coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तरकारी लिन भारतीय गाडी

इलामको सूर्याेदय नगरपालिकास्थित बरबोटेमा भारतीय नम्बर प्लेटको गाडीमा इस्कुस लोड गरिँदै ।तस्बिर : भीम/नागरिक

इलाम - भारतीय व्यापारीले घरघरै आएर तरकारी किन्न थालेपछि जिल्लाको पूर्वी सीमावर्ती गाउँका किसान दंग छन् । भारतीय व्यापारी गाडी लिएरै तरकारीबारीसम्म आउन थालेपछि किसानलाई तरकारी बेच्न सहज हुँदैछ।

पशुपतिनगरको बाटो भएर अहिले फिक्कल, पशुपतिनगर, आइतबारेलगायत गाउँमा भारतीय व्यापारी आइरहेका छन् । उनीहरूले इस्कुस, मुला, आलु, साग, काँक्रालगायत तरकारी लोड गरी लैजान थालेका हुन्। पशुपतिनगरका किसान वीरभक्त श्रेष्ठले अहिले भारतीय गाडी आफूले खेती गरेको तरकारीबारीसम्मै आउन थालेको बताए । ‘यही ठाउँमा पहिला–पहिला हामीले फलाएको तरकारी कुहिएर जान्थ्यो,’ उनले भने, ‘अहिले सडक आएपछि आफूले तरकारी बेच्न धाउनै पर्दैन, अब त भारतीय नम्बरका गाडी यतै आउन थालेका छन् ।’

भारतको फाटक, सुकिया, मिरिक र घुमदेखिका व्यापारी नेपाली किसानले उत्पादन गरेको तरकारी लिन आउन थालेका हुन् । कहिले पिठ्युँमा बोकेर र कहिले सवारी साधनमा महँगो भाडा तिरेर भारतीय सीमावर्ती बजारमा तरकारी किन्न जाने किसानले उतैका व्यापारी आउन थालेपछि राहत पाएका छन् ।

आम्दानी गर्न व्यापार गर्ने, जागिर खानेजस्ता सपना धेरैले सजाउने गरेपनि तरकारी बेचेरै यी सपना पूरा गर्दैछन् पूर्वी इलामका किसान ।विशेषगरी सूर्याेदय नगरपालिकाका किसान व्यावसायिक तरकारीमा आत्मनिर्भर बन्दैछन् । केही वर्षअघिसम्म निर्वाहमुखी खेती गर्ने किसान गाउँमा यातायात सुविधा पुगेपछि व्यावसायिक बन्न थालेका हुन् । सूर्याेदय नगरपालिका–१२ का युवा त अन्य गाउँजस्तो न वैदेशिक रोजगारीमा गएका छन्, न उनीहरूले पैसा कमाउन अरू पेसा नै गर्नुपरेको छ । भएभरको जमिनमा तरकारी रोपेर उनीहरू वर्षको लाखौं रुपैयाँ आम्दानी गर्दैछन् । पहिला स्थानीय बजारमा आफ्नो उत्पादन बेच्ने किसान झापाका बजारसम्म आफ्ना उत्पादन पु¥याउँदै थिए । अहिले बारीबाटै तरकारी बेचेर भारतीय रुपैयाँ कमाउन थालेका छन् उनीहरू ।

भारतीय व्यापारीले यी गाउँबाट इस्कुस प्रतिकिलो एकदेखि २२, काँक्रा प्रतिगोटा ३० देखि डेढ सय, अकबरे खोर्सानी प्रतिकिलो डेढ सय र इस्कुसको मुन्टा प्रतिमुठा १५ देखि ४० रुपैयाँसम्ममा किनेर लैजाँदैछन् । किसानका अनुसार गुणस्तरीय उत्पादन भए तरकारीको बजार अब समस्या छैन ।

सूर्याेदय नगरपालिकाका किसान मित्र राई भन्छन्, अर्गानिक तरकारी उत्पादन गर्दा बिक्रीको समस्या छैन । तर, अरू तरकारी पनि नबिकेर उब्रिएको चाहिँ छैन ।’ उनले आफ्नो गाउँका धेरै युवा तरकारी खेतीकै लागि तल्लीन रहेको बताए । यहाँका युवा विदेश गएकै छैनन्,’ उनले भने, ुअन्य पेसा–व्यवसायी गरिरहेका युवा पनि पो तरकारी खेती गर्न गाउँ नै फर्किएका छन् ।’ मित्र राई आफैं पनि स्नातकोत्तर अध्ययन गरेका किसान हुन्।

चियाखेती, पशुपालन र अन्नखेती त छँदैछ, त्योभन्दा बढी किसानलाई तानेको हो यहाँको अर्गानिक तरकारी उत्पादनले । तरकारीको आम्दानीले आर्थिक अवस्था सुध्रिएपछि अन्नखेती क्रमसः घट्दो छ । गाउँमा अर्गानिक तरकारी खेती बर्सेनि विस्तार हुँदैछ ।

सूर्याेदय नपा–१२ का घरैपिच्छे किसानले अर्गानिक तरकारी खेती गरिरहेका छन् । आफ्नै बलबुतामा थालेको तरकारी खेतीबाट बर्सेनि लाखौं रूपैयाँ आम्दानी गर्ने किसान यहाँ धेरै छन् । इस्कुस बेचेर वर्षको चार लाख, काँक्राले तीन लाख, खोर्सानीले साढे तीन लाख कमाउने किसान यहाँ धेरै संख्यामा छन् । खेतीमा मेहनत गरेको देखेर सरकारी तथा गैरसरकारी निकायले पनि उनीहरूलाई सघाएका छन् ।

सामान्यतः भदौ–असोजमा उत्पादन हुने काँक्रा यहाँका किसानले वैशाखदेखि नै बजार पु¥याउँछन् । अहिले उनीहरूका लागि काँक्राको मुख्य सिजन नै भएको छ । ‘असार–साउनमा एक पटकमा दुईदेखि तीन सय वटासम्म काँक्रा बेच्छौं,’ स्थानीय मनोज ढकाल भन्छन्, ‘सुरुमा राम्रो दाममा बिक्छ, अलि पछि अलि सस्तोमा।’

काँक्रामा लाग्ने औंसे कीरा नियन्त्रणका लागि यहाँका किसानले सजिलो प्रविधि ‘फ्यारोमेन्ट ट्र्याप’ प्रयोग गर्ने गरेका छन् । यो मौसम औंसेकीराको प्रजनन समय भएकाले औंसे कीराको पोथीमा हुने ‘भालेआकर्षक’ गन्ध भएको रसायन बोत्तलमा राखिन्छ । त्यही बोत्तलमा ‘मालाथिन’ पनि राखिएको हुन्छ । पोथीको गन्धमा आकर्षित भएर आएको औंसे कीरा मालाथिनको गन्धले मर्छ र काँक्रामा कीरा नियन्त्रण हुन्छ । यो प्रविधि प्रयोग गर्न अत्यन्त सजिलो भएको मदनले बताए ।

यतिबेला अन्य ठाउँमा उत्पादन नहुने सिमी पनि उनीहरूको बारीमा छ । गोलभेंडा खेती गर्ने किसानको संख्या कम छैन । ‘तरकारी खेतीमा मिहेनत अलि बढी भएपनि आम्दानीमा चित्त दुखाउनुपर्दैन,’ किसान बीर्ख लिम्बूले भने, ‘तर, अर्गानिक तरकारी खेतीमा सरकारले पनि प्रोत्साहन चाहिँ गर्नुपर्छ ।’


 

प्रकाशित: १८ असार २०७५ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App