६ वैशाख २०८१ बिहीबार
खेल

यादगार विश्वकप

फिफा विश्वकपको २१ औं संस्करण रसियामा चलिरहेको छ । करिब दुई साताअघिदेखि सुरु भएको फुटबलको यो कुम्भमेला सञ्चालनका लागि रसियाले सन् २०१० को अन्त्यतिर अनुमति पाएको थियो।

हरेक चार वर्षमा हुने विश्वकप फुटवल सुरु हुने समय नजिकिँदै जाँदा विश्वभर विश्वकपको तामझाम र फेस्टिभ मुड अन भइसकेको थियो । नेपालमा पनि पछिल्लो केही वर्षदेखि फिफा विश्वकपले धेरैको ध्यान तानेको छ । विश्व कप नजिकिएसँगै विभिन्न देशका समर्थकहरूबीच जमघट, र्याली गर्ने, ब्यानर प्रदर्शन गर्ने आदि गतिविधि पनि सुरु भइसकेको छ।

कतै आफूलाई मनपर्ने देशको जर्सी किन्नेको भीड त कतै एलइडी टेलिभिजनमा विश्व कप हेर्न एलइडी टेलिभिजन किन्नेको भीड अझै पनि जारी छ । यति मात्र होइन, ठाउँ–ठाउँमा विश्व कपको गीतहरू घन्किइरहेका छन्।

ब्ल्याक एन्ड ह्वाइटदेखि एलइडीसम्म
काठमाडौं सामाखुसीका ५३ वर्षीया राजु क्षेत्री यसपटकको फिफा विश्वकपको व्यग्र प्रतीक्षामा थिए । विश्व कप सुरु हुनुभन्दा हप्तौंअघिदेखि विश्वभरका फुटबल प्रेमीजस्तै उनी पनि प्रतिक्षारत थिए । उनले १९८६ मा पनि यसैगरी व्यग्र प्रतीक्षा गरेका थिए, जब नेपाली टेलिभिजनले पहिलोपटक विश्व कप लाइभ देखाएको थियो । ‘पहिलेदेखि र अहिलेसम्म पनि म फुटबल भनेपछि हुरुक्कै छु । मेरो मनपर्ने टिम ब्राजिल हो,’ उनले भने।

आजभन्दा करिब ३२ वर्षअघिदेखि काठमाडौंमा बस्ने दर्शकहरूले विश्वकपको लाइभ हेर्न पाएका हुन् । त्यसअघि नेपाल टेलिभिजनले देखाउने फुटबलमा ‘मेड इन जर्मनी’ तथा इग्ल्यान्ड र युरोपियन कपहरूको रेकर्डेड भर्सन हुन्थ्यो । ‘काठमाडौंमा भर्खर–भर्खर टेलिभिजन राख्ने चलन बढ्दै थियो, ब्ल्याक एण्ड ह्वाइट टेलिभिजनमा फुटबल हेर्ने गथ्र्यौ,’ क्षेत्री सम्झन्छन् । उनकै साथी राजेन्द्र बस्नेत अर्जेन्टिनाका फ्यान हुन्।

उनले फुटबल हेर्दा ताकाका उदयीमान खेलाडी डियागो म्याराडोनाको कारण उनलाई वर्षौंदेखि अर्जेन्टिनाबाहेक अन्य टिमले आकर्षित पार्न सकेन । पछिल्लो विश्वकपमा फाइनलमा पुगेर समेत मेस्सीले गोल गर्न सकेनन् । र, अर्जेन्टिना पराजित भएको सम्झँदै उनी भन्छन्, ‘यसपाली पनि खासै बलियो देखिएको छैन । तर, आफ्नो टिम हो जितोस् भन्ने चाहना छ।’

१९८६ मा नेपालमा प्रशारण भएका पहिलो विश्व कपदेखि २०१८ सम्म आइपुग्दा समेत चाबहिलका गौरव पोखरेलको मनपर्ने टिम ब्राजिल हो । पहिलेको ब्ल्याक एन्ड ह्वाइट टिभीमा खेल हेर्ने गरेका उनले पछि मात्र खेल्ने टिमको जर्सी र रंग छुट्याउन सके । कतिपयको मनमा कुनै खेल बिर्सनै नसक्ने गरी गडिएको हुन्छ।

उनले बिर्सन नसक्ने खेल ब्राजिल र जमर्नीबीच भएको २००२ मा भएको फाइनल हो । ‘जर्मनी र ब्राजिलबीच भएको फाइनलमा १९९८ मा ब्राजिल फ्रान्ससँग हारेको भएर डर थियो । तर, २००२ मा जर्मनीसँग डर हुँदाहुँदै रोनाल्डोको दुई गोलले ब्राजिलले विश्व कप जितेको थियो । त्यसबेला जर्मन गोलकिपर ओलिभर कान राम्रो फर्ममा थिए,’ उनी सम्झन्छन्,  ‘उनीविरुद्ध गोल गर्न कठिन मानिन्थ्यो ।

