७ वैशाख २०८१ शुक्रबार
समाज

सप्तर्षि मन्दिरमा पञ्चमी

काठमाडौं- राजधानीको टेकुस्थित सप्तर्षि मन्दिरमा हरितालिका तीजको अन्तिम दिन मंगलबार हजारौं भक्तजनले पञ्चमी पूजा गरेका छन्। भूकम्पमा ध्वस्त भएपछि पुनर्निर्माण नभएकाले टहरो–मन्दिरमा पूजाआजा र दर्शन गर्न दर्शनार्थीले निकै कठिनाइ भएको थियो।

महिलाले ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले रजस्वलाका बेला हुने छोइछिटाको प्रायश्चित्त हुने धार्मिक विश्वास रहेकाले हिन्दू महिलाले टेकुस्थित मन्दिरमा सप्तर्षिको पूजाआजा गरेका थिए।

लगनखेलकी कुष्मा सिलवालले ऐतिहासिक मन्दिरको जिर्णोद्धार अहिलेसम्म पनि नहुनु लाजमर्दो भएको भन्दै सम्बन्धित निकायले चासो नदिएकाले भक्तालुलाई पूजाआजा गर्न सास्ती भएको गुनासो गरिन्। कोटेश्वरबाट आएकी निरु गौतमका अनुसार दर्शन गर्न कठिनाइ भए पनि मेलामा अन्य व्रतालुसँग नाचगान गरी रमाइलो गरेको बताइन्।

सप्तर्षि मन्दिरका पुजारी रमेश लामिछानेले मन्दिर पुनर्निर्माणमा कसैले चासो नदेखाएको गुनासो गरे। उनले भने, 'मन्दिरले राज्यबाट कुनै सहयोग पाएको छैन।' पौराणिक कथा अनुसार सप्तर्षि (अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र)को तपस्याबाट त्यस ठाउँमा महादेव उत्पत्ति भएका थिए। 'पशुपतिनाथपछि ठूला मेलामध्ये यस मन्दिरमा निकै ठूलो मेला लाग्छ,' पुजारी लामिछानेले बताए।

सप्तर्षि मन्दिर रहेको जग्गा पहिले यातायात संस्थानको मातहत रहे पनि अहिले भने कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ। पुजारी लामिछाने भन्छन्, 'पौराणिक र ऐतिहासिक महत्वको मन्दिरको आफ्नै जग्गा छ छैन नै, पुनर्निर्माण गर्न पनि पुरात्तत्व विभागदेखि महानगरपालिका कसैले पनि वास्ता गरेका छैनन्।'

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर भने सप्तर्षि मन्दिरको पुरातात्विक र ऐतिहासिक महत्व नभएकाले तत्काल विभागले पुनर्निर्माण नगरेको बताए। उनले भने, 'धार्मिक दृष्टिकोणबाट सप्तर्षि मन्दिरको महत्व होला, तर पुरातात्विक महत्व नभएकाले पहिला पुरातात्विक महत्वका मन्दिरको पुनर्निर्माणमा विभाग अग्रसर छ।'

भा› शुक्ल पञ्चमीमासप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू नारीले ऋषिपञ्चमी मनाउने गर्छन्। यस दिन टेकुस्थित मन्दिरमा मेला लाग्छ। ऋषिपञ्चमीमा बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा ३६५ दतिवनले दाँत मा‰ने, गाईको गोबर, माटो र खरानी लगाइ महिलाहरू स्नान गर्ने परम्परा छ।

यसरी स्नान गरी पञ्चगव्य सेवन गर्नाले दोष निवारण हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्› गौतमले बताए। स्नानपछि दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित सप्तर्षि पूजा गरिन्छ। सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकाले यो पर्वलाई 'ऋषिपञ्चमी' भन्ने गरिएको हो।

सप्तर्षि मन्दिरमा प्रहरी सुरक्षा कमान्ड प्रमुखका अनुसार सबेरै २ बजेदेखि बेलुकासम्म ५५ हजारभन्दा व्रतालुले दर्शन गरिसकेका बताए। हरितालिका तीजको पहिलो दिन दर खाने, दोस्रो दिन व्रत बस्ने र शिवालयमा पूजाआजा गरी विवाहित महिलाले पतिको दीर्घायू कामना गर्छन् भने अविवाहिताले सुयोग्य वरको कामना गर्छन्। दोस्रो दिन मनलागेका परिकार खाने गर्छन्। तेस्रो दिन गणेशको पूजा गरी चौथी मनाइन्छ भने चौथो दिनमा सप्तर्षि पूजा गरेर 'ऋषिपञ्चमी' मनाएसँगै तीज पर्व समाप्त हुन्छ।

प्रकाशित: २२ भाद्र २०७३ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App