coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

निर्मलको सेनकालीन पुस्तक विमोचित

काठमाडौं – पाल्पाको सेनकालीन इतिहासलाई समेटेर लेखक निर्मल श्रेष्ठले लेखेको पुस्तक ‘सेनकालीन इतिहास, कला र संस्कृति’ सार्वजनिक भएको छ। राजधानीमा पुरकोट सेन समाजले आयोजना गरेको कार्यक्रममा जीवनेश्वरी सेन र पूर्वप्रशासक तथा साहित्यकार सुबबहादुर सेनले संयुक्त रुपमा पुस्तक विमोचन गरे।

साहित्यकार सुबबहादुरले पुस्तकमा सेनको इतिहासलाई चित्रण गरिए पनि त्यसमा सम्पूर्ण नेपालीको इतिहास पाइएको बताए। ‘हामीले इतिहासको संरक्षण गर्न कहिल्यै जानेनौं,’ उनले भने, ‘नारायणहिटी दरबारमा मल्लकालिनदेखि शाहकालिन सम्पत्ति थिए । जुन अहिले इतिहासमा सिमित भइसके । जसले इतिहासको संरक्षण गर्न सकेन, उसैले आफ्नो पनि संरक्षण गर्न सकेन । अब लेखकले सेनकालीन सम्पदाको बारेमा पनि पुस्तक लेख्न आवश्यक छ।’

अर्का वक्ता मसीक्षक श्रीधर खनालले पुस्तकमा लेखिएका केही कुरा पाल्पामा इतिहासको विषय बनेको बताए । ‘पुस्तकले सेनकालीन संस्कृतिलाई प्रत्यक्ष रुपमा अथ्र्याएको छ,’ खनालले भने, ‘सेनकालीन अवस्थाबारे बुझ्न वा जान्न खोज्ने अहिलेको पुस्तालाई पुस्तक गतिलो दस्तावेज बन्नेछ।’

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले पुस्तक अनुसन्धानको आधारभूत सिद्धान्तमा आधारित रहेको बताए। ‘इतिहासको प्रमाण पुस्तकमा छ । तर अहिलेको समयमा इतिहासलाई मानिसले आफैं हटाइरहेका छन्,’ लुँइटेलले भने, ‘तर्कका लागि तथ्य आवश्य पर्छ । पुस्तकमा तथ्य र तर्क दुवै छन्।’

पत्रकार लक्ष्मण श्रेष्ठले लेखक निर्मल लेखन जीवनको लामो यात्राको यात्री भएकाले यात्रीले लेखेको पुस्तक पढ्न कन्जुस्याई गर्न नहुने बताए। उनले राजधानीमा प्रतिष्ठानबाट रकम लिएर पाल्पाको इतिहास लेख्ने चलन फस्टाइरहेको सम्झँदै त्यस्तो कामले पाल्पाको इतिहास नलेखिने जनाए। पत्रकार शम्भु श्रेष्ठले पाल्पाको इतिहास लेखिनलाई एउटा पुस्तकले नपुग्ने भए पनि सेनकालीन इतिहासलाई पुस्तकमा उतार्न सकेकोमा लेखकलाई बधाई दिए । लेखक श्रेष्ठले पुस्तकले सेनकालीन इतिहासलाई मूलधारमा ल्याउन सहयोग पु¥याउने दाबी गरे।

प्रकाशित: १७ असार २०७५ ०३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App