१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कमसल सामग्रीका कारण कालोपत्रे उक्कियो

झापा – कमसल सामग्रीका कारण झापाको अर्जुनधारा–८ र बुद्धशान्ति–२ अन्तर्गत रहेको चारपाने–नारायणचोक–हात्तीकिल्ला–जयपुर सडकमा गरिएको कालोपत्रे उक्किएपछि स्थानीय आक्रोशित भएका छन्।

कमसल सामग्रीको प्रयोग, कालोपत्रे गर्न आवश्यक तापक्रम विपरीत छिटो काम सक्ने बहानामा बिहान र रातिसम्म काम गरेका कारण सडक गुणस्तरहीन भएपछि आक्रोशित बनेका उनीहरुले ठेकेदार र निर्माणको जिम्मा लिएको सम्बन्धित निकायका प्रमुखविरुद्ध जिल्ला प्रशासन कार्यालयमार्फत अख्तियारमा उजुरी दिने बताए।

गतवर्ष असार २० गते सम्झौता भएको सो कामको जिम्मा संयुक्तरुपमा इलामस्थित गजुरमुखी र खनाल कन्स्ट्रक्सनले प्राप्त गरेका थिए। सडकमा देखिएको समस्याको विषयमा स्थानीयले गुनासो गरेपछि आफूले पटक–पटक ठेकेदार डिल्ली खनाल र जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर सुशील श्रेष्ठलाई जानकारी गराउँदा उनीहरुले बेवास्ता गरी स्थानीयको आँखामा छारो हाल्ने मात्र काम गरेको अर्जुनधारा–८ का वडाध्यक्ष गोपीचन्द्र गौतमले बताए।

त्यसैगरी बुद्धशान्ति–२का वडा सदस्य नेत्रप्रसाद गौतमले बिटुमिन अत्यधिक हिट भई अलकत्राले नपक्रेपछि अलकत्रा उक्किएको हुनसक्ने जिकिर गर्दै प्राविधिकरुपमा सो सडकमा गरिएको काम ठीक नभएको बताए।

यस विषयमा ठेकेदार खनालसँग बुझ्दा सम्पूर्ण काम मेशिनको प्रयोगबाट गर्ने क्रममा केही प्राविधिक कमजोरी र कमसल सामग्री प्रयोग भएका कारण त्यस्तो भएको उनी स्वीकार्छन् ।
यता जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर श्रेष्ठ पनि कमसल सामग्री प्रयोग भएको विषयमा ठेकेदार खनालको कुरामा सहमत छन्। उनी भन्छन्, ‘ढिलो गर्दा पनि चाँडो गर्नु भन्छन्, चाँडो गर्दा यस्तै हुन्छ।’

¥याप थ्रीअन्तर्गत आगामी असार २० गते सम्पन्न गर्नुपर्ने सो आयोजनाको जम्मा लागत पाँच करोड ६५ लाख २४ हजार उल्लेख गरिएको छ। स्टिमेटअनुसार जम्मा ६.३ किलोमिटर काम सम्पन्न हुनुपर्ने सो सडकको चौडाइ ६.७५ मिटर, दायाँ र बायाँ डेढ मिटरको भागमा २० एमएम र मध्य भागमा ३० एमएम थिक्नेस हुनुपर्नेछ।

हालसम्म ४.५ किलोमिटर मात्र काम सम्पन्न भएको सो सडकको चौडाई कहीँ ६.७५ मिटरभन्दा बढी र कहीँ कम छ। रासस

प्रकाशित: १८ असार २०७५ ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App