coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

खर्पनमा तरकारीको व्यापार

पिमबहालको भित्री गल्लीमा एक बजार छ, जहाँ खाद्यान्न किनमेल गर्ने मानिसहरूको घुइँचो लाग्ने गर्छ । त्यहाँ खाद्यान्न मात्र होइन, तरकारी, माछामासुलगायत पनि खरिदबिक्री हुने गरेको छ।

साताअघि त्यहाँ पुग्दा दुई युवा खर्पन व्यापारीसँग साग किनिरहेका थिए । व्यापारीले दुई मुठा सागको ४० रूपैयाँ भनेपछि युवकले महँगो भएको प्रतिक्रिया दिए । ती व्यापारी युवकलाई प्रष्ट्याउँदै थिए, ‘के गर्नु सबै चिज महँगो छ, पानी परेपछि झन् तरकारीको भाउ अकासिन्छ ।’उपत्यकाका केही ठाउँमा अझै खर्पनमा बोकेर साग तथा तरकारी बेच्ने गरिएको छ ।

कसैले त दही, भुटेको तोरीको तेल, माटाका भाँडा, अन्डालगायत सामग्री पनि बेच्ने गरेका छन् । खर्पनमा सामान बेच्न दुःख भएको व्यापारी बताउँछन् ।बालकोटका तुलसी श्रेष्ठ (५२) सबेरै ४ बजे उठ्छन् ।  घरधन्दा सकेपछि ५ बजे खर्पन बोकेर ललितपुर, पाटनतिर लाग्छन् । खर्पन बोकेर हरेक बिहान आफूले उत्पादन गरेका थरिथरिका मौसमी सागपात, तरकारी बेच्नु उनको दैनिकी नै हो ।

उनी कहिले रायो, पालुङ र चम्सुरलगायत सागसँगै सलगम र मुला खर्पनमा राखेर बेच्न लैजान्छन् । दैनिक बिहानको १० बजेसम्म पाटनमा व्यापार गर्ने तुलसीले खर्पनमा व्यापार गर्न सुरु गरेको ३० वर्ष भइसकेको छ । सागसब्जीको व्यापार गर्नुभन्दा पहिला माटोको भाडामा दही बेच्ने गरेको उनले बताए ।

उनी भन्छन्, ‘खर्पनमा नै बोकेर जुजु बेच्न हिँड्थें, अहिले तरकारी व्यापार गर्न थालेको सात वर्ष मात्र भएको छ ।’२५ वर्षसम्म दहीको व्यापार गरेका तुलसी अहिले भने मौसम अनुसारको तरकारी व्यापार गर्छन् । खर्पनमा नै बोकेर ठाउँठाउँमा दही पुर्याउने तुलसी दहीको व्यापार कम भए पनि तरकारी व्यापार गर्न सुरु गरेका हुन् । उनी भन्छन्, ‘सुरुमा हामी नेवारको भोज धेरै हुन्थ्यो, सुकुल भोजमा दही नभई हुन्नथ्यो ।

तर, अहिले सुकुलभोज विस्तारै लोप हुँदै गयो दही व्यापार पनि सुक्दै गयो ।’ ठाउँठाउँमा दुध, दही डेरी सञ्चालन भएकाले व्यापार परिवर्तन गरेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘सबै ठाउँमा डेरी भयो, मिठो दही जहाँ त्यहि सजिलै पाइन थाल्यो, खर्पनमा बोकेर ल्याउँदा दुःख बढी व्यापार कम हुने भएर अहिले तरकारी व्यापार गरेको हँु ।’ एउटा मुठो सागको १५ रूपैयाँ लिने गरेको उनी बताउँछन् । उनले खर्पनमा व्यापार गर्न थालेको ३८ वष भन्दा बढी भइसकेको छ । खर्पनमा दही बोकेर बेच्न हिँड्ने श्रेष्ठ हिजो आज भने तरकारी व्यापार गर्छन् ।

उपत्यकाका केही ठाउँमा अझै खर्पनमा बोकेर साग तथा तरकारी बेच्ने गरिएको छ । कसैले त दही, भुटेको तोरीको तेल, माटाका भाडा, अन्डालगायत सामग्री पनि बेच्ने गरेका छन् ।

