७ वैशाख २०८१ शुक्रबार
खेल

उपाधि दाबेदार स्पेन विश्वकपबाट बाहिरियो, पेनाल्टी सुटआउटमा रूस भाग्यमानी

रूस – २०१० को विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ ले पाखा लगाउदै आयोजक राष्ट्र रूस विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

समारा एरिना रंगशालामा आइतबार सम्पन्न प्रि क्वाटरफाइनलको तेस्रो खेलमा निर्धारित र अतिरिक्त ३० मिनेटकाे समयमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

पेनाल्टी सुटआउटमा रूसले ४ गोल गर्दा स्पेनले ३ मात्र गोलमात्र गर्न सक्यो। रूसका कप्तान तथा गोलकिपर इगोर आकिनफिभले स्पेनका कोकेले प्रहार गरेको तेस्रो तथा आसपासले प्रहार गरेको पाँचौं पेनाल्टी विफल पारेका थिए।

रूसका फेदुर स्मोलोभ, सेर्गी इग्नासेभिच,एलेक्जेन्डर गोलोभिन र डेनिस चेरिसेभले गोल गरे। स्पेनका आन्द्रियास इनियस्टा, जेरार्ड पिके र कप्तान सर्जियो रामोसले मात्र बललाई जाली चुमाउन सफल भए। यससँगै रूस सोभियत युगको अन्त्यपछि पहिलो पटक प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ।

 विश्वकपका पछिल्ला संस्करणमा आयोजकले नकआउट चरणमा भएको पेनाल्टी सुटआउटमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन्। यसअघि १९९८ मा फ्रान्सले इटाली, २००२ मा दक्षिण कोरियाले स्पेन, २००६ मा जर्मनीले अर्जेन्टिना र २०१४ मा ब्राजिलले चिलीलाई पराजित गरेका थिए।

प्रतियोगिता सुरु हुन एक दिनअघि युलेन लोप्तेगी बर्खास्तगीमा परेपछि स्पेन नयाँ प्रशिक्षक फर्नान्डो हायरोको प्रशिक्षणमा प्रतियोगितामा होमिएको थियो । २०१० को विजेता स्पेन २०१४ को विश्वकपमा भने समूहचरणबाटै बाहिरिएको थियो ।

यसअघि १२औं मिनेटमा रूसका सेर्गी इग्नासेभिचले गरेको आत्मघाती गोलमा स्पेनले अग्रता लिएको थियो। मार्को असेन्सियोले प्रहार गरेको फ्रि–किकले इग्नासेभिचलाई छुँदै पोस्टको दिशा लिएको थियो। मध्यान्तर हुन ४ मिनेट बाँकी हुँदा स्ट्राइकर आर्टेम जयुवाले गरेको पेनाल्टी गोलमा रूस खेलमा फर्किएको थियो। स्पेनका रक्षक जेरार्ड पिकेले पेनाल्टी बक्सका हातले बल छोएपछि रूसले पेनाल्टीको अवसर पाएको थियो।

यससँगै जयुवा सोभियत युगको अन्त्यपछि रूसका लागि विश्वकप नकआउट चरणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। यसअघि १९८६ मा रूसका इगोर बेनालोभले बेल्जियमलाई ४–३ को नतिजा सुम्पिँदा ह्याट्रिक गरेका थिए।

रक्षात्मक र काउन्टर अट्याकको रणनीतिमा उत्रिएको रूसलाई अधिकांश समय नियन्त्रणमा राखेको स्पेनले गोल भने गर्न सकेन। ५१औं मिनेटमा डिएगो कोस्टाले कोकेको फ्रि–किकमा गरेको हेड पोस्टनजिकैबाट बाहिरिँदा स्पेनले अग्रता लिने अवसर गुमाएको थियो। यसै प्रतियोगिताबाट फिफाले बनाएको ४ खेलाडी परिवर्तन गर्न पाउने नियमको प्रयोग दुवै टोलीले गरेका थिए।

 

प्रकाशित: १७ असार २०७५ १७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App