८ वैशाख २०८१ शनिबार
अर्थ

मरेका भैंसीसमेत निर्यात गर्ने व्यापारी पक्राउ

प्रशासनले नगरपानीबाट दुइ ओटा मरेका सहित नियन्त्रणमा लिएका भैसीहरु। तस्बिर: अर्जुन भुसाल

अर्घाखाँची– जिल्लाबाट अवैध रुपमा भैंसी तथा पाडीहरु निर्यात हुन थालेपछि प्रशासन र प्रहरीले निगरानीलाई बढाएको छ। व्यापक निकासीले गर्दा स्थानीय लिमे र पार्कोट जातका भैंसीहरुको संख्या दिन प्रति दिन घट्दै गइरहेको छ। व्यापारीहरुले अवैध ढंगबाट भैंसी तथा पाडीहरु निर्यात गर्ने गर्छन। मासुका लागि भैंसी बाहिरी जिल्ला पठाउने गरेका छन्। गाउँ÷गाउँमा भैसी व्यापारीहरु सल्बलाइरहेका बेला शनिबार दिनदाहाडै मरेका भैसी सहित निर्यात गर्न लागेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिइएको छ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी निरीक्षक प्रदिप डिसी र अनुसन्धान प्रमुख गोपाल पन्थी सहितको प्रशासन र प्रहरीको टोलीले गाडी नियन्त्रणमा लिएको हो। भैंसी बिक्री गर्न जान लागेका सन्धिखर्क–२ प्रगतीबजारका दिपक भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। लु २ ख २०५ नम्बरको ट्रकमा दुई ओटा मरेका भैंसी सहित १५ ओटा भैंसी बुटवलतर्फ लगिदै थियो । वुटवलका व्यवसायी मोहन शाही कहाँ पैठारी गर्न लागेको प्रहरीले जनाएको छ। प्रमुख जिल्ला अधिकारीले भुसालले पशु वधशाला तथा मासु जाँच ऐन २०५५ को दफा ११ को २ बमोजिम भैंसी पैठारीका लागि अपनाउनु पर्ने करेन्टाइन पास प्रमाण पत्र नबनाएको र मरेका पशु पैठारी गरेकाले कानुन अनुसार कारवाही गरिने बताए। ‘२० हजार जरिवाना र तिन वर्ष कैद दुबै  सजाय हुन सक्ने कानुनी प्रावधान छ’  उनले भने।

अवैध रुपमा भैंसी निर्यात भइरहेपनि मरेका भैंसीसहित यति धेरै संख्यामा नियन्त्रणमा लिएको यो पहिलो पटक हो। यहाँबाट रातको समयमा भैंसी, पाडीहरु निर्यात हुने गरेका छन्। भैंसी खरिदका लागि जिल्लाभर सञ्जाल बनाएर व्यापारीहरुले विभिन्न ठाउँमा खरिद प्रतिनिधि राखेका छन्। भैंसी खरिद गरिदिएवापत प्रतिनिधिले प्रति भैसी निश्चित रकम बुझ्ने गरेका छन्। व्यापारीहरुले रातको समयमा ट्रकमा राखेर बाहिरी जिल्ला निर्यात गर्छन। गाडीमा भैंसीहरुलाई ढुवानी गर्दा निकै यातना दिने गरेको पाइएको छ। जस्का कारण पनि भैसी मर्ने गरेका छन्। प्रहरीकै मिलेमतोमा अवैध रुपमा भैंसी निर्यात भइरहेको गुनासाहरु आउने गरेका छन्।

अहिलेका प्रमुख जिल्ला अधिकारीले अवैध धन्धा, अनियमितता र ढिलासुस्ती प्रति विशेष निगरानी बढाएका छन्। हप्तामा दुइ÷तीन पटक भैंसी निर्यात हुने गरेको प्रत्यक्षदर्शी बताउँछन्। सबै नाकामा कडाइ गरि भैसी पैठारीलाई पूर्ण रुपमा रोक लगाउँछौं’ प्रजिअ भुसालले भने, ‘लैजान लागेको देखेमा प्रहरीलाई खबर गरेर सहयोग गर्नु आवश्यक छ।’ अवैध निर्यातले गर्दा हालसम्म बाहिर गएका भैसीको तथ्यांक कसैसँग पनि छैन। जिल्ला पशु सेवा कार्यालयका प्रमुख लोकनाथ पौडेलले जिल्ला पशु सेवा कार्याललाई एक जिल्लाबाट अर्को जिल्ला पठाउन अनुमति दिने बाहेक अन्य कुनै अधिकारी नभएको बताए। ‘पशु स्वस्थ भए÷नभएको हेरि स्वस्थ भए लैजान मिल्ने भनेर अनुमति दिने अधिकार छ’ उनले भने, ‘के प्रयोजनका लागि लैजान लागिएको छ भनेर रोक्ने अधिकार छैन ।’ उनले शनिबार मरेका सहित नियन्त्रणमा लिएका भैंसीहरुलाई पशु सेवा कार्यालयले अनुमति दिएको बताए । ‘अनुमति दिने अवस्थामा भैंसी ठिक थिए’ उनले भने, ‘पछि कसरी मरे त्यो थााहा हुने कुरा भएन।’ राम्रोसँग ढुवानी नगर्दा वा गाडी भित्र उकुसमुकुस भएर पनि मर्ने गर्छन’ उनले थपे,  ‘पशु सेवा कार्यालयले मरेका भैसीहरु पैठारी गर्न अनुमति दियो भन्ने सरासर गलत हो।’  

भर्खरका पाडी, दुध दिँदै गरेका भैंसी, पेटमा बच्चा भएका देखि बुढा भएर मर्ने अवस्थामा पुगेका भैंसीहरु समेत व्यापारीहरुले उठाउने गरेको भेटिएको छ। व्यापारीहरुले धेरै पैसाको लोभ देखाएपछि कृषकहरु भैसी, पाडी बेच्न राजी हुने गरेका छन्। स्थानीय तहले पशु बिक्री सम्वन्धी स्पष्ट कानुन बनाउनुका साथै पशु अधिकारका बारेमा प्रयाप्त जनचेतनाको जगाउनु पर्ने आवश्यकता देखिएको छ।

प्रकाशित: १८ असार २०७५ ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App