६ वैशाख २०८१ बिहीबार
कला

पाल्पाली स्वाद

एक बिहानै साथी टेकनारायण भट्टराईको फोनले ब्युँझाएपछि सिधै गंगबु बसपार्कतिर लागें । त्यहाँ जम्मा भएका साथीहरुसँगै माइक्रो बसमा चढें ।  हाम्रो यात्रा सुरु भयो पाल्पातिर।

मुग्लिङ सडक खण्ड बिस्तारको काम जारी रहेकाले १० देखि ४ बजे सम्मको जाम छल्ने हिसाबले निस्केका हामी बेलैमा मुग्लिङ पुग्यौं ।हाम्रो यात्राको चाँजो मिलाएको थियो–पाल्पाली संगमले।

काठमाडौंमा बस्ने पाल्पालीले जन्मथलोमा योगदान पु¥याउन संगम खोलेका रहेछन् । हामी पाल्पा र बुटवलको सिमानामा पर्ने सिद्धबाबा मन्दिरमा केहीबेर रोकियौं । सिद्धबाबा  अवलोकन क्रममा रामापिथेकसको प्रतिमा पनि नियाल्यौं । रामापिथेकसको करोड वर्ष पुरानो अवशेष त्यही ठाउँमा भेटिएकाले त्यसकै सम्झनामा प्रतिमा बनाइएको रहेछ ।त्यहीँबाट हामीले तीनाउ खोला बाँधको मनमोहक झरनामा नजर डुल्यायौं । आकर्षक रहेछ झरना जहाँ पाल्पा र बुटवलका बासिन्दा गर्मी छल्न आइपुग्दा रहेछन्।

आँखा र क्यामेराले झर्नाका तस्बिरहरु खिचेपछि हामी तानसेनको उकालो उकालियौं । बीच बाटोमा हामीले भूत खोला पनि अवलोकन ग¥यौं । प्रत्यक वर्ष जस्तो यो खोलामा डुबेर÷बगेर मानिसको मृत्यू हुन्छ भन्ने सुनियो । त्यही भएर यसलाई भूत खोला भनिएको रहेछ ।  चुकाउनी र हाँसको छोयला तानसेनको पर्यावाची जस्तै बनेका छन् । पाल्पा पुग्नेहरु नचाखि फर्किंदैनन् । त्यो दिन (७ जेठ, ०७५) हामीले तानसेन बजार नपुग्दै चुकाउनी चाख्ने मौका पायौं ।अमिलो–अमिलो, मिठै लाग्यो चुकाउनी।

हामी साँझ साँढे पाँच बजेतिर तानसेन बजार पुग्यौं । बजार घुम्यौं, नागबेली गल्लीहरु आकर्षक थिए । मान्छेको भीड, पुराना घरहरु देख्दा लाग्थ्यो भक्तपुर बजार र पाटनतिर घुम्दैछु म ।तानसेन दरबार भित्रको ऐतिहासिक संग्रहालय पनि गयौं । साँझ बजारमै बस्यौं । बिहान हामी सहयात्री एवं नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेको गाउँ बराङ्दी गयौं जहाँ हामीलाई गाउँलेले भब्य स्वागत गरे ।  गाउँमा १०८ वटा शिवलिंगसहित महादेव मन्दिर बनाइएको रहेछ । त्यो बिहान गाउँलेले खुवाएको खिर सम्झँदै जिब्रो रसाउँछ अहिले पनि।

खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा बनाएको रानीमहल आफैंमा एउटा प्रेम फूल हो । राम्रो मार्केटिङ गर्न सके संसारभरका मायालु जोडीलाई रानीमहलले तान्न सकिन्छ ।

महादेव दर्शन पछि हामी रानीमहलतर्फ लाग्यौं । तानसेनबाट १३ किमि दुरीमा, कालीगण्डकी किनारमा छ रानीमहल । खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा बनाएको रानीमहल आफैंमा एउटा प्रेम फूल हो । राम्रो मार्केटिङ गर्न सके संसारभरका मायालु जोडीलाई रानीमहलले तान्न सकिन्छ।

