coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाँकेमा बाढीबाट ४ जनाको मृत्यु, सयौं घर डुबानमा

वर्षाले डुबानमा परेको नेपालगन्ज, न्यूरोडस्थित सहिद सेतु बिक चोक क्षेत्र । तस्बिर : नागरिक

नेपालगन्ज– अविरल बर्षाका कारण आएको बाढीमा परेर बाँकेमा दुई बालबालिकासहित ४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिकामा दुई र कोहलपुर नगरपालिका तथा डुडुवा गाउँपालिकामा एक÷एक जनाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ३ का ६५ बर्षीय तुलाराम बुढा, बैजनाथ ५ का ३५ बर्षीय लोकबहादुर सुनार, कोहलपुर नगरपालिका वडा नम्बर ४ गौवागाउँ निवासी ४ बर्षीय बालक रन्जित पासी र डुडुवा गाउँपालिका वडा नम्बर २ निवासी ४ बर्षीया रिमा कुमारी यादवको मृत्यु भएको छ। मृतक चारै जनाको शव भेटिसकेको भनाई छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) टेकबहादुर तामाङका अनुसार  सुनारलाई स्थानीय ज्वालीपुर नाला र बुढालाई जेठी नालाले बगाएको थियो। ‘वर्षापछि बढेर आएको खोला तर्ने क्रममा दुबै जनालाई बगाएको हो,’ तामाङले भने ‘बगेर बेपत्ता भएका दुबैको शव फेला परिसकेको छ।’ 

यस्तै, कोहलपुरस्थित गौवागाउँका ४ बर्षीय बालक पासीको घर नजिकको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। सडकबाट चिप्लिएर नालामा लडेका बालक डुबेर मृत अवस्थामा फेला परेका थिए। डुडुवाकी रिमाकुमारीको घर नजिकैको पानीमा डुबेर मृत्यु भएको बताइएको छ।
 
अविरल रुपमा परेको वर्षाका कारण जिल्लाका विभिन्न स्थान डुबानमा परेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले मानवीय क्षति बाहेक अन्य विवरण नआएको जनाएको छ। अविरल वर्षाका कारण जिल्लाका विभिन्न भाग जलमग्न भएका छन्। सडक जलाम्य हुँदा सोमबार दिनभर नेपालगन्ज–गुलरिया खण्डको यातायात सेवा प्रभावित भयो। कतिपय ठाउँमा सुरक्षाकर्मीको सहयोगमा सवारी साधन वारपार गराइएको छ। नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका तथा बैजनाथ, खजुरा, जानकी, राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विभिन्न घरहरु डुबानमा परेको प्रहरीले जनाएको छ। बाढी पसेर केही घरहरु समेत भत्किएका छन्। डुबान प्रभावित क्षेत्रमा सुरक्षाकर्मीलाई खटाइएको एसपी तामाङले बताए। 

नेपालगन्जको मुख्य सडकसहित उपमहानगरभित्रका दर्जनौ घर डुबेका छन्। न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोल, बेलासपुर लगायत स्थान डुबानमा परेका हुन्। न्युरोडका स्थानीय बासिन्दा एवम् उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले करिव ४५ वटा पसल डुबेको बताए। ‘पानी बग्ने निकास पनि नहुँदा पसल डुबानमा  परेका हुन्,’ श्रेष्ठले भने। उपमहानगरको डुबान प्रभावित स्थानमा दिनभर डोजर र सुरक्षाकर्मी परिचालन गरेर पानीको निकास खोलिएको थियो।

स्थानीय बासिन्दाका अनुसार न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोलमा रहेका पसल तथा होटलभित्र एक फिट भन्दा बढी पानी पसेको छ। नेपालगन्ज उपमहानगरपालिकाले समयमा ठुला नाला सफाई नगर्दा निकास थुनिएर डुबानमा परेको श्रेष्ठको आरोप छ। ‘उपमहानगरपालिकाले ठुला नाला सफाई गरेको भए यस्तो समस्या आउने थिएन,’ उनले भने ‘बजेट भएर पनि हाम्रा जनप्रतिनिधीको ईच्छा शक्ति भएन।’ पानी पसेपछि पसलमा रहेका सामान भिजेका छन्। 

यस्तै नरैनापुरको कट्कुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुरका दर्जनौं घर डुबानमा परेका छन्। पानीको सहज निकास नभएका कारण सयौं घरहरु डुबेका हुन्। उक्त गाउँपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा भारतले बाँध जस्तो सडक निर्माण गरिरहेको छ। यसअघि कहिल्यै डुबानमा नपर्ने गाउँ यसवर्षको बाढीबाट डुबानमा परेको नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद साहले बताए।

‘एक त लक्ष्मणपुर बाँध र कल्कलवा तटबन्धले बर्षेनी डुबान हुन्थ्यो, अब त झन् भारतले सीमामा बाँध जस्तो सडक बनाएपछि समस्या थपिएको छ,’ उनले भने। मातनिया र बनिया गाउँका १५ बढी घरमा पानी पसेर बिचल्ली पारेको कट्कुइँयाका स्थानीय बासिन्दा सहाजद अलि जोलाहले बताए। नरैनापुरका ५०÷६० घरमा पानी पसेर क्षति पु¥याएको गाउँपालिका अध्यक्ष साहले बताए।

बाढीले भत्कायो हुलाकी सडक 

अविरल वर्षका कारण आएको बाढीले हुलाकी सडक भत्काएको छ। सडक भत्किँदा राप्तीपारी क्षेत्र र सदरमुकाम नेपालगन्जको सडक सम्पर्क बिच्छेद भएको छ। निर्माणाधिन हुलाकी सडक ठाउँ–ठाउँमा भत्किएको स्थानीय बासिन्दाले बताएका छन्। कतिपय खोलामा पुल तथा कल्भर्ट निर्माण नहुँदा खोलाले सडकमा क्षति पु¥याएको उनीहरुको भनाई छ। 

उता राप्ती नदीमा पानीको सतह बढ्न थालेपछि स्थानीय प्रशासनले सतर्क रहन सचेत गराएको छ। नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहेर बस्न प्रशासनले आग्रह गरेको छ। सोमबार बेलुका ५ बजेतिर बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रबाट प्राप्त भएको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ४ मिटर ३० मिटर पुगेको छ। 

‘राप्ती नदीमा पानीको सतह क्रमिक रुपले बढ्न थालेपछि तल्लो तटिय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेका छौं,’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र पौडेलले भने ‘पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि डुबानको खतरा हुन्छ।’ भारतले अन्तर्राष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँहरु डुब्न थालेका हुन्। 

प्रकाशित: १८ असार २०७५ ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App