coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हेलिकोप्टर नआउँदा मृतकको शव जिपमा

खोटाङ– खराब मौसमका कारण हेलिकोप्टर नआउँदा सोलुखुम्बुमा भएको जिप दुर्घटनाका दुई मृतकको शव जिपमार्फत घर लगिएको छ। सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिक शुक्रबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका ७ जनामध्ये सिराहाका ३६ वर्षीय शिवकुमार यादव र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी २४ वर्षीय कोपिला बस्नेत (कार्की)को शव दुई दिनपछि घर पठाइएको हो। 

नेचासल्यान गाउँपालिका–२ सल्यानस्थित ईलाका बन कार्यालयमा कार्यरत फरेष्टर यादव र बन रक्षक कार्कीको शव जिल्ला अस्पताल फाप्लुबाट आइतबार बिहान साँढे १० बजे जीपमा हालेर आफन्तले गाउँ लगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूमा प्रहरी निरिक्षक प्रद्युम्न अधिकारीले बताए। ‘आइतबार बिहानसम्म पनि मौसममा सुधार आउन सकेन’, प्रहरी निरीक्षक अधिकारीले भने, ‘खराब मौसमका कारण हेलीकोप्टर आउन नसकेपछि गाडीमै राखेर शव पठाइएको छ।’ 

आफन्तले अन्तिम दाहसंस्कारकालागि शिबकुमारको शव सिराहा र कोपिलाको शव बिराटनगरतर्फ लगेका छन्। सासुससुरा बिराटनगर बसोबास गर्दैआएकाले कोपिलाको शव खोटाङ नभै बिराटनगर लगिएको आफन्तले बताएका छन्। बन रक्षकमा सँगै नाम निकालेका उनका श्रीमान प्रकाश पनि सोलुखुम्बुमै कार्यरत छन्। मृतकका आफन्तले हेलिकोप्टर चार्टर गरेर शवलाई शनिबार गाउँ लैजाने प्रयास गरेपनि खराब मौसमका कारण हेलिकोप्टर आउन नसक्दा शव फाप्लुमै रोकिएको थियो। आइतबार बिहान पनि मौसममा सुधार नआएपछि शव गाडीमार्फत पठाइएको जिल्ला बन कार्यालय सोलुखुम्बुका प्रमुख इन्द्र सापकोटाले बताए। 

नेचासल्यान गाउँपालिका–२ सल्यानबाट सल्लेरी जाँदै गरेको को १ ज १८६० नम्बरको जीप दुर्घटना हुँदा शिवकुमार र कोपिला सहित ओखलढुंगा माम्खाका गाडी मालिक ४२ वर्षीय श्यामकुमार राई, उदयपुर शिरिसेका जीप चालक २१ वर्षिय कुसाङ तामाङ, सोलुखुम्बु नेचासल्यान–२ सल्यानका ३५ वर्षिया उर्मिला वास्तोला, सोही ठाउँकी २५ वर्षिया शुसिला खड्का र ८ वर्षिया बालिका सुस्मा खड्काको मृत्यु भएको थियो। ६ जनाको घट्नास्थलमै र गम्भीर घाइते भएकी बालिका सुस्माको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा मृत्यु भएकामध्ये ५ जनाको शव पोष्टमार्टमपछि शनिबार आफन्तले गाडीमा हालेर अन्तिम संस्कारका लागि आ–आफ्नो गाउँ लगिसकेको प्रहरीले जनाएको छ। गाउँमा तीन वटा शव पुग्दा सल्यान शोकमा डुबेको छ। गाडी मालिक राई र चालक तामाङको गाउँ पनि शोकमय बनेको छ। जीप सडकबाट करिब ६ सय हजार मिटर तल भीरमा खसेको थियो। दुर्घटनामा कोही जिबित नरहेकाले र घट्नाका समयमा वरपर कोही नभएकाले दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। नेचासल्यान गाउँपालिका पार गरेर सोलुदुधकुण्ड नगरपालिकाको तिङ्ला प्रवेश गर्नेक्रममा जीप पल्टिएको हो। अप्ठ्यारो क्षेत्र पार गरेपछि जीप पल्टिएको स्थानीयको भनाई छ। 

प्रकाशित: १७ असार २०७५ ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App