पुरानो दरबार (रानीमहल) जिर्णोदार भैसकेको छ । अहिले त्यसको संरक्षण प्रहरीले गर्दै आएको छ ।  
हामीसँगै थिए पर्यटनमन्त्री रविन्द्र अधिकारी । रानीमहल स्थानीय नगरपालिकालाई हस्तान्तरण गरिने उनले जानकारी दिए । त्यसैले स्थानीय सरकारले आवश्यक्ता हेरि यसलाई रिसोर्ट वा संग्रहालयमा रुपान्तरण गरेमा राम्रो हुनेछ ।  

रानीमहललाई रिसोर्ट बनाउने कुरा उठेको धेरै भैसक्यो । साँच्चै महल रिसोर्टमा परिणत हुने दिनको पर्खाइमा छु म ।  रानीमहल जाने दुइटा बाटा छन्–एउटा कैलाश नगर, अवलहात्ती हुँदै बैकुण्ठ पहरा भएर रानीघाट । अर्को गोर्खेकोट, बराङदी, अवलहात्ती ढुँगा, बैकुण्ठ पहरा भएर रानीघाट पुग्छ।

त्यो रात हामी मगर समुदायले चलाएको बौघा गुम्हा होमस्टेमा पुग्यौं । प्रहरीका पूर्व महानिरिक्षक कुबेरसिंह रानाको गाउँ रहेछ बौघा । उनी पनि साथमै थिए । गाउँलेले पञ्चै बाजा बजाएर न्यानो स्वागत गरे हाम्रो ।मगर संस्कृतिको धुनमा राती अबेरसम्म नाचगान गर्यौं हामीले ।भोलिपल्ट बिहानै हामी रिडी पुग्यौं । त्यहाँ हामीले भगवान ऋषिकेशको दर्शन ग¥यौं । कालीगण्डकी र रिडीमा नदी उत्तरतिर बगेको छ । हिन्दु धर्ममा उत्तरवाहिनी नदीलाई एकदमै पवित्र मानिन्छ । त्यसैले त्यहाँ नुहाउने र अत्यष्टी गरिन्छ।

हामी रिडी दर्शन पछि भैरब मन्दिर पुग्यौं । मन्दिर हातामा एशियाकै अग्लो त्रिशुल रहेछ । मन्दिर समितिले नेकपाका नेता गैरेलाई ज्ञापन पत्र बुझायो । तिर्थालुलाई धर्मशाला बनाउन आग्रह गरिएको ज्ञापनपत्र पर्यटन मन्त्रीलाई बुझाउन उनीहरुले गैरेसँग अनुरोध गरे ।  भैरब मन्दिरबाट हामी तानसेन नपा–१० गुफाचौर, तेल्गा गयौं । त्यहाँको एउटा जंगलमा ठूलो गणेश मन्दिर बनाउने योजना रहेछ । रमणीय जंगलमा वरपरका वनभोज खान पुग्छन् । त्यहाँबाट हामी तानसेन फर्केर राती नै गाडीमा काठमाडौं फर्कियौं।

पाल्पा जिल्ला प्राकृतिक हिसाबले त सुन्दर छँदैछ, त्यहाँका मन्दिर, दरबार आदि धार्मिक तथा ऐतिहासिक सम्पदाले पनि पर्यटकको मन हर्छन् । रानीमहल जस्ता महत्वपूर्ण सम्पदाको राम्रो प्याकेजिङ गरि पर्यटन बजारमा पस्कन सके पाल्पाको अर्थतन्त्रमा पर्यटनको ठूलो प्रभाव पर्ने पक्का छ ।दोस्रोपटक पाल्पा पुगियो यसपाली । अझै धित मरेको छैन । बाढी बढेका बेला तिनाउको झर्ना खिच्न र साङमोसँग रानीमहलमा रमाउन फेरी पाल्पा घुमफिर गर्नेछु म ।
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App