coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हेलिकप्टरको माध्यमबाट जेल तोडेर फरार

तस्बिर : कुख्यात ग्याङस्टर रेडोइन फेड ।

पेरिस– फ्रान्सको राजधानी पेरिस क्षेत्रमा रहेको जेलबाट कुख्यात ग्याङस्टर हेलिकप्टरको माध्यमबाट भागेको फ्रान्सेली प्रशासनले जनाएको छ।

रेडोइन फेड नाम गरेका कुख्यात ग्याङस्टरलाई जेलबाट मुक्त गराउने क्रममा कैयौं हतियारधारी मानिसले जेलको प्रवेशद्वारमा अवरोध खडा गरेका थिए भने जेलको आँगनमा हेलिकप्टर अवतरण गराइएको थियो ।

फेडलाई लिएर नजिकैको गोनेस क्षेत्रतर्फ उडेको हेलिकप्टर स्थानीय प्रहरीले खोजी गर्दा जलेको अवस्थामा भेटेको बिबिसीले जनाएको छ । एक प्रहरी अधिकारीको हत्या हुने गरी गरिएको असफल लुटपाटको अभियोगमा ४६ वर्षीय फेड २५ वर्षको जेल सजायँ काटिरहेका थिए । जालीबाट सुरक्षित नगरिएको जेलको आँगनबाट फेड र उनका सहयोगीहरु घाइते नभइकनै जेल तोडेर भागेको फ्रान्सेली न्युज वेबसाइट युरोप वानलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

फेडको यो दोस्रो जेल बे्रक भएको बिबिसीले जनाएको छ । यसअघि उनले सन् २०१३ मा चार जना सुरक्षाकर्मीलाई मानव ढाल बनाउँदै र थुप्रै ढोका तोड्दै जेलबाट भागेका थिए । उत्तरी फ्रान्सको उक्त जेलमा ल्याइएको आधा घण्टाभन्दा पनि कम समयमा उनी जेल तोडेर फरार भएका थिए ।

पेरिसको अपराधले भरिएको नगर क्षेत्रमा आफू कसरी हुर्के र अपराधको जीवनम कसरी अब्बल भएँ भन्नेबारेको अनुभवसहितको एउटा पुस्तक सन् २००९ मा प्रकाशन गरेका थिए । उक्त पुस्तक निकाल्दा उनले अपराध जीवन छोडेको दाबी गरे पनि त्यसको एक वर्षपछि उनी असफल लुटपाटको घटनाम संलग्न भएका थिए ।

जसका लागि उनलाई सेइन–एट–मार्ने क्षेत्रको रेयू कारागारमा कैदी बनाइएको थियो । सन् १९७२ मा जन्मिएका फेड पेरिसको कुख्यात आपराधिक क्षेत्रमा हुर्किएका थिए । त्यहींबाटै उनले आपराधिक जीवन सुरु गरेको बिबिसीले जनाएको छ । ९० को दशमा फेडले सशस्त्र लुटपाटमा संलग्न हुने समूह सञ्चालन गरे र पेरिसमा जबर्जस्ती असुली गर्न थाले ।

सशस्त्र लुटपाटमा संलग्न भएको भन्दै सन् २००१ मा उनलाई ३० वर्ष कारावासको सजायँ सुनाइएको थियो । सन् २०१० मा एक महिला प्रहरीको हत्या हुने गरी भएको लुटपाट पनि फेडकै योजना बमोजिम भएको फ्रान्सेली प्रहरीले बताए पनि यस वर्षको अप्रिलमा मात्रै उनलाई जेल सजायँ तोकेको थियो ।

पहिले दोषी ठहर गरिएको अपराधको शर्त तोडेको आरोपमा उनलाई सन् २०११ मा पुनः जेल लगिएको थियो । सन् २०१३ मा उनले चार जना सुरक्षाकर्मीलाई मानव ढाल बनाउँदै उत्तरी फ्रान्सको सिक्वेडिन जेलबाट भागेका थिए । यद्यपी उनलाई छ सातापछि पुनः पक्राउ गरिएको थियो । सन् २०१३ मा जेल तोडेर भागेको आरोपमा गत वर्ष उनलाई १० वर्षको जेल सजायँ तोकिएको थियो ।
 

प्रकाशित: १८ असार २०७५ ०५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App