७ वैशाख २०८१ शुक्रबार
अन्य

एक टुक्रा जिन्दगी

सन्नाटा सुम्सुमाएको एक टुक्रा जिन्दगी ।आफैँभित्र हराएको एक टुक्रा जिन्दगी ।जिन्दगी टुक्राहरूको सँगालो जस्तै लाग्छ । कुनै टुक्राहरू रंगीन हुन्छन् त कुनै श्यामश्वेत । श्वेत रंगमा जुनसुकै रंगको पनि मिश्रण सम्भव छ । तर, रंगहरूको मिश्रणले श्वेत रंग बनाउन सकिँदैन । त्यसैले सेतो रंग मन पर्छ, सेतो कागजको टुक्राजस्तै।

विडम्बना ! जीवनको रात पनि कालो नै हुन्छ जहाँ आफ्नै छायाको खोजी गर्न पनि निकै मुस्किल हुन्छ हरेकलाई । यतिबेला केहीअघि खिँचिएका तस्बिरहरू हेर्दै गर्दा मनमा तुफानी विचलन सुरू भएपछि रोक्नै सकिन कलमलाई र तीव्र वेगमा कुदाउन थालें भावहरू अविराम मनको कच्ची सडकमा ।‘सर चिन्नुहुन्छ मलाई ?’ मेरो सामान्य प्रश्नको उत्तरमा उहाँले ‘चिन्छु’ त भन्नुभयो । तर, अर्को चोटि सोधिएको प्रश्नमा सहजै चिन्दिन भन्नुभयो । एकटकले झ्यालबाहिर हेरिरहनु भएको उहाँका आँखाले स्वतन्त्र मधुमास निहारिरहेझैं लागेको थियो । अबोध बालकले बाहिर जाने सपना साँचेझैँ लाग्थ्यो मलाई ।

तर, अल्जाइमर्सको बिरामी उहाँले त्यो सपना साँच्ने सामथ्र्य नै कहाँ पाउनु ?म त्यही महान व्यक्तित्वका सामुन्ने कुर्सीमा बसेर हेरिरहेकी थिएँ, आँखा झिमिक्क पनि नगरी । असारको महिना यादहरूको कारखानामा धेरै प्रेमिल रहस्य उत्पादन गर्ने बेला, मेघदूतमा कालिदासले बादलको सहायताले आफ्नो सन्देश प्रेमिकासमक्ष पु¥याउने कठिन प्रयास गरेझैं म पनि यÞाद दिलाउने जटिल काम उहाँसमक्ष आफ्नो परिचयलाई नै बढी महŒव दिएर गरिरहेकी थिएँ ।

उहाँको मप्रतिको परिचित आवाज रूमल्लिएको सम्झनाको प्रतीक्षा थियो मलाई त्यसैले कुरिरहे उहाँको निवासमा अनि उहाँकै कोठामा । केही पल कोठा र त्यहाँ अवस्थित सबै चिज मौन रह्यो हामीसँगै । समयको पदचाप पनि मौन भएजस्तै लाग्यो । अलिकति रमाइला कुरा जोडेर कवि हेमन्त विवशले त्यस मौनतालाई भंग गरिदिनुभयो र उहाँ मुस्कुराउनु भयो– अनायासै।

सामान्य कुरामै उहाँ खुसी हुनुको कारण, खुसीको आयतन, लम्बाइ, चौडाइ र गहिराइ पत्ता लगाउने सामथ्र्य ममा थिएन । मात्र म त्यतिबेला एक टुक्रा जिन्दगीमा आफ्ना नेत्रलाई सजल बनाइरहेकी रहेछु, जुन अनायासै उहाँको हाँसोले बरालियो केही पलका लागि । मैले जीवनमा आदर्श मानेको व्यक्ति, लौकिक जगतमा रहेर अलौकिक प्रेम गरेको व्यक्ति, मलाई अभिभावकझैं माया र प्रेरणा दिने व्यक्ति, दुनियाँको सामु एउटा छुट्टै इतिहास बोकेर प्राध्यापक जीवन व्यतित गर्नुभएको उहाँ डा. डिपी भण्डारीको त्यो उर्बर काव्य यात्राको एक विशाल जिन्दगी र अहिलेको एक टुक्रा जिन्दगीबीच कतै तालमेल मिल्दैन।

