coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘मभित्रको धैर्य नै मेरो शक्ति’

रंगमञ्च हुँदै फिल्ममा प्रवेश गरेका अभिनेता हुन्– नाजिर हुसेन । रंगमञ्चमा उनको नाटक हेर्न पुग्नेहरू उनलाई ‘अभिनयको जादुगर’ भनेर टिप्पणीसमेत गर्ने गर्छन् । उनले अभिनय गरेका नाटक ‘माथा पन्चर’, ‘डिग्री माइला’, ‘चरनदास चोर’, ‘कुरुप हाँस’ रुचाइए । ‘होस्टेल रिटर्न्स’, ‘जंगे’, ‘वीर विक्रम’, ‘गाँठो’, ‘राज्जारानी’, ‘तिमीसँग’ आदि फिल्ममा उनको अभिनय छ ।  

तपार्इं अभिनेता नबनेको भए के बन्नुहुन्थ्यो ? 

सायद म टिचर हुन्थे होला किनभने काठमाडौं आउनु अघि म गाउँ (बारा) कै स्कुलमा पढाउँथे । 

अभिनेता भइसकेपछि के कुरालाई तपार्इंं सबैभन्दा बढी ‘मिस’ गर्नुहुन्छ ?

पर्सनल लाइफ त हो नि  । पब्लिक फिगर भएकै कारण कहिलेकाहीँ खुलेर प्रस्तुत हुन पाइँदैन, जताततै घुलमिल हुन पाइँदैन ।

तपाईंको पहिलो जागिर र तलब कति थियो ?

टिचिङ गरेर १६ सय पाएको थिएँ । 

जीवनको कुनै यस्तो दिन, जसलाई तपाईं फेरि जिउन चाहनुहुन्छ ?

मिल्ने भए मेरो आमाको अन्तिम जन्मदिन फेरि मनाउन पाए हुन्थ्यो भन्ने लाग्छ । त्यतिबेला एकदमै रमाइलो भएको थियो । मैले आमालाई जबरजस्ती बर्थडे केक काटिदिएको थिएँ । अहिले आमा मसँग हुनुहुन्न, स्वर्गमा बास भैसक्यो ।  

मनोरञ्जन क्षेत्रको कुन कुरा तपाईंंलाई सबैभन्दा बढी मन पर्छ ?

दर्शकलाई रमाइलो गराउन पाइन्छ, खुसी बनाउन पाइन्छ जुन मलाई सबैभन्दा बढी मनपर्छ । 

के कुराले तपार्इंलाई बढी चित्त दुख्छ ?

धेरै फेक मान्छेहरु भेटिँदा चित्त दुख्छ । दोहोरो चरित्र भएको मान्छेहरु बढी भेटिन्छन् । इमानदार मान्छे भेट्न गाह्रो छ यहाँ ।  

तपाईंको अगाडि साँच्चिकै भूत प्रकट भयो भने के गर्नुहुन्छ ?

म त एकदमै डरपोक मान्छे हो त्यसैले पक्का भाग्छु । 

कुनै दिन देशको प्रधानमन्त्री बन्नुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?

त्यहाँसम्म पुग्ने त मैले सपना पनि देखेको छैन । तर सायद प्रधानमन्त्री भएँ भने सबैभन्दा पहिला देशका सबै जनता खुसी हुने एउटा कुरा पहिल्याउनतिर लाग्थे होला । अनि त्यो पूरा गरेपछि मात्र बाँकी विकासका काममा लाग्थे । 

कस्तो कुराले तपाईंलाई बढी खुसी बनाउँछ ? 

म स–सानो कुरामा खुसी भइरहेको हुन्छु । लामो समयदेखि भेट नभएको मिल्ने साथी अचानक भेटियो भने खुसी हुन्छु ।  मनमा जे सोचिरहेको हुन्छ त्यही पूरा भइदियो भने अचाक्ली खुसी लाग्छ । कहिलेकाहीँ यत्तिकै पुस्तक पढिरहँदा पनि रमाइरहेको हुन्छु । 

के देख्दा दुःख लाग्छ ? 

मान्छेहरुको गरिबी देख्दा दुःख लाग्छ । 

केटीहरुले प्रेम प्रस्ताव राख्दा कस्तो लाग्छ ? 

सुरुसुरुमा त लाज लाग्थ्यो तर अहिले त्यस्तो लाग्दैन । फ्यानहरुले मलाई भन्दा पनि ‘कलाकार नाजिर’लाई मन पराएको भन्ने लाग्छ । त्यसैले ‘आइ लभ यू’ भन्नेलाई ‘आइ लभ यू टु’ भन्दिन्छु । 

तपाईंको गोप्य कुरा जो दर्शकलाई थाहा छैन ? 

म एकदमै घमण्डी छु । केही कुरा मन परेन या केही कुरा चाहियो भने घमण्डी रुप देखा परिहाल्छ । अर्को म भान्सा प्रेमी पनि हो । खान मन लागेको कुरा पकाउन एकदमै जाँगर लाग्छ ।  

तपाईंले चाहेको तर गर्न नसकेको कुनै अधुरो काम ? 

एकचोटी ठमेलमा हलिउड मुभीको अडिसन थियो तर पाँच मिनेट ढिला हुँदा म त्यहाँ भाग लिन पाइनँ ।  त्यतिबेला मेरो ‘माथा पञ्चर’ नाटक मञ्चन भइरहेको थियो । मलाई ६ बजेसम्म आइपुग्नु भनिएको थियो । मैले नाटक सकिएपछि ६ बजेर ५ मिनेटमा कल गर्दा  ‘टाइम ओभर’ भनियो । एकदमै रुन मन लाग्यो ।

तपार्इंको कमजोरी के हो ? 

म मान्छेलाई एकदमै चाँडै विश्वास गर्छु, चाँडै भावुक भइहाल्छु । कहिलेकाहीँ यही कमजोरी भइदिन्छ । 

आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ ? 

मभित्रको धैर्यता नै मेरो शक्ति हो । मलाई हतार कहिल्यै हुँदैन । 

आफूलाई नै मन पर्ने आफ्नो बानी ? 

देखावटीभन्दा यथार्थमा रमाउने मेरो बानी मलाई मन पर्छ । 

आफ्नो मन नपर्ने बानी ? 

कहिलेकाहीँ झनक्क रिसाउँछु जुन राम्रो होइन । 

बिहे कहिले गर्ने त ? 

दुलही भेटेको छैन । भेटेपछि गर्ने हो (हाँस्दै)। 

हुनेवाला श्रीमती कस्तो होस् भन्ने चाहना छ ? 

पर्दामा देखिएको नाजिरलाई भन्दा पनि म रियल नाजिरलाई आत्मसाथ गर्न सक्ने होस् भन्ने लाग्छ । 

नाटक वा फिल्म के गर्दा मज्जा ? किन ?  

नाटक गर्दा बढी मज्जा आउँछ । किनभने नाटकले मलाई छुट्टै किसिमको ऊर्जा दिन्छ । आफूले आफूलाई निको पार्न मद्दत गर्छ । अडियन्सको त्यो रिएक्सन, त्यो लाइट, त्यो टिमवर्क ...आइ अलवेज लभ इट !

प्रस्तुति : अनिल यादव 

प्रकाशित: १७ असार २०७५ १४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App