८ वैशाख २०८१ शनिबार
समाज

सरकार हामीलाई सुरक्षित ठाउँमा सार

पहिरोले पुरिएको धादिङ, खनियाबास गाउँपालिका ५ को सइस्वाँरा गाउँ। तस्बिर : नागरिक

धादिङ - ‘बचाऊ बचाऊ!’ दिलबहादुर गुरुङको कानमा आवाज ठोक्किन आइपुग्यो। तर मुसलधारे वर्षा भइरहेका कारण उनले त्यो आवाजलाई स्पष्टसँग सुन्न सकेनन् । साँझ साढे ५ बजेदेखि परेको पानी राति १० बजेसम्म पनि नरोकिएपछि उनी वरपर छिमेकीकोमा पनि जान सकेका थिएनन् । उनी रातको खाना खाएर सुत्ने तरखरमा थिए । एक्कासि आएको ‘बचाऊ बचाऊ’ आवाजले उनलाई झस्कायो । यस्तो आवाज झन्झन् चर्को हुन थालेपछि दिलबहादुर वर्षाका बीच छाता ओढेर बाहिर निस्किए । बाहिर निस्कँदा पहिरोले घर बगाउन सुरु गरिसकेको थियो । मुसरधारे पानीको आवाजले नजिकै पहिरो गएको समेत थाहा पाउने स्थिति थिएन।

वरपर भएकाहरू सबै भागभाग गर्न थाले । चिच्याइरहेका ठूलो दाइको नाति विकास गुरुङ घरको जस्ताले च्यापिएको देखे गुरुङले । विकासलाई स्थानीयले उद्धार गरेर किन्ताङफेदीमा रहेको स्वास्थ्य संस्थामा उपचारका लागि पठाए । आँखै अगाडि पहिरोले ठूलो दाइका बुहारी र दुई नातिनीलाई बेपत्ता बनायो । करिब आधा घण्टा हिँडेर माथिको डाँडामा गएर उनले रात कटाए । ‘न बिजुलीबत्ती छ न सुरक्षित ठाउँ नै, डरैडरमा रात कट्यो,’ गुरुङले भने, ‘बिहानीपख हेर्दा त गाउँ पूरै उजाड देखियो, घर भएका ठाउँमा जताततै पहिरो मात्रै थियो।’

यति बेला सइस्वाँरा गाउँ नै शोकमा डुबेको छ। पहिराको डरले स्थानीय बासिन्दा रातभर निदाउन सकेका छैनन्। पानी पर्नासाथ उनीहरु सुरक्षित ठाउँको खोजी गर्न थाल्छन्।

२९ घरधुरी रहेका उत्तरी क्षेत्रको खनियावास गाउँपालिका ५ सइस्वाँराको बस्ती २०७२ सालमा पनि भूकम्पले भताभुंग पारेको थियो । भूकम्पपछि जमिन चिराचिरा परेकाले कुनै पनि बेला पहिरो जान्छ भन्ने थाहा नभएको होइन तर पुस्तौंदेखि बस्दै आएको थातथलो छाड्न नसकिएको गुरुङ बताउँछन्।

यही असार १४ गते राति मुसलधारे वर्षासँगै गएको पहिरोले पुरेर यस गाउँका एकै परिवारका तीन जनाको ज्यान गयो । खनियावासकै वडा नम्बर ४ चिउरीबोटमा पनि सोही रात पहिरोले एकै परिवारका दुई जनाको मृत्यु भयोे । उक्त पहिरोमा परी ६ जना घाइते भएका छन् भने १२ घर पुरिएका छन्।

यति बेला सइस्वाँरा गाउँ नै शोकमा डुबेको छ । पहिराको डरले स्थानीय बासिन्दा रातभर निदाउन सकेका छैनन् । पानी पर्नासाथ स्थानीय सुरक्षित ठाउँको खोजी गर्न थाल्छन् । ‘पहिराको जोखिममा छौं, फेरि यस्तो घटना दोहोरिन सक्छ,’ गुरुङले भने, ‘हामीलाई सुुरक्षित ठाउँमा सारिदिन सरकारसँग अनुरोध गर्छु ।’ अहिले उनको परिवार सुरक्षित ठाउँमा त्रिपाल टाँगेर बस्दै आएको छ । फेरि पहिरो आएर पुर्छ कि भन्ने त्रासले रातभर निद्रा नलाग्ने गुरुङ बताउँछन्।

सइस्वाँराकी शान्ति गुरुङ पनि घरै नजिकैको भग्नावशेष हेरेर भक्कानिन्छिन् । पहिरोले आँखै अगाडि आफन्तजनलाई गुमाउनुको पीडा उनी शब्दमा व्यक्त गर्न सक्दिनन् । आफन्त गुमाउनुको पीडा र घरको भग्नावशेष हेर्दै शान्ति एकोहोरो टोलाउँछिन्् । ‘पहिले भूकम्पले पीडा दियो, अहिले पहिरोले बिर्सन नसक्ने घाउ बनाएको छ,’ शान्तिले पीडा पोखिन्, ‘पुरिएको घर हेर्दा मन धरधरी रुन्छ।’

तीन वर्षअघि गएको भूकम्पले दिएको पीडा शान्तिले अझै भुल्न सकेकी छैनन् । भूकम्पले घर ढलेपछि अस्थायी टहरा बनाएर बस्दै आएको उनको परिवार त्रासै त्रासमा परेको छ । ‘वस्तीनजिक फाटेको जमिन र माथिको पहिरो देख्दा न दिनमा भोक लाग्छ न रातमा निद्रा,’ शान्ति भन्छिन्।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको खनियावासको झार्लाङ, दार्खा, सत्यदेवी, रुविभ्यालीका लापा, तिप्लिङ, सेर्तुङलगायतका ठाउँ पहिरोको जोखिम क्षेत्र मानिन्छ । भूकम्पले जमिन चिराचिरा पारेपछि भूगर्भविद्ले त्यस भेगका वस्ती अन्यत्रै सार्नुपर्ने सुझाव दिएका थिए । त्यहाँका केही बासिन्दा सदरमुकाम आसपासका खाली ठाउँमा बसाईं सरेका छन् भने केही स्थानीय जोखिम नै मोलेर त्यहीं बसिरहेका छन्।

प्रशासनद्वारा राहत सामग्री वितरण
जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी लगायतका संघसंस्थाहरूले पहिरोपीडित परिवारलाई खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रको नेतृत्वमा पीडित परिवारलाई तत्कालका लागि चामल, दाल, नुन, तेल, मसला, भाँडाकुडा तथा त्रिपाल प्रदान गरिएको हो । पहिरोमा पुरिएर मृत्यु भएका पाँच जनाका परिवारलाई प्रशासनले एक÷एक लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ।

प्रकाशित: १७ असार २०७५ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App