यो समाज बलेको आगो ताप्नेहरूको हो । चाहे जाडो होस् वा गर्मी आगोको न्यानो समेट्नुमा मस्त हुन्छ दुनियाँ । आफूलाई तताउनु र सुस्ताउनुमा रमाउँछन् मान्छेहरू । कसले फर्केर हेर्छ र यहाँ जिन्दगीका टुक्राहरूलाई । उडिरहन्छ हावामा भौतारिंदै मौन आवाजहरू लगामरहित यही वायुमण्डलमा । मान्छे मदहोशीको अक्सिजन लिन्छ र तिक्तताको कार्बनडाइअक्साइड फ्याँक्छ । हिँडिरहन्छ अनन्तसम्म आफ्नै गन्तव्यका खातिर । सोचिरहेछु म भावविभोर भई एकतमासले यस्तै कुरा।

मनहरू दौडिए पूर्व स्मृतिमा उहाँले आफ्नो पहिलो कृति ‘मृगस्थली’ उपहार दिनुभएको र त्यसको गहिराइमा डुब्दै हरेक अक्षरलाई स्पर्श गर्दै एउटा काव्यिक उडान भरेको । मेरो मन र दिमागले त्यस कृतिलाई त्यतिबेला र अहिले पनि उत्तिकै अब्बल दर्जामा राखेको थियो, राखेको छ र राख्ने छ । जीवन र जगतका कुरा निकै रहस्यात्मक र रोमाञ्चक तरिकाले प्रस्तुत गरेर लेखिएको मृगस्थली पटकपटक पढ्दा पनि कहिल्यै मन भरिँदैन । नारायण गोपाल, बिपी कोइरालाका बारेमा सरल र जीवन्त तरिकाले उहाँ प्रस्तुत हुनुभएको छ।

‘राममानको कुकुर र माधव कोइरालाको निद्रा’लाई पनि बडो सामान्य तरिकाले प्रस्तुत गर्नुभएको छ । ‘निरो बाँसुरी बजाइरहेछ’को विमोचनमा गएर पुस्तक किन्नुको आनन्द, ‘रोटी र फूल’ को गरिमा, ‘त्यो धरती त्यो आकाश’मा आएर विश्राम लिइएको शाब्दिक यात्राले हामीलाई धेरै कुरा दिएको छ । समय र परिवेश अंकित ‘निरो बाँसुरी बजाइरहेछ’ रोमको सम्राट निरो देश जलिरहेका बेला बाँसुरी बजाएर बसिरहेजस्तै हाम्रा देशका नेता पनि आफ्नै स्वार्थ पूरा गर्ने र आश्वासनको खैंजडी बजाएर धर्मकर्म गर्न तल्लिन भएको वास्तविकतालाई तीखो व्यंग्य प्रस्तुत गरिएको छ ।

जीवन र जगतलाई हेर्ने नयाँ दृष्टिकोण उहाँको ‘रोटी र फूल’मा प्राप्त गर्न सकिन्छ भने ‘त्यो धरती, त्यो आकाश’ मा आफू जन्मिएको माटोको सुगन्धका साथै बढी नोस्टालाजियामा रूमल्लिँदै सांस्कृतिक पाटोको याद बढी मात्रामा गरिएको भेटिन्छ ।यि पुस्तकको परिधिभन्दा बाहिर साप्ताहिक पत्रिकाका हरेक अंकलाई सुम्सुमाउने शुक्रबारीय प्रतीक्षा लाग्छ मेरो मात्र होइन, हरेक उमेर समूहका मानिसमा भेटिन्थ्यो त्यतिबेला।

समयको कालखण्डलाई उछिन्दै फन्को मारिरहेको जिन्दगीका हरेक कापहरूमा सधैं नै यादविना मान्छे अपूरो हुन्छ । तिनै यादहरूले खुसीको बरसात गर्छन् । र, तिनै यादहरूले बाँच्नका लागि एउटा रहस्यमय गुफा खनिरहेका हुन्छन् । तर, चुपचाप ओछ्यानबाट उठेर म नजिकै कुर्सीमा बसेर खै कुन्नी के कुरामा मौन भई झ्यालबाहिर हेरिरहनु भएका भण्डारी सरलाई मैले फेरि सम्बोधन गर्दै भनें, ‘सर एउटा तस्बिर लिन्छु हजुरसँग । हाँस्नुस न मस्तले ।’उहाँले मोबाइलमा एक अन्जान बालकझैं एकोहोरो हेरिरहनु र मौन बस्नु वास्तवमै उहाँभित्रको अदृश्य मौनता पनि भौतारिरहेझैं लाग्यो मलाई ।

