७ वैशाख २०८१ शुक्रबार
समाज

मेरी पत्नीले जस्तै अरूले ज्यान गुमाउनु नपरोस्

कमला शाक्य फाउन्डेशनले काभ्रेको धुलिखेलमा आयोजना गरेको कार्यक्रम। तस्बिर: फाउन्डेशन

बनेपा - पाठेघर क्यान्सरबाट आफ्नी श्रीमती कमला शाक्यको निधन भएपछि काभ्रे धुलिखेल–७ का स्वयम्भूराज शाक्यले अठोट गरे, ‘मेरी पत्नीझैं अरू नेपाली महिलाले पाठेघर क्यान्सरबाट ज्यान गुमाउनु नपरोस्।’ हाल उनी अमेरिका टेक्सासमा सपरिवार बस्दै आएका छन्। बेलैमा ख्याल गरेको भए निको हुने रोगले नर्सिङ पेशामा आवद्ध र अमेरिकाजस्तो समृद्ध मुलुकमा रहेकै अवस्थामा उनको पत्नीको ज्यान गएको हो।

सन् २०१७ नोभेम्बरदेखि नै क्यान्सर उपचारका विभिन्न विधि अपनाउँदासमेत निको नभई पत्नी कमलाको २०१८ अप्रिल १८ (२०७५ वैशाख ५ गते) मा निधन भएको थियो। ‘पाठेघर क्यान्सर भएको प्रमाणित भएपछि मैले कमलालाई धेरै कुराले ढाडस् दिएँ। मनिषा कोइरालाले क्यान्सरलाई जितेर सामाजिक सेवामा लागेको उदाहरण दिएँ। उनी पनि रोगलाई जितेर धुलिखेल फर्कने र क्यान्सरविरुद्ध जनचेतनामा सक्रिय हुने राजी भएकी थिइन्,’, शाक्यले सम्झिए।

बेलैमा पाठेघर परीक्षण र निदान गर्न पाएको भए कमलालाई सामान्य उपचार विधिले बचाउन सकिने उनको भनाइ छ । उनले भने ‘रोग बल्झिएपछि केमोथेरापी, अपरेसन र औषधि केहीले पनि काम गरेन। उनको शरीरमा क्यान्सरको सेलले जरा गाडिसकेको बताउँदै डाक्टरहरूले अब लामो समय बचाउन सकिन्न भनिरहँदा पनि आशा मरेको थिएन।’

चिकित्सा सेवा र सूचना प्रविधिमा उच्च शिक्षाका लागि शाक्य दम्पति २२ वर्षअघि अमेरिका पुगेका थिए। त्यहाँ उच्च शिक्षा र सीप सिकेर जन्मभूमि धुलिखेलमा आई आ–आफ्नो विधामा सेवा प्रदान गर्ने उनीहरूको अठोट थियो। ‘छोरा छोरीलाई काठमाडौं विश्वविद्यालयअन्र्तगत नेपालमै शिक्षादीक्षा दिने र आफ्नै जन्मभूमि धुलिखेल फर्केर सेवा गर्ने निधो गरिसकेका थियाैं,’ धुलिखेल अस्पतालमा भेटिएका स्वयम्भूराजले भने, ‘तर ती सबै योजना चकनाचूर भयो।’

पत्नीको निधनसँगै केही समय विरक्तिएका स्वयम्भूलाई टेक्सासमै रहेका रियल स्टेट व्यवसायी सुरज पौडेलले स्वर्गीय कमलाको सामाजिक योगदानलाई जीवन्त राख्न केही गर्नुपर्छ भनेर धेरैपटक सम्झाए। नर्स भएर पनि टेक्सासमा सामाजिक अभियानमा सक्रिय कमलाको सम्मानमा पौडेलसहितका सहयोगीहरूले कमला शाक्य फाउन्डेशन दर्ता गराएका छन्।

त्यसलगत्तै ‘समयमै पाठेघर जाँच गराइ प्राणघातक क्यान्सर हुनबाट आफू बचौं र अरूलाई पनि बचाऔं’ भन्ने अभियान सुरु भएको होे। यसै संस्थामार्फत पाठेघरको मुखको क्यान्सर परीक्षणमा सहयोग गर्न थालिएको हो । एउटी कमला गुमे पनि हजारौं कमलालाई बचाउन सकिन्छ भनेर उनीहरूले ३२ हजार डलर सहयोग कोष समेत खडा गरेका छन्।

‘नेपाली महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा धेरै पाठेघरको मुखको क्यान्सर हुने गरेको र बेलैमा थाहा पाएमा यसको उपचार सहज र सस्तो हुने भएकाले धुलिखेल अस्पतालसँग सहकार्य गरेका छौं,’ फाउन्डेशनका संस्थापक अध्यक्षसमेत रहेका पौडेलले भने, ‘यसबाट सुरुवाती अवस्थामै पाठेघर क्यान्सर पहिचान हुने हुँदा धेरै महिलाको ज्यान जोगिने रहेछ।’

फाउन्डेशनले अस्पतालको स्त्री तथा प्रसूति रोग विभागलाई दुई थान अत्याधुनिक कल्पोस्कोप र क्यामेरा सहयोग गरेको छ । उक्त उपकरण हस्तान्तरण गर्ने बेला कमला र स्वयम्भूराजका १४ वर्षीय छोरा श्रेयश र ८ वर्षकी छोरी बोधिकासमेत अस्पतालमा आएका थिए।