भक्तपुरका हरिचन्द्र श्रेष्ठ (६४) सानै उमेरदेखि खर्पनमा दही बोकेर व्यापार गर्न सुरु गरेका हुन् । ललितपुरको पाटनमा भेटिएका उनले सुरुमा दही व्यापार गर्दा ठूलो भाडाको आठ रूपैयाँमा बेच्ने गरेको उनी बताउँछन् । विशेष गरी उनी पाटनका पसलहरूमा दही पुर्याउन आउँछन् । काँधमा दही राखेको खर्पन बोकेका उनी भन्छन्, ‘बाटोमा हिँड्दै गर्दा कसैले किन्न मागे दिन्छु, नत्र पसलमा दहि पुर्याउँछु ।’ खर्पनमा व्यापार गर्न सोचेजस्तो सजिलो नभएको उनी बताउँछन् ।

सुरुमा सँगै खर्पनमा व्यापार गर्ने साथीहरू सबैले छोडे पनि आफूले भने अझै खर्पनमा नै व्यापार गरेको उनी बताउँछन् । ‘हिँडेर व्यापार गर्न कहाँ सजिलो छ र ? तर, पनि बच्चैदेखि खर्पन बोकेर व्यापार गर्ने बानी नै परिसक्यो ।’ शिरमा लगाएका मैलो ढाका टोपीले निधारमा बगेको पसिना पुस्दै उनले भने । उनी भन्छन्, ‘जुनै काम गरेर खानलाई दुःख त हुन्छ नै । तर, काम गरेर खाने बानी पारेपछि काम गर्न दुःख हुँदैन, काममा नै रमाउन सिकिन्छ।’

हरिचन्द्रले दहीको व्यापार गर्दा सबैलाई जुजु धौको खास महत्व नभएको बताउँछन् । उनी भन्छन्, ‘त्यो बेला मान्छे कम थियो, सबैको घरमा नै जुजु हुन्थ्यो अहिले सबै बाहिरबाट आएको मान्छेले भरिएको छ, दहीको माग राम्रै छ ।’ भक्तपुरको दही भनेपछि सबैको विश्वास राम्रो रहेको उनी बताउँछन् । दही सबै मौसममा खान रुचाइए पनि विशेष गरि गर्मीको मौसममा दहीको माग निकै राम्रो रहेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘असार १५ मा दही खानेको संख्या निकै धेरै हुन्छ । विवाह तथा भोजका बेला पार्टी प्यालेसमा पनि मगाउँछन् ।’ गर्मीको समयमा धेरैले दही खान रुचाउने उनी बताउँछन् । ‘कुनै दिनमा त बाटोमा हिँड्दाहिँड्दै खर्पनमा बोकेर ल्याएको दही बाटोमा नै बिक्री हुन्छ ।’ सुरुमा पाँच रूपैयाँ पर्ने दही अहिले सानो प्लास्टिकको कपको  २५ रूपैया पर्ने उनी बताउँछन् ।
बुद्ध किसानले खर्पनमा व्यापार गर्न थालेको २० वर्ष भइसक्यो । खर्पनमा बुद्धले भुटेको मकै, भटमास, चना, केराउ, बदाम बेच्ने गर्छन् । बुद्धले भुटेर तयार पारिएको खाजा बेच्न पसलबाट किनेर ल्याउने उनले बताए ।

खर्पनमा खाजाको व्यापार गर्दा सुरुमा चना पाथीको तीन मोहर परेकोे उनी बताउँछन् । उनी भन्छन्, ‘ऊ बेला सस्तो थियो अहिले छोइनसक्नु छ, एक पाथी चनाको भाउ आठ सय रूपैयाँ पुगिसक्यो ।’ बुद्धले व्यापार गर्दा सानो एक ट्वाकको तीन रूपैयाँमा बेच्थे भने अहिले २० रूपैयाँमा बेच्छन् ।चिसो मौसममा घाममा बसेर मकै, भटमास, चना, केराउ खानेको जमात देख्न सकिन्छ । पार्कमा, चौरमा गफ गर्दै मकै, भटमास, चना, केराउ खान जो कोही लालयित हुन्छन् ।

घरमा नै भुटेर तयार पारेको खाजा चिसो मौसममा जस्तो गर्मी मौसममा बिक्री नहुने बुद्ध बताउँछन् । पसलबाट भुटेको चना, मकै, केराउ, बदाम किनेर ल्याएर खर्पनमा राखी कहिले न्युारोड त कहिले सुनधारा डुल्छन्, उनी । उनी भन्छन्, ‘समय धेरै परिवर्तन भएको छ, भुटेको भटमास, चना, मकै, केराउ, बदाम खानुभन्दा चाउचाउ, चाउमिन खानेहरू धेरै छन् ।’ थोरै भए पनि भुटेको खाजा खान रुचाउनेहरू भेटिने उनी बताउँछन् ।

