीहरु करुणाले भरिएका व्यक्ति छन् भने त्यो पनि गर्ने छैनन्। तपाईं बसेको कुर्ची उठाएर फुटाले भने अर्को कुर्चीमा बस्नुस्। तपाईं ती भर्खरै देहान्त भएका बालककी आमाका लागि आउनु भएको हो। तपाईंले उनका लागि गर्नुपर्ने धेरै चिज छ।
आमाले सोधिन् भने तपाईंलाई थाहा भएजति सबै कुरा सुनाउनुस्। नढाँट्नुस्। तर उनलाई नभन्नुस्, उनको हत्या भएको थियो, बरु भन्नुस् उनी मारिए। अँ, मलाई थाहा छ किनभने तपाईंले ऊ मरेको देख्नु भएको हो, हत्या भएको देख्नु भएको छैन। तपाईंलाई जे थाहा छ, त्यही बताउनुस्। जसै आमाले सोध्छिन्, मर्ने बेलामा उसले कुनै पीडा अनुभूत गर्यो? यस्तो प्रश्नका बेला तपाईं धेरै सचेत हुनुपर्छ। उसले पीडा अनुभूत गरेन भने उसलाई तत्कालै भन्नुस् तर उसले पीडा अनुभूत गर्यो भने नलुकाउनुस्, झूटो नबोल्नुस्। तर उसको पीडा सकिइसकेको छ। कहिल्यै बिर्सेर पनि नभन्नुस्, ‘ऊ भाग्यमानी थियो, उसले पीडा महसुस गरेन।’ ऊ भाग्यमानी थिएन। उसकी आमा पनि भाग्यमानी होइनन्। भाग्यमानी भन्दा जुन उज्यालो अनुहार तपाईंले बनाउनुपर्ने हुन्छ, त्यस्तो नबनाउनुस्। कहिलेकाहीँ तपाईंले जुन मुर्ख्यौंइँ गर्नुहुन्छ, त्यसको परिणाम कल्पनातीत हुन्छ।
त्यस कोठाबाट निस्कँदा तपाईंले ती आमाको मुटु छियाछिया पारिसक्नु भएको हुनेछ। उनको मुटुको टुक्रा छोराको शव हेर्न मन गरिन् भने तपाईं के भन्नु हुन्छ? ‘हेर्न पाउनु हुन्न, म यसमा दुःखी छु। हामीकहाँ ज्यादै कडा नियम छ। कुनै व्यक्तिको देहान्त हुँदा सुरुमा प्रहरीले रिपोर्ट बनाउँछ। हामी छिर्न दिन सक्तैनौँ, माफ गर्नुहोला,’ भन्छु भनेर सोच्दै नसोच्नुस्। झन् ‘शव’ त भन्दै नभन्नुस्। त्यो उसको शव होइन, उनको छोरो हो। यसको सट्टामा तपाईंले भन्नुहोस्, ‘म तपाईंको छोरालाई हेर्ने समय मिलाउँछु र कुनै कुरा सोध्नुपर्ने भए मलाई भेट्नुस्।’ अनि ती आमाले कुनै कुरा सोधिन् भने मात्रै सोधेका कुराको जवाफ दिनुस्, नसोधेका कुराको भुलेर पनि उत्तर नदिनुस्।
तपाईं त्यो कोठाबाट निस्कँदा तपाईंका मेडिकलका विद्यार्थीहरुले जस्तोसुकै प्रश्न सोधे भने पनि तिनीहरुप्रति नचिच्याउनुस्। तपाईं घर पुग्दा पतिसँग पनि झर्कोफर्को नमान्नुस्। पतिले आज पनि मोज्जालाई भुइँमा अस्तव्यस्त छाडेका रहेछन् भने तिनलाई गाली नगर्नुस्, ठीकै छ भन्ठान्नुस्।
(नाओमी रोजेनबर्ग टेम्पल युनिभर्सिटी अस्पतालकी आकस्मिक कक्षकी चिकित्सक हुन्। न्युयोर्क टाइम्सबाट अनुदित)
प्रकाशित: २२ भाद्र २०७३ ०४:३७ बुधबार