१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हाउजिङ र अपार्टमेन्टको आम्दानी साढे १२ प्रतिशत

काठमाडौं- हाउजिङ तथा अपार्टमेन्टमा गरेको लगानीको औसत वार्षिक प्रतिफल करिब साढे १२ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ।

काठमाडौं उपत्यकामा रहेका हाउजिङ तथा अपार्टमेन्टहरू विस्तृत अध्ययन गरेर तयार गरिएको अध्ययन प्रतिवेदन अनुसार भूकम्पछि हाउजिङतिर ग्राहकको रुचि बढेको छ ।हाउजिङ तथा अपार्टमेन्टबाट आउने वार्षिक प्रतिफलमध्ये रेन्टल आय औसत ३.२ प्रतिशत र प्रोपर्टीको मूल्यमा ९.५ प्रतिशतको वृद्धि भएको अध्ययनले देखाएको छ ।

यस क्षेत्रमा अध्ययन गरेका अन्तर्राष्ट्रिय रियल इस्टेट विज्ञ सोपोन पोर्नचोक्चाईको नेतृत्वमा बृहत् ग्रुपले तयार पारेको प्रतिवेदनमा अपार्टमेन्टभन्दा होचा घरहरूको मूल्य वृद्धि (प्राइस एप्रिसिएसन) अधिक भएको उल्लेख छ । भूकम्पअघि घरको भन्दा अपार्टमेन्टको मूल्य वृद्धि उत्साहजनक थियो । भूकम्पपछि छुट्टै घरहरुको मूल्यमा राम्रो सुधार आएको छ ।मुलुकमा तयार भएका सम्पूर्ण अपार्टमेन्ट तथा हाउजिङको कुल मूल्य आठ खर्ब २८ अर्ब ७६ करोड बराबर रहेको अध्ययनले देखाएको छ ।

हालसम्म बनेका पाँच हजार चार सय १९ आवास एकाइको कुल मूल्य झन्डै सबा आठ खर्बभन्दा माथि पुगेको हो । काठमाडौं उपत्यकाभित्र बिक्री हुन बाँकी आवासहरू धेरैजसो एकदेखि ढेड करोड मूल्यका छन् । उक्त मूल्यका अवासहरू ४० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।अध्ययनमा काठमाडौं उपत्यकाभित्र रहेकामध्ये ४३ आवास (हाउजिङ तथा अपार्टमेन्ट) परियोजनालाई समेटिएको छ । जसमा २०७२ वैशाखको भूकम्पअघिका २३ र भूकम्पपछि बनेका २० आवास परियोजनाहरुबाट अध्ययनको स्याम्पलिङ गरिएको बृहत् ग्रुपले जनाएको छ ।

कुल हाउजिङ र अपार्टमेन्टमध्ये हाल एक हजार ९० एकाइ बिक्री हुन बाँकी छन् । यसमध्ये पाँच सय ४१ एकाइ हाउजिङ (छुट्टाछुट्टै घर) हुन् । बाँकी अपार्टमेन्ट रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।तीन वर्षअघिको भूकम्पपछि अपार्टमेन्ट तथा हाउजिङ व्यवसाय ठप्पप्रायः भनिएको बेलामा उक्त अध्ययनले भने मासिक ३.१ प्रतिशतले बिक्री भइरहेको देखाएको छ ।

‘सरदर महिनामा कुल एकाइको ३.१ प्रतिशत एकाइ बिक्री भइरहेका छन्,’ अध्ययनले भनेको छ । यस अनुसार बिक्री हुँदा कुनै पनि नयाँ आवास परियोजना नआएमा बाँकी रहेका सम्पूर्ण आवास एकाइ अबको ६ देखि ७ महिनामा सकिने अध्ययनले देखाएको छ ।

हाउजिङ र अपार्टमेन्टको कुल मूल्य आठ खर्ब २८ अर्ब ७६ करोड
बिक्री हुन बाँकी एक हजार ९० एकाइ सात महिनाभित्र सकिने ।

हाउजिङको बजार अवस्थासम्बन्धी यो अध्ययन गत वर्ष चैत दोस्रो हप्ता गरिएको थियो । उक्त अवधिमा हाउजिङ कम्पनी तथा परियोजनाहरू, सम्बन्धित सरकारी निकाय अन्य सरोकारवाला संघ–संस्था तथा व्यक्तिहरु, उपभोक्ता लगायतसँग अध्ययन टोलीले प्रत्यक्ष भेटेर अध्ययन गरेको बृहत्ले जनाएको छ ।

उक्त अध्ययनमा प्रश्नावली तथा विभिन्न सर्वेका विधिको प्रयोग गरी जानकारी, तथ्यांक संकलन गरी प्रतिवेदन तयार गरिएको हो । यसबाहेक गत असार १ गतेदेखि राजधानीको भृकुटीमण्डपमा आयोजना भएको प्रोपर्टी एक्स्पो तथा सोही अवसरमा आयोजित दुईदिने हाउजिङ समिटका सहभागीबाट पनि आवश्यक सूचना संकलन गरिएका थियो ।नेपाल जग्गा तथा आवास विकास संघका अनुसार पछिल्लो समय यस क्षेत्रमा विश्वास बढ्दै गएको छ । यसमा जसरी लगानी वृद्धि हुँदै जानुपर्ने हो, त्यसरी वृद्धि भने हुन नसकेको संघको भनाइ छ ।

अब यस क्षेत्रमा लगानी गर्ने उपयुक्त समय भएको उनीहरूको भनाइ छ । बैंकहरू पनि उपयुक्त अवस्थामा लगानी गर्न आउने उनीहरूको विश्वास छ । व्यवसायीहरूले सरकारले भूमिसुधार ऐन २०२१ लाई संशोधन गर्नुपर्ने माग राख्दै आएका छन् । ५३ वर्षअघिको ऐन असाध्यै अव्यावहारिक भएको र यसलाई टेकेर अहिले कृषियोग्य जमिनको परिभाषा गरिएको उनीहरू गुनासो छ।

सरकारले चालु आर्थिक वर्ष ०७५-७६ देखि घरजग्गासम्बन्धी नयाँ नियम समेत ल्याएको छ । इजाजत प्राप्त कम्पनीबाट घरजग्गा कारोबार गर्ने भनेर बजेटमार्फत आएकाले कम्पनी अन्र्तगतको हुने व्यवसायलाई कसरी कारोबार गर्ने भन्ने विषयमा सरकारले स्पष्ट नीति ल्याउन आवश्यक रहेको व्यवसायीको भनाइ छ । कित्ताकाटको समस्या छिटो समाधान गर्न र छिटो नखोले सरकारले भूमिबाट अपेक्षा गरेको राजस्व झन् घट्ने व्यवसायीको भनाइ छ । औद्योगिक व्यवसाय ऐनले नै यसलाई उद्योगको रुपमा परिभाषित गरिसकेकोले अब यो व्यवसाय पुरानो अवस्थामा फर्कन लागेको व्यवसायीहरू भनाइ छ ।

प्रकाशित: १८ असार २०७५ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App