coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अफ्रिकी टोली विश्वकपमा अभागी

बिहीबार समूह चरणको अन्तिम खेलमा कोलम्बियासँग पराजित भएपछि निराश सेनेगलका खेलाडी । तस्बिरःएपी

निज्ने नोभग्रोड – इतिहासमै पहिलो पटक ‘फेयर प्ले’का आधारमा सेनेगल अभागी बन्दा १९८२ पछि विश्वकपको नकआउट चरणमा पहिलो पटक अफ्रिकी राष्ट्रको उपस्थिती नहुने भएको छ।

३६ वर्षअघि स्पेनमा सम्पन्न विश्वकपमा कुनै पनि अफ्रिकी राष्ट्रहरु समूह चरणबाट माथि उठ्न नसके पनि त्यसलाई आश्चर्यजनक रुपमा हेरिएको थिएन । तर मोहम्मद सालाह र साडियो माने जस्ता युरोपका ठूला लिगका उत्कृष्ट स्ट्राइकरको उपस्थिती हुँदा पनि अफ्रिकी महादेशबाट दोस्रो चरणमा सहभागिता नहुनुलाई आश्चर्यका रुपमा हेरिएको छ।

आइभोरी कोस्टबाट ३ वटा विश्वकप खेलेका स्ट्राइकर डिडियर ड्रोग्बाले रुसमा अफ्रिकन राष्ट्रहरुको प्रदर्शन विर्षनलायक भएको बताए । ‘अफ्रिकी मुलुक एक दिन अवश्य सफल हुनेछन् । तर त्यसका लागि हामीले ठूला प्रतियोगितामा कस्तो रणनीतिका साथ उत्रने भनेर पूर्वतयारी गर्नु आवश्यक छ,’ ड्रोग्बाले भने।

ड्रोग्बाले अफ्रिकी राष्ट्रले युरोपेली मुलुकहरुको खेल संरचना र उनीहरुले बनाउने योजनाहरुको अनुशरण गरेमात्र सफलता हात पार्न सकिने बताए । १९८२ मा क्यामरुनले समूहका ३ वटै खेल गोलरहित बराबरी खेलेको थियो भने अल्जेरियाले दुई खेलमा जित र एकमा हार बेहोरेको थियो । दुवै टोलीले अन्तिम खेलसम्म अघिल्लो चरण प्रवेश सम्भावना कायम राखेका थिए।

रुस विश्वकपमा सहभागी ५ मध्ये इजिप्ट, मोरक्को र ट्युनिसिया गरी तीन राष्ट्र समूहको अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिएका थिए । नाइजेरिया अन्तिम खेलमा अर्जेन्टिनासँग २–१ ले पारजित हुँदै प्रतियोगिताबाट बाहिरियो । सनेगल र जापानको समान ४ अंक भए पनि ‘फेयर प्ले’मा अभागी बन्दा सेनेगलले पनि समूह चरण पार गर्न सकेन । २००२ मा पहिलो सहभागीतामै क्वार्टरफाइनल सम्मको यात्रा गरेको सेनेगलले रुसमा त्यही उपलब्धी दोहोर्याउन सकेन।

इजिप्टले प्रतियोगिताको ३ वटै खेल गुमायो भने ट्युनिसिया र मोरक्कोले राम्रो प्रदर्शन गरे पनि जित दर्ता गर्न सकेनन्। नाइजेरिया र सेनेगल अन्तिम खेलमा नतिजा सुम्पिदा समूह चरणबाट माथि उठ्न सकेनन्।

समूह चरणमा अफ्रिकी राष्ट्रहरुले १५ मध्ये ३ खेलमा विजयी नतिजा निकाले । सेनेगलले पोल्यान्ड, नाइजेरियाले आइसल्यान्ड र ट्युनिसियाले पाानामामाथी २–१ को समान अन्तरमा जित हात पारेका थिए । अन्तिम खेलमा कोलम्बियालाई १–० को नतिजा सुम्पिदै प्रतियोगिताबाट बाहिरिएपछि सेनेगलका प्रशिक्षक आलियो सिसेले नतिजामा सन्तुष्ट भएको भन्दै टोलीको भविष्य उज्ज्वल भएको बताए।

विश्वकपको २१औं संस्करणसम्म ३ वटा अफ्रिकन राष्ट्रले मात्र क्वार्टरफाइनलसम्मको यात्रा तय गरेका छन् । १९९० मा क्यामरुन, २००२ मा सेनेगल र २०१० मा घानाले अन्तिम ८ मा स्थान बनाउन सफल भएका थिए।

२८ वर्षपछि इजिप्टलाई विश्वकपमा छनोट गराउँदा महत्वपूर्ण भुमिका खेलेका सालाहबाट रुस विश्वकपमा धेरैले उच्च प्रदर्शन अपेक्षा गरेका थिए । च्याम्पियन्स लिगको फाइनलमा रियाल मड्रिडविरुद्ध खेल्दा काँधमा चोट लागेका कारण सालाहले आफ्नो उपस्थिती सार्थक बनाउन सकेनन्।

प्रकाशित: १६ असार २०७५ ०१:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App