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन डा. राजेन्द्र कोजूको उपस्थितिमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं एसोसियट प्रोफेसर डा. सुनिला शाक्यले उक्त उपकरणहरू ग्रहण गरेकी थिइन्।

‘महिलामा सबैभन्दा बढी स्तन र त्यसपछि पाठेघरको मुखमा क्यान्सर हुने गर्छ। रोग लाग्नुअघि नै थाहा पाउन सकिने एक मात्र क्यान्सर, पाठेघरको मुखको क्यान्सर हो। अन्य अंगमा हुने क्यान्सरबारे सुरुवाती अवस्थामा पत्ता लाग्न सक्दैन,’ डा. शाक्यले भनिन्।

महिलाको पाठेघर क्यान्सरको मुख्य कारक मानिएको ‘ह्युमन पापिलोमा भाइरस एचपिभी’कै बारेमा नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्निोलोजी(एनटीएनयु)बाट विद्यावारिधी गरेकी डा. शाक्यले थपिन्, ‘एचपिभी भाइरसकै कारण पाठेघरको मुखको क्यान्सर हुने गरेको पाइन्छ। पाठेघरको मुखको क्यान्सरले वार्षिक रूपमा विश्वमा करिब दुई÷तीन लाख महिलाले ज्यान गुमाइरहेका छन्। यसबाट हुने मृत्युदर नेपालमा पनि उच्च छ।’

प्रसूति तथा स्त्री रोग विभागमा आउने महिलालाई कल्पोस्कोपको मद्दतबाट पाठेघर क्यान्सर भए÷नभएको परीक्षण नियमित रूपमा गरिने उनले जानकारी दिइन्। ‘पाठेघरको क्यान्सर पूर्वको स्थिति पहिचान गर्न हामीले विगतमा प्याप स्मेयर, भिआइए (एसिटिक एसिड प्रयोग गरेर), भिआइएलआई (ल्युगोल्स आयोडिन प्रयोग गरेर) गर्दै आएका थियौं । अहिले प्राप्त कल्पोस्कोपले पाठेघरको मुखको सतहलाई ४० गुणाले ठूलो पारेर देखाइदिन्छ । जसबाट सुक्ष्म ढंगले क्यान्सर परीक्षण गर्न सकिन्छ,’ शाक्यले थपिन्।

पाठेघरको मुखको क्यान्सर सुरु अवस्थामै पत्ता लागे शतप्रतिशत निको पार्न सकिने उनको भनाइ छ। उनले भनिन्, ‘शल्यक्रियाबाट मुखसहित पाठेघर निकाल्ने र यदि रोग फैलिसकेको छ भने रेडियोथेरापी वा केमोथेरापी गरेर उपचार गर्न सकिन्छ । तर, रोग लाग्न नदिनु नै सबैभन्दा उत्तम हुन्छ।’ डा. शाक्यले अगाडि थपिन्, ‘कम उमेरमै यौन सम्पर्क, कम उमेरमा गर्भाधारण, एकभन्दा बढीसँग यौनसम्पर्क, सरसफाइ अभाव र गुप्तांगसम्बन्धी दीर्घरोग भएका महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने जोखिम बढी हुन्छ । यद्यपि, यसको मुख्य कारक भने एचपीभी नै हो।’

भ्याक्सिन लगाउँदा बचिन्छ
पाठेघर क्यान्सरको मुख्य कारक ह्युमन पापिलोमा भाइरस एचपिभीविरुद्ध सन् २००६ देखि नै विकसित मुलुकहरूमा खोप(भ्याक्सिन) लगाउने चलन भए पनि नेपालमा सीमित संस्थाले मात्रै यो काम गरिरहेका छन् । भ्याक्सिन महँगो भएकाले अझै पनि आम महिलाको पहँुचमा यो छैन।

‘पाठेघरको मुखको क्यान्सरबाट बच्न ९ देखि १४ वर्ष सम्मका किशोरीलाई भ्याक्सिन लगाउन सकिन्छ। यो काम विद्यालय तहबाटै भएमा राम्रो हुन्छ। तर, भ्याक्सिन महँगो भएकाले सरकारी स्तरबाटै यो काम हुनुपर्छ । किनभने क्यान्सर लागेपछि उपचार खर्च दिनुभन्दा भ्याक्सिनमा खर्च गर्दा सरकारलाई व्ययभार कम पर्छ,’ डा. शाक्य सुझाव दिन्छिन्।

पाठेघर क्यान्सर विरुद्धको भ्याक्सिन सन् २००६ देखि प्रचलनमा आएको हो। यो भ्याक्सिनले नौ प्रकारका एचपीभी स्ट्रेनविरुद्ध लड्ने क्षमता दिने उत्पादक कम्पनीले उल्लेख गरेको छ। एचपीभी धेरै प्रकारका भए पनि १३ किसिमका भाइरसले मात्र पाठेघरको मुखको क्यान्सर निम्त्याउने चिकित्सक बताउँछन्।

एसियामा एचपीभी १६ र १८ को संक्रमणले ८३ प्रतिशत पाठेघरको मुखको क्यान्सर भएको पाइएको छ। भ्याक्सिन निर्माता कम्पनीले ९ देखि १४ वर्षका किशोरी र १५ देखि २६ वर्षका महिला गरी दुई समूहमा वर्गीकरण गरेर भ्याक्सिन लगाउनु पर्ने अवधि तोकेको छ।

प्रकाशित: १७ असार २०७५ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App