त्यसका बाबजुत पनि रोनाल्डोले दुई गोल गरेर ब्राजिल विश्व कप जित्न सफल भएको थियो ।’ उनलाई मनपर्ने खेलाडीहरू नेइमार, फिरमिनो, क्रोटिनहो, पोर्चुगलको रोनाल्डो हुन् । विश्व कपमा जर्सी किन्ने क्रेजबाट उनी पनि अछुतो छैनन् । तर, यो वर्ष भने किनिसकेका छैनन् ।१९९४ मा ब्ल्याक एन्ड ह्वाइटमा विश्व कप हेरेको अहिलेसम्म पनि यादगार लाग्छ, भक्तपुरका सुदीप खतिवडालाई ।

‘कि सेतो लगाउनेले जित्थ्यो कि कालो लगाउनेले जित्थ्यो,’ उनी हाँस्दै सुनाउँछन् । पहिलेदेखि ब्राजिलका फ्यान रहेका उनी प्रायः सबै खेलाडी मनपर्ने बताउँछन् । ‘पहिला खेल खेल्ने गरेको रोबर्टो कार्लोस मलाई एकदमै मनपथ्र्यो,’ उनले थपे, ‘१९९४ देखि हेर्न थालेको हुँ । डुंगा क्याप्टेन थ्यो अनि बुबाहरूले डुंगाले ढुंगा हानेजस्तो हान्यो भन्नुहुन्थ्यो।’

पछिल्लो केही वर्षदेखि जर्सी र झन्डा पनि बिक्री हुने गरेको छ । तर, यसपाली खतिवडाले अघिल्लो विश्व कपकै जर्सी लगाएका छन् । ‘विश्व कपपछि एकैचोटी ६ तारा भएको किन्ने सोचमा छु । छोरोलाई भने नयाँ किनिदिए,’ उनले सुनाए।  

धेरैको साथीभाइसँग रमाइलो गर्दैै बाजी राख्दै रेस्टुरेन्ट, पबतिर हेर्ने ट्रेन्ड पनि चलिआएको छ । उनी अहिलेसम्मका खेलहरू घरमै हेरेका छन् । तर, फाइनल भने साथीहरूसँग हेर्ने योजना बनाएका छन् । ब्राजिलले पछिल्लो विश्वकपमा लज्जास्पद हार बेहोर्नुपरेको थियो । यसपटक ब्राजिलले नै विश्व कपको कप उचाल्ने र ६ तारा भएको उनको जर्सी किन्ने सपना पूरा हुनेमा उनी ढुक्क छन्।

युवामा विश्व कप क्रेज
२२ वर्षीय फुटबल फ्यान इलिशा खरेल पनि विश्व कप २०१८ को व्यग्र प्रतीक्षामा थिइन् । रसियामा भइरहेको यस वर्षको विश्व कपमा पनि उनी सधैँजसो इंग्ल्यान्डको समर्थक बनेकी छन् । उनलाई पहिलो पटक सन् २००२ को खेल हेरेको याद छ ।

‘कोरियाको सेमिफाइनलको गेम थियो, म कक्षा २ मा पढ्थेँ । जसले गोल गरे पनि गोल–गोल भनेर कराउँथे,’ उनी हाँस्दै सम्झिन्छिन् । यसरी फुटबल हेरेर कराउँदा–कराउँदै उनी इग्ल्याण्डको फ्यान भइन् । ‘कोरियाको गेममा घरमा सबै नातेदार भेटघाट थियो । र, एसियाली देश सेमिफाइनलमा पुगेको खुसीयालीमा सबै रमाएका थिएँ,’ उनले विगत सम्झिइन् । पछि फुटबल बुझ्दै जाँदा इंग्ल्याण्ड बेस्ट टिम लागेको उनी बताउँछिन्।

खरेलको लागि यादगार विश्व कप खेल भने सन् २००६ को इटाली र फ्रान्सबीचको खेल हो । इटाली भने उनलाई मनै पर्दैनथ्यो । तर, पेनाल्टीमा पाओस् भन्ने आश थियो । त्यसपछि, जिदानको हेड सटले गोल गरेको कुरा स्कुलमा एक महिनासम्म चर्चा चलेको उनलाई अझै याद छ ।केनले इग्ल्याण्डलाई जिताउने अपेक्षा उनले राखेकी छन्।

भर्खरै एसइई दिएर बसेकाहरूको विश्व कप क्रेज पनि उत्तिकै रोचक छ । १६ वर्षीय अग्रिम अधिकारीलाई अर्जेन्टिना मनपर्छ । उनले २०१० देखि विश्व कपमा अर्जेन्टिनालाई समर्थन गर्दै आएकी छन् । ‘२००६ को विश्व कपको अलिअलि याद छ, नबुझेरै भएर पनि हेरेको थिएँ,’ उनी भन्छिन्।  

