७ वैशाख २०८१ शुक्रबार
अर्थ

एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात

इलाम – दुई वर्षअघि स्थापित इलामको सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा ३ लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ। 

कुकुरको आहाराका रूपमा नेपालबाट अमेरिकामा निकासी हुँदै आएको छुर्पी (डगच्यू) उत्पादन गर्ने उक्त कारखाना इलाम नगरपालिका वडा नं १० मा छ। 

दैनिक ३ हजार ५०० देखि ४ हजार लिटरसम्म दूध संकलन गरेर प्रशोधन गर्ने गरेको यो उद्योगमा प्रतिदिन २५० किलोसम्म छुर्पी र त्यति नै परिमाणमा घ्यू उत्पादन हुँदै आएको छ। उद्योगमा वार्षिक रूपमा उत्पादन हुने ८० हजार किलोग्राम छुर्पी अमेरिका निर्यात हुँदै आएको उद्योगका व्यवस्थापक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

इलाममा रहेका निजी डेरी उद्योगका साथै पाँचथर, ताप्लेजुङ, धनकुटा र तेह्रथुमसमेतका डेरीबाट उत्पादन हुने डगच्यू पनि सेतोट्यामीले संकलन गर्दै आएको छ। “इलाम र अन्य चार वटा जिल्लाबाट छुर्पी संकलन गर्छौं। हामीले उत्पादन गरेको र खरिद गरेर वर्षेनी तीन लाख किलो छुर्पी अमेरिका पठाउँछौँ”, श्रेष्ठले भने। 

सेतोट्यामीले उत्पादन गरेको र संकलन गरेको छुर्पी काठमाडौँको मनराम फार्म प्रालि र मनराम हिमालयन हेण्डीक्राफ्ट प्रालि हुँदै अमेरिकामा हिमालयन डगच्यू नामक कम्पनीमार्फत बिक्री हुँदै आएको छ। 

श्रेष्ठका अनुसार यसअघि भनेजति डगच्यू निकासी गर्न नसक्दा अमेरिकामै उद्योग खोल्नु परेको थियो। अहिले काठमाडौँमा पनि उद्योग खोल्ने तयारी भइरहेको उनले बताए। 

दुई वर्षअघि १०० लिटर दूध संकलन गरेर शुरू गरिएको उद्योग अहिले १० रोपनी जमिन खरिद गरेर आफ्नै भवनमा कारखाना सञ्चालन गर्दै आएको छ। रोङ गाउँपालिकाको शान्तिपुर, सूर्योदय नगरपालिकाको लक्ष्मीपुर र पशुपतिनगर तथा इलाम नगरपालिकाकै गोदक क्षेत्रमा संकलन भएको चार हजार लिटर दूध यहाँ दैनिक प्रशोधन गरिँदै आएको छ।   (रासस)

प्रकाशित: १७ असार २०७५ १२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App