coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

देशबाहिरबाट देखिएको विश्वकप

नकआउट चरणमा प्रवेश गरेको विश्वकप फुटबलमा अहिलेसम्मको खेल हेर्दा यसपालिको विश्व विजेता टिमको आकलन गर्न फुटबलप्रेमी दर्शकहरूलाई कठिनाइ भए तापनि लगभग विगतको जस्तै तीन टिम प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। जुन पहिले पनि गर्थे। जस्तो– बेल्जियम, ब्राजिल, स्पेन आदि। यसबाहेक अहिलेसम्म प्रख्यात खेलाडीहरूले आफ्नो ख्यातिअनुरूप र फुटबलमा नाम चलेका देशहरूले आफ्नो नामअनुसारको खेल खेल्न भने सकेका छैनन्। यतिमात्र हैन कि गत विजेता जर्मनी मेक्सिको जस्तो टिमसँग हार्नु र अर्जेन्टिना वा क्रोएसियासँग शून्यका विरुद्ध तीन गोलले पराजीत भएको घटनालाई विश्वकप फुटबलको स्तरमा आएको गिरावट जिम्मेवार ठान्नुपर्छ।

अहिलेसम्मका धेरैजसो खेल पहिलो हाफमा निरस र दोस्रो हाफमा मात्र रोमाञ्चक देखिँदै आएका छन्। त्यसमा पनि निर्णायक गोलहरू खेलको अन्तिम क्षणमा नाम चलेका टिमहरूले गरेका पाइएको छ। यी सबबाहेक एशिया महाद्वीपबाट छनोट भएका देशहरूमा जापान, इरान र दक्षिण कोरियाले राम्रो खेल प्रदर्शन गरेका छन्। म इरानको खेलको विशेष प्रशंसा गर्न चाहन्छु किनभने स्पेन र पोर्चुगाल जस्ता टिमलाई यसले बराबरीको टक्कर दिएको थियो। स्मरण रहोस्, पोर्चुगाल सन् २०१६ को युरो च्याम्पियन र स्पेन सन् २०१० को विश्व विजेता अनि रियल मेड्रिड र एफसि बारसेलोना जस्ता क्लबबाट खेल्ने खेलाडीहरूले भरिएको टिम हो। यसबाहेक हामीले यो पनि बिर्सनुहुन्न कि इरान लामो समयदेखि पश्चिमा देशहरूबाट लगाइएको आर्थिक नकाबन्दीद्वारा पीडित देश पनि हो। यसबाट प्रष्ट हुन्छ कि राम्रो फुटबल खेल्न कुनै पनि देश धनी हुनैपर्छ भन्ने छैन। बरु यो खेलाडीहरूको इच्छाशक्तिमा निर्भर गर्ने कुरा हो भन्ने ज्वलन्त उदाहरण इरान बनेको छ।

विश्वकप हेर्ने अमेरिकी नजर
म यतिबेला अमेरिकामा बसेर विश्वकप फुटबल हेरिरहेको छु। फक्स नाम गरेको टेलिभिजनले यसको हरेक खेलको प्रत्यक्ष प्रशारण गरिरहेको छ। तर यहाँका पत्रपत्रिकाले जुन महत्वका साथ यो विश्वकपको समाचार प्रशारण गर्नुपर्ने हो, त्यो गरेका देखिँदैन। जब मेक्सिकोले अप्रत्याशितरूपबाट जर्मनीलाई पराजीत ग-यो, त्यसपछिमात्र यहाँका सञ्चारमाध्यमले अलि राम्रोसँग समाचार दिन थालेका हुन्।