तर, उनी पछि फुटबल फ्यान नै भएर निस्किइन् । सन् २०१० कै स्पेन र नेदरल्याण्डको खेल उनको लागि अहिलेसम्मकै यादगार खेल हो । लियोनेल मेस्सी उनको मनपर्ने खेलाडी हुन् । अरु खेल बाहिर हेरे पनि केही रमाइलो प्रतिस्पर्धात्मक टिमको खेल भने साथीहरूसँग हेर्ने उनको योजना छ ।

जारी विश्व कपको पछिल्लो क्रोयसियासँगको खेलबाट निराश भएका अर्जेन्टिना समर्थकहरू पनि अव अर्जेन्टिनाको प्रदर्शन राम्रो हुने आशा गरेका छन् । ‘दोस्रो चरणमा पुगेको अर्जेन्टिनाले यस पल्ट पक्कै निराश नपार्ला,’ उनी आशा व्यक्त गर्छिन्।

अर्का फुटबल प्रेमी हुन्, काठमाडौंका गणेश कोइराला । उनी पनि इलिशाजस्तै इग्ल्याण्डका समर्थक हुन् । उनलाई पनि २०१० को विश्वकप याद छ । उनलाई त्यति बेला ब्राजिलको रोनाल्डो मनपथ्र्र्यो । सन् २०१० मा जब लाम्पाडको गोललाई मान्यता नदिएर इग्ल्याण्डले खेल हारेको त्यो क्षण उनी बिर्सनै सक्दैनन् । फुटबल प्रेमी भएपछि नराम्रो याद आउने गर्छ ।

तर, क्लोसे विश्व कप उचाल्नु पनि खुसीको पल भएको उनी बताउँछन् । अहिले हाजाड उनलाई मनपर्ने खेलाडी हुन् । तर, इग्ल्याण्डको टेरी र लमपड उनको झनै फेबरेटमा पर्छन् । मनपर्ने टिमको गेम आउँदा त्यही टिमको जर्सी लगाएर साथीहरूसँग हेर्ने उनी बताउँछन् ।

यसपटकको विश्वकप इग्ल्याण्डले नै जित्छ जस्तो उनलाई लागेको छ । ‘टिम अलि बलियो र राम्रो प्रशिक्षक भएकाले आशा बढी छ । खेलाडी हेर्ने हो भने फ्रान्स बलियो छ । तर, आशा त आफ्नै मनपर्ने टिमले जितोेस् भन्ने छ,’ कोइराला भन्छन् । उनले पनि साथीहरूसँग एक हजारसम्मको बाजी राखेका छन् ।ललितपुर, बालकुमारीका विनम्र सिलवालको पनि मनपर्ने टिम इग्ल्याण्ड हो । प्रिमियर लिग हेर्ने भएकाले इंगल्याण्डका खेलाडीहरूसँग बढी लगाव रहेको उनी बताउँछन् । उनले पहिलो पटक सन् १९९८ को विश्व कप हेरेका थिए ।

‘त्यो बेला धादिङको गाउँतिरै थिएँ, साथीभाइसँग बसेर १४ इन्चको टिभीमा एन्टिना घुमाइघुमाइ हेरियो,’ उनले सुनाए ।  त्यसयता काठमाडौं आएपछि उनले लगातार विश्व कप हेर्दै आएका छन् । उनका लागि अहिलेसम्मको सबैभन्दा यादगार खेल भनेको २००६ विश्व कपको फाइनल हो, जुन गेममा फ्रान्सका विश्वविख्यात खेलाडी जिनेदिन जिदानले रेड कार्ड पाएका थिए ।

९० मिनेटसम्म बराबरी र थप ३० मिनेटमा समेत बराबरी गोल भएपछि उक्त खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । र, इटाली विजयी भएको थियो । ‘मलाई पुराना खेलाडीमध्ये डेविड बेकह्याम  खुब मनपर्छ । यसको कारण उनको बौद्धिकता र स्टायल हो । हालका खेलाडीमा इग्ल्याण्डका ग्यारी काहिल र बेल्जियमका इडेन हाजार्ड मनपर्छ,’ उनी भन्छन् ।

अरु खेलप्रेमीजस्तै उनी पनि जर्सी भने अनिवार्य रूपमा किन्छन् । अझ आफूलाई मात्र नभई परिवारका सदस्यलाई पनि किन्ने उनी बताउँछन्  ।सुरुवाती चरणका खेलहरू घरमै बसेर साथीभाइ परिवारहरूसँग हेरेका उनको अबका खेलहरू केही घरमै र केही स्पोर्ट्स बारतिर अन्य समर्थकहरूसँगै बसेर हेर्ने योजना छ । ‘यसपाली मेरो फेवरेट टिमले जितोस् भन्ने चाहना छ ।

तर, यति त्यसो नभएमा फ्रान्सको टिमले जित्न सक्ने खुबी देखिराछु,’ उनी भन्छन् । खेलको विजेताबारे पैसाकै बाजी नराखे पनि साथीहरूसँग रमाइलोका लागि ‘कफी बेट’ जस्ता रमाइला बेट भने राख्ने गरेको उनले बताए ।

प्रकाशित: १६ असार २०७५ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App