coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मेसी र रोेनाल्डोको पुस्ता घरतर्फ

काठमाडौंं–विश्व फुटबलका महान् खेलाडीद्वय पेले र म्याराडोनाको पुस्तापछि त्यो उचाइमा अन्य खेलाडीको नाम आएको छैन । तर अहिले बहस तीव्र बनेको छ, वर्तमानका महान् खेलाडी को हुन् ? लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो वा दुवै।

दक्षिण अमेरिकी फुटबललाई माया गर्ने, अझ भनौं स्पेनिस क्लब बार्सिलोनालाई पछ्याउनेहरूका लागि मेसी विश्वकै उत्कृष्ट खेलाडी लाग्न सक्छ्न । त्यस्तै युरोपेली फुलबल मन पराउने र रियाल मड्रिडलाई पछ्याउनेहरूका लागि भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो मेसीभन्दा अब्बल दरिन सक्छन् । दुवैका दाबी आआफ्नै ठाउँमा सही छन् । वर्षैपिच्छे विश्वकै सर्वोत्कृष्ट खेलाडीलाई प्रदान गरिने ‘बालोन डी अर’ अवार्डको विगत हेर्ने हो भने समर्थकका तर्कमा खोट लगाउन मिल्दैन ।

पछिल्ले १० वर्ष रोनाल्डो र मेसीबाहेक अन्यको नाम त्यहाँ भेट्टाउन सकिँदैन । मेसी र रोनाल्डोबीचको व्यक्तिगत सम्बन्ध आफ्नै ठाउँमा होला तर, दुवैका समर्थकले एकअर्काको कटु आलोचना गर्छन् । समर्थक मात्र होइन विश्वकै सञ्चारमाध्यले पनि दुई खेलाडीबीच उत्कृष्टताको होडमा थप मसला थपिदिएका छन् । यी दुई खेलाडीबीचको होडमा अन्य खेलाडी भने छायामा परेका छन्।


क्लब फुटबलमा मेसी र रोनाल्डोले जुन जादु देखाउने गर्छन्, अन्तर्राष्ट्रिय प्रतियोगितामा भने दुवै असफल देखिन्छन् । व्यावसायिक फुटबलमा मेसी र रोनाल्डोले जुन वाहवाही पाउँछन्, अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रदर्शनमा भने दुवैले चर्को आलोचना खेप्ने गर्छन् । भलै रोनाल्डोले दुई वर्षअघि फ्रान्समा युरोपियन च्याम्पियनसिपको उपाधि उचालेर आफूमाथिको दबाब कम गरेका छन् ।

दुई साताअघिदेखि रूसमा फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप चलिरहेको छ । विश्वकपमा ३२ राष्ट्रका ७ सय ३६ खेलाडीले आफूलाई सिद्ध गर्ने प्रयास गरे र गरिरहेका छन् । प्रतियोगिता जुन १५ जुलाईसम्म चलिरहनेछ । आइतबार रातिसम्म (समूहचरणबाट १६ र नकआउट चरणबाट ४ गरी) २० टोलीका ४ सय ६० खेलाडी प्रतियोगिताबाट घर फर्किसकेका छन् ।

त्यही हूलमा विश्वकपको उपाधि उचाल्दै महान् खेलाडीको पगरी गुथ्न रूस पुगेका मेसी र रोनाल्डोले पनि शनिबार घर फर्कने टिकट पक्का गरिसकेका छन् । मेसी र रोनाल्डो मात्र होइन, साबिक विजेता जर्मनी र इजिप्ट समूह चरणबाट बाहिरिँदा थोमस मुलर, टोनी क्रुस र मोहम्मद सालाहजस्ता उत्कृष्ट खेलाडीले पनि रूस भ्रमण टुंग्याइसकेका छन् ।विगत एक दशक विश्व फुटबलमा आफ्नो दबदबा कायम राख्न सफल मेसी र रोनाल्डो बाहिरिए पनि विश्वकपबाट किलियन एमबाप्पे, गाब्रियल जिसस, ह्यारी केनजस्ता अन्य युवा खेलाडी उदाउने निश्चित छ । रूस विश्वकपमा अहिलेसम्म हेर्दा अबको फुटबल रोनाल्डो र मेसीको पुस्ताबाट नयाँ पुस्तामा स्थानान्तरण हुने सन्देश दिएको छ ।

गत संस्करणको विजेता जर्मनी र उपविजेता अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिसकेका थिए । यस्तो अवस्थमा फुटबलको उर्वर भूमि युरोप र दक्षिण अमेरिकाका च्याम्पियनले रूसमा लामो यात्रा तय गर्न सकेनन् । दक्षिण अमेरिकाको कोपा अमेरिका विजेता चिली छनोट हुन असफल भयो भने युरोपियन च्याम्पियन पोर्चुगल पनि अन्तिम १६ बाट घर फर्कियो । पछिल्लो समय विश्वकप फुटबल अफ्रिकी खेलाडीको दबदबा बढिरहेको छ । तर अफ्रिका महादेशका कुनै पनि टोलीले दोस्रो चरणमा स्थान बनाउन सकेनन् । एसियाबाट भाग्यवश जापानले दोस्रो चरणमा पाइला टेकेको छ।