यो विश्वकपलाई अमेरिकी सञ्चारमाध्यमहरूले साथ नदिनुका पछाडि दुईवटा कारण हुनुपर्छ भन्ने लाग्छ। सर्वप्रथम विश्वकप फुटबलमा जुन फुटबल खेलिन्छ त्यो फुटबल अमेरिकामा लोकप्रिय छैन र एकदम कम मात्रामा खेलिन्छ। दोस्रो, यो खेल रुसमा भइरहेको छ । रुस अमेरिकाको पुरानो प्रतिद्वन्द्वी त हुँदै हो, वर्तमान समयमा पनि यी दुई मुलुकबीचको सम्बन्ध त्यति राम्रो छैन। अमेरिकी राष्ट्रपतिको चुनावमा रुसले हस्तक्षेप गरेर डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आरोपमा यहाँका सञ्चारमाध्यम रुसप्रति आक्रोशित देखिन्छन्।

अर्को कारण, त्यसो त अमेरिकामा खुट्टाले खेल्ने जुन फुटबल छ त्यसलाई लोकप्रिय बनाउन बेलाबेलामा विभिन्न व्यक्तिले विभिन्न कदम चालेका पाइन्छ । तर त्यो अभियान अझसम्म त्यति सफल भएको देखिँदैन । सबभन्दा पहिले ब्राजिलका विश्वविख्यात खेलाडी पेलेले सन् १९७७ मा अमेरिकाको न्युयोर्कस्थित कसमस क्लबमार्फत यो अभियान चालेका थिए । मलाई थाहा छ कि उनले उक्त क्लबलाई लिएर त्यसबेला भारतको कलकत्ता सहरमा त्यहाँको प्रख्यात क्लब मोहन बगानसँग एउटा मैत्रीपूर्ण म्याच खेलेका थिए । त्यसबेला हामीले भारतको अलइन्डिया रेडियोबाट प्रशारित कमेन्ट्री सुनेका थियौँ । त्यो बेला मोहन बगानबाट नेपाली मूलका भारतीय खेलाडी श्याम थापाले राम्रो खेले प्रदर्शन गरेका थिए । उनको खेलको प्रशंसा पेलेले समेत गरेका समाचार त्यतिबेला बाहिर आएको थियो । मलाई अझ पनि के सम्झना छ भने त्यो खेलको कमेन्ट्री भन्ने व्यक्तिले कैयौँपटक कलकत्ताबासीहरू पेलेबाट उनको ख्यातिअनुरूपको खेल हेर्न खोजेका दोहो-याइरहेका थिए । तर पेलेले आफ्नो ख्यातिअनुरूप कलकत्तामा कसमसबाट खेल खेल्न भने सकेका थिएनन्।

सदाबहार म्याराडोना
अर्जेन्टिनाको अन्य देशहरूसँग भएका खेलहरूमा विश्वका विख्यात खेलाडी म्याराडोनाको दर्शकदीर्घामा भएको उपस्थितिले मलाई उनको सन् १९८६ र १९९० को विश्वकप खेल सम्झना गराउँछ। मैले त्यतिबेलाको जस्तो राम्रो र रोमाञ्चक तथा स्तरीय विश्वकप अहिलेसम्म हेरेको छैन । वर्तमान विश्वकपको कतिपय खेलहरूको पहिलो हाफ त ममात्र हैन, यहाँका धेरैजसो साथीहरूले पनि निद्रा लगाउनेखालको भन्दै टिप्पणी गर्ने गरेका छन्।

अन्त्यमा, म सन् २०१० मा पेन्सलभेनिया राज्यको वेथलम भन्ने सहरमा बस्दा एकजना स्कटल्यान्डका तर त्यतिबेला अमेरिकामा बसिरहेका एक फुटबलप्रेमीसँग प्रसंगवस फुटबलबारे कुरा गर्दा उनले भनेका थिए– ‘मैले जीवनमा पेले र म्याराडोना दुवैको धेरै खेल हेरेको छु तर व्यक्तिगत खेलाडीका रूपमा म्याराडोना पेलेभन्दा निकै अगाडि छन् भन्ने लाग्छ।’ यसबाट पनि थाहा हुन्छ कि म्याराडोना अहिले पनि उत्तिकै चर्चामा छन्, चाहे दर्शकका हिसाबले नै उपस्थित किन नहोउन्।

लेखक अमेरिकामा बसोबास गर्छन्।

प्रकाशित: १८ असार २०७५ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App