आफ्ना हरेक लेखहरूमा जीवन र मृत्यु, जीवन र जगत, खुुसीको अद्भूत अंलकारहरू, प्रेमिल प्रसंग, राजनीति, दर्शन, आशा र निराशा, अति संवेदनशीलता, गोठालो जीवनको आनन्द, माटोको सामिप्यता र सुगन्धबाट प्राप्त हुने ऊर्जा, आकाशको फैलावटजस्तै मान्छेको सरलता र जटिलताको फैलावट अनि बाल्यकालीन बदमासीको खुलेआम उद्घोष, नजिकिएकाहरूसँगको तीव्र छेडखानी, धर्म र सस्कृतिबीचका केही विरोधाभाष, बुद्ध दर्शन आदि थुप्रै प्रसंग बग्थे पटक पटक, नदी आफ्नै गतिमा सलल बगेजस्तै।

शब्दहरूले सबै मनको तीर्खा मेटेर बगिरहन्थे सागर छुन ।यतिबेला यो एक टुक्रा जिन्दगीमा यादहरूको बरसात मरूभूमीमा अभाव चर्न गएझैं लागिरहेछ कुनै विमानमा चढेर । नियतिले खिसी गरेर न्यायको कठघरामा उभिएको उहाँको भावनाका तरंगहरू अदृश्य रूपमा छरिएका छन् वरिपरि एक अमूर्त चित्रजस्तै । संगाल्ने रहर छ हरेक उडिरहेका टुक्राहरूलाई अनि जोड्ने सपना ।

त्यति नै बेला एक कप तातो चियामा थिन आरारूट बिस्कुट चोपेर नरम बनाई कपाकप खाने उहाँको चाहना बढी सक्रिय भएको देखे मैले । फेरि मौनतामै यी सजल नेत्रले एक टकले त्यो दृश्य हेरिरहेको रहेछ ।छुट्टिने बेला यो मनलाई राहत पु¥याउन फेरि सोधे, ‘सर म अम्बु हजुरले मलाई बिहेमा अमला खुवाएर आशीर्वाद दिँदै बिदाइ गर्नुभएको थियो गोदावरीबाट, सम्झनुभयो ?’  अकस्मात उहाँले एक वाक्य बोल्नुभयो, ‘त्यो कुरा त त्यति बासी भएको छैन ।’मनमा खुसीका छालहरू उर्लिए र तुरुन्तै बिलाए पनि।

‘हामी फेरी आउनेछौं हजुरलाई भेट्न’ भन्ने अन्तिम वाक्य बोलेर त्यहाँबाट यो शरीर र दिमागलाई बाहिर हुत्याउन सफल भए पनि मन रूमल्लियो । थाहा छ यसरी भन्नु र नभन्नुले उहाँलाई केही असर गर्दैन् । मन न हो मान्दो रहेनछ ।असारको १५ दही चिउराको पर्व, विशेष रोपाईको पर्व, असंख्य यादहरूको पर्व, म यतिबेला कालो बादलले ढाकिएर  गमक्क परेर बसेको आकाशलाई दर्किएर खेतका गरा मात्र नÞभई मनका गराहरू पनि भिजाउने आग्रह गर्छु।

झोक्राएको खुसी फेरी पाउन एउटा चमत्कारिक बिजुली चम्कियोस् । गड्याङगुडुङ होस् र भिजोस् मनका फाँटहरू । हातमा धानका बीउ लिएर रोप्दै गरेका रोपाहारहरू, खाल्डाखुल्डी सम्याउँदै हिलो छ्यापिरहेका बाउसेहरूको सम्झनाका झिल्काहरू श्रद्धेय डा. डिपी भण्डारीको मनमा पनि झांगिएर आओस् र हामीले अझैँ तृप्त हुन् सकौं उहाँको काव्यिक उत्पादनबाट । बस यत्ति चाहन्छु।निराशामा होइन, जीवनको खेती आशामा गरिनुपर्छ । मनकै दियो बालेर यतिबेला म आराधना गर्दैछु– ‘यो एक टुक्रा जिन्दगीमा कि ए असार ! यादहरूको यस्तो ऐतिहासिक बरसात गर् कि सबै फेरि उस्तै होस् एक सुन्दर सपनाजस्तै ।’

प्रकाशित: १६ असार २०७५ ०३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App