वर्षभर क्लब फुटबलमा रियाल र बार्सिलोनाबीचको प्रतिद्वन्द्वितालाई नजिकबाट हेरेका र आफंै संलग्न भएका समर्थकहरूको ठूलो जमात भने विश्वकपबाट मेसीको अर्जेन्टिना र रोनाल्डोको पोर्चुगल शनिबार अन्तिम १६ बाट बाहिरिएपछि निराश बनेका छन् । समाजिक सञ्जालमा एकअर्कालाई महान् खेलाडीको पगरी गुथाउन छेडछाड र जुहारी चलाउने ती समर्थक अहिले मौन छन् । सामाजिक सञ्जालका भित्ता नियाल्दा लाग्छ कि विश्वकपको रौनक सकिसक्यो । धन्न नेइमार उनको टोली ब्राजिल, स्पेन, इङ्ल्यान्ड र बेल्जियमजस्ता टोलीको उपस्थितिले केही चलायमान भने भइरहेको छ ।

पोर्चुगललाई विश्वकपको अन्तिम १६ सम्म पु¥याउन क्रिस्टियानो रोनाल्डोको भूमिका प्रमुख बन्यो । पहिलो खेलमा ह्याट्रिक पूरा गरेका रोनाल्डोले दोस्रो खेलमा अर्को गोल थपे । आइसल्यान्डविरुद्धको पहिलो खेलमा पेनाल्टीमा गोल गर्न चुके पनि मेसीले महŒवपूर्ण अन्तिम खेलमा गोल गर्दै टोलीलाई दोस्रो चरणसम्म डो¥याए । तर दुवैले शनिबार आफ्नो टोलीलाई अन्तिम १६ माथिको यात्रा गराउन सकेनन् । मेसीले पहिलो खेलमा पेनाल्टी गुमाएजस्तै रोनाल्डो पनि इरानविरुद्ध पेनाल्टीमा गोल गर्न चुके । मेसीको अर्जेन्टिना फ्रान्ससँग २–१ को अग्रता लिएर पनि ४–३ ले पराजित भयो भने रोनाल्डोको पोर्चुगलले उरुग्वेलाई २–१ को नतिजा सुम्पियो । ४ खेलमा रोनाल्डोले ४ गोल गरे भने मेसीले एक गोल गरे । यससँगै करियरको उत्तरार्धमा रहेका मेसी र रोनाल्डोको विश्वकप जित्ने सम्भावना पनि लगभग समाप्त भएको छ।

जर्मनीका थोमस मुलरले विश्वकपमा धेरै गोल गर्ने आफ्नै देशका मिरोस्लाभ क्लोज (१६ गोल) को कीर्तिमान तोड्ने अनुमान गरिएको थियो । बायर्न म्युनिखका फरवार्ड मुलरले २०१० मा ५ र २०१४ मा ५ गरी विश्वकपमा १० गोल गरिसकेका छन् । साबिक विजेता जर्मनीलाई रूसमा पनि प्रमुख दाबेदारका रूपमा हेरिएको थियो । जर्मनीले फाइनलसम्मको यात्रा तय गर्दा मुलरले क्लोजको कर्तिमान तोड्ने अनुमान गरिएको थियो । तर पहिलो खेलमा मेक्सिकोसँग १–० हारेको जर्मनीले दोस्रो खेलमा स्विडेनलाई २–१ ले हराउँदै दोस्रो चरण पुग्ने सम्भावना जीवित बनाएको थियो । तर जित्नै पर्ने अन्तिम खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध बनेपछि जर्मनी प्रतियोगिताबाट बाहिरियो । यससँगै मुलर बिनागोल घर फर्किए ।

लिभरपुलबाट उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई च्याम्पियन्स लिगको फाइनलसम्म पु¥याएका सालाहबाट पनि समर्थकले विश्वकपमा ठूलो आशा गरेका थिए । तर, पहिलो खेलमा फिटनेसको कारण देखाउँदै प्रशिक्षक हेक्टर कुपरले सालाहलाई बेन्चमा राखिदिएपछि उनलाई नै हेर्न रंगशाला पुगेका समर्थक निराश बनेका थिए । च्याम्पियन्स लिगको फाइनलमा कुममा चोट बोकेका सालाहकै प्रदर्शनमा इजिप्टले रूससम्मको यात्रा गरे पनि विश्वकपमा अफ्रिकी टोलीले त्यही प्रदर्शनलाई निरन्तरता दिन सकेन ।

समूह एु को पहिलो खेलमा उरुग्वेसँग १–० ले पराजित भएको इजिप्ट दोस्रो खेलमा आयोजक रूससँग ३–१ ले हार्यो । अन्तिम खेलमा साउदी अरेबियालाई २–१ को नतिजा सुम्पिएपछि इजिप्ट प्रतियोगिताबाट बाहिरियो । इजिप्टले प्रतियोगितामा गरेका दुवै गोल सालाहको नाममा रहे पनि उनको प्रदर्शनले समर्थकलाई निराश बनायो ।

प्रकाशित: १८ असार २०७५ ००:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App