उनी भन्छन्, ‘अचेलका सहरिया मानिसलाई यस्तो भुटेको मकै, चना, केराउ, बदाम खानेको संख्या निकै कम छ ।’ विभिन्न प्याकिङमा आउने फास्ट फुडले गर्दा भुटेको मकै, भटमास, केराउ, चना विस्तापित गराएको उनी गुनासो सुनाउँछन् । उनी भन्छन्, ‘मकै, भटमास, चना केराउ गाउँघरमा त खान छाडिसके सहरमा त के भन्नु, अब कहिलेकाहीँ गाउँतिर रोपाइँमा अर्नीको रूपमा मात्र प्रयोग हुन्छ ।’ खर्पनमा भेटेको मकै भटमास, केराउ, चना बेच्नु उनको दैनिकी नै हो । खर्पनको व्यापारबाट नै परिवारको खर्च धानेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘खर्पनमा व्यापार गर्नुभन्दा पहिला मिटरमा चल्ने ट्याम्पु चलाउँथें ।’ मिटरवाला ट्याम्पु चल्न बन्द भएपछि खर्पनमा भुटेर तयार पारिएको भटमास, चना, मकै, केराउ, बदाम बेच्न सुरु गरेका हुन् । व्यापार गर्ने तरिका, ग्राहकको खानपान परिवर्तनसँगै  खर्पनमा व्यापार गर्न गाह्रो रहेको उनी बताउँछन् ।
 
भक्तपुरका तुइसिङ दुवाल (७५) खर्पनमा तरकारी व्यापार गर्छन् । उनी व्यापार गर्न काठमाडौं, ललितपुर र भक्तपुर जाने गरेका छन् । भोलिपल्ट बेच्ने साग र तरकारी अघिल्लो साँझ नै ठिक पार्छन् । तयार गरेर तरकारी खर्पनमा राखेर बिहानै ५ बजे उठेर व्यापार गर्न हिँड्छन् । खर्पनमा व्यापार सुरु उनी १५ वर्षका थिए । सुरुमा बोकेको खर्पन बासबाट तयार गरिएको उनी सम्झिन्छन् । ‘पहिला बोक्ने खर्पन बाँसबाट बनेको हुन्थ्यो अचेल यी फलामको खर्पन बोक्छौं,’ आफुले बोकको खर्पन देखाउँदै उनले भने ।

सानै उमेरदेखि तरकारी खर्पनमा बोकेर व्यापार गर्न सुरु गरेको बताउँछन् । फलामबाट बनेको खर्पन बोकेका तुइसिङ खर्पनको बनावट नै परिवर्तन भएको बताउँछन् । उनी भन्छन्, ‘सुरुमा बाँसको खर्पनमा तरकारी बोकेर व्यापार गरिन्थ्यो, अहिले भने सबैले फलामको खर्पन नै प्रयोग गर्छौं ।’ फलामको खर्पन धेरै समय सम्म टिक्ने भएर फलामको खर्पनको चल्ती बढेको उनी बताउँछन् । उनी भन्छन्, ‘अहिले बाँसको खर्पन बनाउने पनि कम छन्, भए पनि महँगो छ, फलामभन्दा छिटो बिग्रन्छ त्यसैले फलामकै खर्पन प्रयोग गर्छु।’

सानैदेखि काम गरेका उनी घरमा खाली बस्न रुचाउँदैनन् । उनी भन्छन्, ‘सानै उमेरबाट गरेको काम हो, आफ्नै बारीको तरकारी बेच्छु । चिया खाने दुई चार पैसा पनि आउँछ, समय नि कट्छ ।’ पहिला हरेक समान खर्पनमा राखेर व्यापार गर्न जाने उनी सम्झन्छन् । समय परिवर्तनसँगै मानीस पनि परिवर्तन भएको उनी अनुभव सुनाउँछन् । सुरुमा व्यापार गर्दा सागको मूल्य कम रहेको तरकारी उत्पादन गर्न पनि सजिलो रहेको उनी बताउँछन् ।  ‘त्यो बेलाको समयमा एक मुठाको एक पैसा पथ्र्यो, अहिले ४० रूपैयाँ पर्छ ।’

 

प्रकाशित: १६ असार २०७५ ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App