१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निगमले अन्तिम किस्ता ८ अर्ब साउन ७ मा पठाउने

काठमाडौं - नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको दोस्रो जहाजको अन्तिम किस्तावापत आठ अर्ब रुपैयाँ आगामी साउन ७ गते पठाउने भएको छ । निगमले यो परिमाणबराबरको रकम सरकारी स्वामित्वको नागरिक लगानी कोषबाट ऋण लिएर पठाउने छ।

निगमले दुइटै वाइड बडी जहाजका लागि भनेर २०७४ असार ३ गते पहिलो किस्तावापत ८ अर्ब रुपैयाँ पठाएको थियो । त्यसपछि गत साता मंगलबार (असार १२ गते) दोस्रो किस्तावापत आठ अर्ब पठाएको थियो । त्यसपछि पहिलो वाइड बडी जहाज असार १४ मा काठमाडौं आएको थियो । निगमले दुई किस्तामा गरी १६ अर्ब रुपैयाँ पठाइसकेको छ ।

निगमलाई जहाज आपूर्ति गर्ने अमेरिकाको एएआर कर्पोरेसनले वाइड बडी जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले उपलब्ध गराउने सम्झौता गरेको छ । सोहीअनुसार पहिलो जहाजको सबै रकम पठाइएको थियो।

‘आगामी साउन ७ गते अन्तिम किस्तावापत आठ अर्ब रुपैयाँ पठाउँछौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले आइतबार नागरिकसँग भने, ‘पैसा पठाएको दुई दिनपछि साउन ९ गते हाम्रो दोस्रो वाइड बडी जहाज काठमाडौं आइपुग्ने छ ।’

निगमले पैसा पठाएको हाइफ्लाई त्यही कम्पनी हो, जसले अमेरिकी कम्पनी एएआर कर्पोरेसनमार्फत जहाज बेच्न प्रस्ताव गरेको थियो । एएआरले निगमको ग्लोबल टेन्डर जितेर खरिद सम्झौता गरेको थियो । असार १२ मा निगमले पठाएको रकम हाइफ्लाई एक्स र एएआरको आयरल्यान्डस्थित संयुक्त (एस्क्रो) खातामा गएको छ । अन्तिम किस्ता रकम पनि त्यही खातामा पठाइने छ।

‘पहिलो किस्तामा पठाएको आठ अर्ब कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट आधाआधा लिइएको हो र दोस्रो किस्ताको आठ अर्ब सञ्चय कोषबाट लिएका थियौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘अबको अन्तिम किस्ता आठ अर्ब रुपैयाँ सबै नागरिक लगानी कोषबाट लिने छौं । दुवै संस्थासँग १२–१२ अर्ब रुपैयाँबराबरको ऋण सम्झौता यसअघि नै भएको थियो ।’

निगमले साउन ल्याउने वाइड बडी जहाजको कलसाइन भने लिइसकेको छैन । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको पहिलो वाइड बडीलाई ‘९एन–एएलवाई’ कलसाइन दिएको छ भने निगमले उक्त जहाजलाई ‘अन्नपूर्ण’ नाम दिएको छ ।निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित दुई सय ७४ सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजको वाइड बडी जहाज दुईथान खरिद सम्झौता गरेको हो । यसमा १८ बिजनेस क्लास र दुई सय ५६ इकोनोमी क्लास सिट छन् ।

पहिलो वाइड बडी जहाजलाई हाइफ्लाई एक्सकै पाइलटले उडाएर काठमाडौं ल्याएका थिए भने दोस्रोलाई पनि उनीहरूले नै ल्याउने निगमले जनाएको छ । फ्रान्सको टुलुसस्थित एयरबसको कारखानाबाट जहाज सिधै काठमाडौं आउने छ । त्यहाँबाट यहाँ आइपुग्न नौ घन्टा लाग्छ ।एउटा वाइड बडी जहाजलाई पूर्णक्षमतामा उडाउन सात सेट (१४ जना) पाइलट चाहिन्छ । निगमले भने हालसम्म महेश्वरमान (एमएम) डंगोल र श्रवण रिजालसहित ६ जना पाइलट तयार पारेको छ । ती ६ जनाले अहिले नै वाइड बडी कमान्ड गरेर उडाउन भने पाउँदैनन् । केही सय घन्टासम्म कमान्डर (क्याप्टेन) सँग फस्र्ट अफिसर (कोपाइलट) भएर उडेपछि मात्र क्याप्टेनका रूपमा जहाज कमान्ड गरेर उडाउन पाइन्छ ।

पहिलो वाइड बडीलाई आगामी साउन १६ गतेबाट नियमित व्यापारिक उडानमा प्रयोग गर्ने योजना निगमको योजना छ । ‘पहिलो वाइड बडीको पहिलो उडान कतारको दोहाका लागि हुने छ,’ प्रवक्ता श्रेष्ठले भने ।
निगमका एक अधिकारीका अनुसार निगमलाई जहाज बेच्ने ग्लोबल टेन्डर जितेको अमेरिकी उड्डयन सहयोग कम्पनी एएआर कर्पोरेसन, पोर्चुगलको हाइफ्लाई एयरलाइन्स र जर्मन क्यापिटलको सहवित्तीयकरणमा खडा भएको कम्पनी ‘हाइफ्लाई एक्स’ को नाममा पहिलो किस्तावापत आठ अर्ब रुपैयाँ पठाइएको थियो । हाइफ्लाईले त्यही रकम एयरबसलाई पठाएर दुइटा ए३३० खरिद अर्डर गरेको थियो ।

निगमले दुईथान वाइड बडी जहाज खरिद गर्न आवश्यक २४ अर्ब रुपैयाँमध्ये १२ अर्ब सञ्चय कोष र बाँकी १२ अर्ब नागरिक लगानी कोषसँग लिन ऋण सम्झौता गरेको थियो । सरकारले २०७४ वैशाख ७ गते वायुसेवा निगमले खरिद गर्ने दुईथान वाइड बडी जहाजलाई आवश्यक करिब २५ अर्ब रुपैयाँमा जमानी बस्ने निर्णय गरेको थियो ।
निगमले एएआर कर्पोरेसनसँग २०७३ चैत २५ गते काठमाडौंमा दुइटा वाइड बडी किन्ने सम्झौता गरेको थियो । सम्झौताअुनसार दुई जहाजको मूल्य २० करोड ९६ लाख डलर (त्यसबेलाको २१ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ) पर्ने थियो । यस हिसाबले सञ्चय कोष र लगानी कोष प्रत्येकको भागमा १० करोड ४८ लाख डलर परेको छ ।

‘वाइड बडी जहाजको पहिलो लामो दुरी (लङ हल) को उडान जापान वा दक्षिण कोरियामध्ये एउटामा हुने छ,’ निगम प्रवक्ता श्रेष्ठले भने, ‘यसका लागि तीनदेखि चार महिनासम्म छोटो दुरी (सर्ट हल) का दोहा, दुबई, मेलेसिया, हङकङ, बैंकक, नयाँदिल्ली, मुम्बई र बैंगलोर उडान गर्ने छौं ।’

प्रकाशित: १८ असार २०७५ ०१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App