७ वैशाख २०८१ शुक्रबार
कला

सोनाक्षीको पिता भनिइदा बढी खुसी लाग्छ :  सत्रुध्न सिन्हा

काठमाडौं- काठमाडौंका सिनेमा हलमा अहिले सोनाक्षी सिन्हा अभिनित 'अकिरा' फिल्म चलिरहेको छ। सन २०१० मा बलिउड नामले चिनिने हिन्दी फिल्म जगतमा प्रवेश गरेकी 'दबंग' नायिका सोनाक्षी सन १९६९ मा बलिउडमा डेब्यू गरेका 'विश्वनाथ' उपनामले प्रसिद्ध अभिनेता शत्रुघ्न सिन्हाकी छोरी हुन्।

युवा पिँढीले शत्रुघ्नलाई सोनाक्षीका पिताका रुपमा चिन्छन् भने हिन्दी फिल्मका पाका पारखीले सोनाक्षीलाई शत्रुघ्नको छोरीका रुपमा चिन्छन्।  स्वयं शत्रुघ्न आफूलाई कसरी चिनाउन मन पराउँछन् त?

'म पनि अन्य पिताजस्तै सन्तानको नामबाट चिनिन पाउँदा गौरवान्वित महसुस गर्छु,' बुधबार हुने एलजी सिने अवार्डमा भाग लिन मंगलबार राजधानी ओर्लिएका चर्चित बलिउड कलाकार शत्रुघ्नले हाँस्दै भने, 'सोनाक्षी अहिले त्यही बाटोमा लम्किरहेकी छन्।'

'जलीको आग कहते हैं, बुझीको राख कहते हैं, जिस राखसे बारुद निकले उसे विश्वनाथ कहते हैं' कुनै बेला निकै लोकप्रिय यो संवाद हिन्दी फिल्म विश्वनाथका नायक शत्रुघ्न सिन्हा मंगलबार दिउँसो ४ बजेतिर 'खामोस्' भन्दै त्रिभुवन विमानस्थलको पत्रकार सम्मेलनमा सहभागी भए। उनले सुरुका केही मिनेट नेपाल आउनुको उद्देश्य, नेपालको सुन्दरता र आफ्नो आत्मकथाबारे बताए। 'सटगन'का नामले समेत परिचित शत्रुघ्नले त्यसपछि पत्रकारका प्रश्नको गोलीका पर्रा छुटेजस्तै पररर जबाफ दिए। उनको आवाज गोली चलेजस्तै प्रभावशाली भएकाले उनलाई बलिउडमा सटगनको नामले पनि बोलाइन्छ।

बुलन्द आवाज र मस्त चालबाट चर्चित शत्रुघ्नले विमानस्थल प्रवेशका क्रममा आफ्नो चाल र चिरपरिचित मुस्कानले सबैलाई प्रभावित पारे। उनले  विमानस्थलमा पत्रकारका प्रश्नको सटीक जबाफ दिए।

अभिनेताको पारीसँगै राजनेताको पारीसमेत खेलेका सिन्हाले असल मानिस राजनीतिमा नलागे खराब मानिसले देश चलाउँछन् भन्दै युवालाई राजनीतिमा प्रवेश गर्न सुझाए। नेपाली फिल्ममा अभिनय गर्ने अवसर नपाए पनि नेपालीसँग काम गर्ने अवसर पाएको भन्दै उनले आफूलाई नेपाल औधी मनपर्ने बताए।

बलिउडका 'कालीचरन'ले पशुपतिनाथ र नेपालको तारिफ गर्न कन्जुस्याइँ गरेनन्। बिहारको एउटा सामान्य परिवारबाट हिन्दी सिनेमा र राजनीतिमा उच्च स्थान बनाएका शत्रुघ्नले मेहनत गरे सफलताले कदम चुम्ने बताए। नेपालीको नम्र स्वभावबाट आफू प्रभावित भएको सुनाउँदै नेपाल आफूलाई औधी मनपर्ने  उल्लेख गर्न बिर्सेनन्। गत वर्ष भूकम्पपछि उनले नेपालको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भूकम्पपीडितलाई सहयोग गर्नुपर्ने आवाज उठाएका थिए।

बलिउडमा चार दशक बिताएका शत्रुघ्नका 'विश्वनाथ', 'रामपुर का लक्ष्मण', 'कालीचरण', 'दोस्ताना', 'काला पत्थर', 'शान' र 'नसीब' चर्चित सिनेमा हुन्। त्यस्तै 'क्रान्ति', 'वक्त की दीवार', 'नरम–गरम', 'कयामत', 'चोर–पुलिस', 'माटी माँगे खून', र 'खुदगर्ज'लगायत उनका राम्रा सिनेमा हुन्।

 

प्रकाशित: २२ भाद्र २०७३ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App