८ वैशाख २०८१ शनिबार
समाज

भुक्तानी नपाउँदा सकसमा ठेकेदार

रोल्पा - गृह मन्त्री रामबहादुर थापाले समयमा काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने प्रक्रिया चाल्दै गर्दा समयमा निर्माण सकेर पनि लामो समय सरकारबाट भुक्तानी नपाउने ठेकेदारको समस्याबारे सरकार मौन रहेको छ। पहाडी जिल्ला रोल्पामा समयमा काम सकाएर करोडांै रुपैयाँको भुक्तानी नपाएपछि उनीहरू आक्रोशित बनेका हुन्। काम नगर्ने ठेकेदारलाई कारबाही गर्छु भन्ने सरकारले काम गर्नेलाई भने भुक्तानी समेत नदिए पछि राज्यको चरित्रप्रति नै निर्माण व्यवसायी अस्पष्ट बनेका छन् । बजेट अभाव देखाउँदै सरकारले रकम पठाउन छोडेपछि जिल्लाका निर्माणथप निर्माण कार्य ठप्प हुने अबस्थामा पुगेको छ भने ठेकेदारहरू मर्कामा पर्न थालेका छन्।

करोडौं रकमको ठेक्का जिम्मा लिएका उनीहरूले आफ्नो लगानीमा ठूलो रकम खर्चेर सरकारी काम गरे पनि भुक्तानी भने पाएका छैनन्। विभिन्न भवन, पुल र सडकको जिम्मा लिएर निर्माण सकेका वा लाखाैं रकम बराबरको काम गरेका ठेकेदारहरू अब के हुने हो भन्ने अलमलमा देखिन्छन् । उनीहरू अलमलमा परेसँगै र धेरैजसो योजना रोकिएका छन्। बजेट अभाव भएसँगै वर्षात अगाडि सम्पन्न हुनुपर्ने योजना त झनै अलपत्रमा परेका छन्।

‘काम सकेको लामो समय भयो तर पैसा पाइएको छैन । हामीले काम ढिला गर्दा जरिबाना काट्ने सरकारले भुक्तानी नदिँदा जरिबाना तिर्न नपर्ने ? सरकारले भने कारबाही भोग्नु नपर्ने रे। कहिले कसो समयमा काम नसक्दा हामीले १० प्रतिशत फाइन तिर्र्छौं अब समयमा हामीलाई भुक्तानी नदिने सरकारले पनि हामीलाई हर्जाना तिर्नुपर्छ।’ लिवाङ, माडिचौर, घर्तिगाउ, जिनावाङ सडक खण्डअन्र्तगत काम गरेका निर्माण वयवसायी विश्वकुमार चन्दले भने । ‘अब अदालतमा मुद्दा गृहमन्त्रीलाई हाल्नुपर्छ।’

यसपाला रोल्पामा मात्रै विभिन्न ठेकेदारले करोडौं रुपैयाँ भुक्तानी पाउनुपर्नेछ तर काम सकेको लामो समयसम्म पनि उनीहरूले भुक्तानी नपाएको गुनासो गरेका छन्। ‘मैले पशु सेवा कार्यालयको भवन बनाएको एक वर्ष भयो तर ६१ लाख रुपैयाँ रकम अझै आएको छैन । सरकारले यस्ता विषयमा हेर्नुपर्छ।’ निर्माण व्यवसायी कृष्णप्रसाद चौलागाईले भने । ‘काम नगर्नेलाई कारबाही गर्ने तर काम गर्नेलाई पुरस्कृत पनि त हुनुप-यो नि।’

काम सकेका ठेकेदारलाई ठूलो मात्रामा रकम तिर्न पर्ने भएपछि सहरी विकास तथा भवन डिभिजन कार्यालय पनि यतिबेला तनाबमा छ। ‘विभिन्न भवनको करिब २० करोड भुक्तानी गर्न बाँकी छ तर माथिबाट पैसा आएको छैन। आउँछ भन्ने त छ । हेरौं आयो भने हामीले तुरुन्तै भुत्तानी दिइहाल्छाैं।’ सहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पाका प्रमुख ईश्वरराज जोशीले बताए। ‘समयमा निकासा नहुँदा समस्या परेको छ।’

उता जिल्ला स्थित निर्माण व्यवसायी संघ पनि सरकारसँग असन्तुष्ट छ। ‘विशेष परिस्थितिमा कहिलेकाहिँ हाम्रो कारणले काममा ढिलाइ भयो भने हामि संग १० प्रतिसत जरिमाना लिने तर काम सकेको लामो समय सम्म पनि भुक्तानी दिन नसकेपछि सरकार चुप लाग्ने । अब हामीले पनि क्षतिपूर्ति पाउनु पर्छ। भवनको मात्रै २० करोड बाँक िछ ।’ निर्माण व्यवसायी संघ रोल्पाका अध्यक्ष मानबहादुर खत्री भन्छन्। ‘कारबाही गर्न जान्नेले कारबाही भोग्न पनि सिक्नुपर्छ । काम सकियो, असार लागिसक्यो भुक्तानीको कुनै छाँटकाँट नै छैन । अब अरू थाहा छैन सरकारले हामीलाई क्षतिपूर्ति दिनैपर्छ।’

उता सडक डिभिजन कार्यालय चकचकेका प्रमुख सुरेश न्यौपाने पनि रकम नआएपछि आत्तिएका छन्। ‘म यसैका लागि विभागतिरै छु । आउँछ आउँछ भन्छन् । २९/३० गतेसम्म आउँछ कि? हाम्रो त झन् सडकमा करिब ३० करोड र पुलमा ८ करोड जति भुक्तानी दिनै बाँकी छ । समस्या ठूलै पो भयो। ठेकेदारहरू रन्थनिएका छन् । हामीले केही गर्न सकिँदैन,’ न्यौपानेले थपे, ‘डकुमेन्टनुसार मुद्दामा जाने हो भने उनीहरूले क्षतिपूर्ति पनि पाउन सक्छन् । तर कागजमा त्यो कुरा छ कि छैन त्यसले असर गर्छ।’ सञ्चालनमा आएको जिल्ला पशु सेवा कार्यालय भवन । यसको ठेकेदारले अझै भुक्तानी पाएका छैनन्।

प्रकाशित: १८ असार २०७५ ०२:१५ सोमबार

भुक्तानी नपाउँदा सकसमा ठेकेदार