७ वैशाख २०८१ शुक्रबार
खेल

जोकोभिच र सोंगा भिड्ने

न्युयोर्क- शीर्ष वरीयताका नोभाक जोकोभिच र महिलामा दोस्रो वरीयताप्राप्त एन्जेलिक क्रेबर युएस ओपन टेनिसको अन्तिम चारमा स्थान पक्का गर्ने उद्देश्यसहित बुधबार कोटमा उत्रने छन्। जर्मनीकी क्रेबरले क्वार्टरफाइनलमा रोबर्टा भिन्चीसँग प्रस्पिर्धा गर्नेछिन्। २०१६ को अस्ट्रेलियन ओपन जितेकी क्रेबर विम्बन्डनमा उपविजेता बनेकी थिइन्। सातांै वरीयताकी भिन्ची क्रेबरका लागि कठिन प्रतिद्वन्द्वी हुनसक्छिन्। इटालीकी भिन्टी गतवर्षकी युएस ओपन उपविजेता हुन्। हार्ड कोर्टमा भएको ३ मध्ये २ खेलमा भिन्चीले बाजी मारेकी छन्।

१९२७ पछि न्युयोर्कमा पहिलोपटक फ्रान्सका तीन खेलाडीले अन्तिम ८ मा स्थान बनाएका छन्।  फ्रान्सका तीनमध्ये एक जो–विलफ्रिड सोंगासँग जोकोभिचले बुधबार क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

विश्व नम्बर एक जोकोभिचले न्युयोर्कमा २०११ र २०१५ को उपाधि जितेका थिए। वर्षमा तेस्रो ठूलो प्रतियोगिताको उपाधि जित्ने अभियानमा रहेका २९ वर्षे जोकोभिचले दुई उपाधि जितिसकेका छन् भने २००७, २०१०, २०१२ र २०१३ मा उपविजेता बनेका थिए। त्यस्तै उनले २००५, २००६ र २०१४ मा पनि सेमिफाइनल यात्रा तय गरेका थिए।

नवौं वरीयाताका सोंगाविरुद्ध सर्बियाका जोकोभिच १५–६ को विजय स्थितिमा छन्। बुधबारको खेलले पुनः एकपटक २००८ को अस्ट्रेलियन ओपन फाइनलको झल्को दिनेछ।

‘यहाँसम्म आइपुग्दा राम्रो लागेको छ। तर चौथो चरणसम्म आइपुग्दा मैले कोर्टमा धेरै समय बिताउन पाएको छैन,’ नाडी लागेको चोटमुक्त भएर आएका जोकोभिचले भने, ‘प्रतियोगता आउनुअघि मैले केही संघर्ष गर्नुपर्‍यो। अहिले म मानसिक र शारीरिक रूपमा स्वस्थ छु।’

छैटौंपटक युएस ओपन क्वार्टरफाइनल खेल्न लागेका बेलायती एन्डी मरेले छैटौं वरीयाताका जापानी केइ निशिकोरीसँग प्रतिस्पर्धा गर्नेछन्। मरे २०१२ को युएस ओपन विजेता हुन्। फ्रेन्च ओपनको फाइनलमा जाकोभिचसँग पराजित मरेले विम्बल्डन, क्विन्स क्लब र ओलम्पिकमा उपाधि जितेका थिए। मरेले निशिकोरीलाई कमजोर प्रतिद्वन्द्वीका रूपमा लिन नहुने बताए।

‘ओलम्पिकमा उनले राम्रो प्रदर्शन गरेका छन्। कांस्य पदक जिते,’ मरेले भने, ‘रियोमा उनीविरुद्धको खेल निकै प्रतिस्पर्धात्मक भएको थियो। उनलाई पराजित गर्न मैले पुनः कडा मिहिनेत गर्नुपर्छ। किनकि उनी विश्वकै राम्रा खेलाडीमध्ये एक हुन्।’

तेस्रो वरीयताका स्विस खेलाडी स्टेन वावरेन्काले अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोर्टोविरुद्ध खेल्नेछन्।

महिलातर्फ विश्व नम्बर एक सेरेना विलियम्सले पाँचौं वरीयताकी सिमोन हेलेपसँग प्रतिस्पर्धा गर्नेछिन्। चेक गणतन्त्रकी दसौं वरीयताप्राप्त कारोलिना प्लिसकोभाले क्रोएसियाकी टिनएजर अना कोन्जुविरुद्ध खेल्नेछिन्। एनास्टासिजा सेभास्टोभाले कारोलिन वोज्नियाकीसँग प्रतिस्पर्धा गर्नेछिन्। १८ वर्षीया कोन्जुले चौथो वरीयताकी पोल्यान्डकी अग्निस्का राडावान्स्काविरुद्ध सनसनीपूर्ण जित निकालेकी थिइन्। २०१३ की युएस ओपनकी जुनियर विजेता कोन्जुले ६–४, ६–४ ले खेल जितेकी थिइन्।

प्रकाशित: २२ भाद्र २०७३ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App