coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लामोसाँघु जिरी सडकमा रोपाइ

शुक्रबार चरिकोटस्थित लामोसाँघु जिरी सडक खण्डको पाटीखोलामा रोपाइँ गर्दै तरुण दल र नेविसंघका कार्यकर्ता।तस्बिर : रमेश/नागरिक

दोलखा - ठेकेदारको लापरबाहीले अलपत्र परेको जिल्लाको मुख्य प्रवेशमार्ग लामोसाँघु–जिरी सडकमा शुक्रबार तरुण दल र नेविसंघका कार्यकर्ताले सांकेतिक विरोधस्वरुप रोपाइँ गरेका छन्।

तीन वर्षअघि सुरु भएको सडक फराकिलो बनाउने काम ठेकेदारले बीचमै छाडेपछि दोलखावासी लामो समयदेखि सास्ती व्योहार्दै आएका थिए । राजधानीबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको खाडीचउरस्थित लामोसाँघु पुलबाट आरम्भ हुने यो सडक खण्डको चरिकोट बजारसम्मको ५५ किलोमिटर खण्डलाई सरकारले एक्जिम बैंकको लगानीमा फराकिलो बनाउने काम तीन वर्षअघि सुरु गरेको थियो।

खाडीचउरदेखि सिन्धुपाल्चोकको मुडेसम्म २५ किलोमिटर र मुडेदेखि चरिकोटसम्म ३० किलोमिटर गरेर दुई प्याकेजमा ठेकेदार कम्पनीमार्फत २०७२ भदौदेखि सुरु भएको सडक विस्तारको काम ठेकेदारको लापरबाहीले बीचमै अलपत्र पर्दै आएको छ । निर्माण अवधिमा नयाँ संरचना बनाउन सडक भत्काइएकाले हिलाम्मे र खाल्डाखुल्डीका कारण आउजाउ गर्नेहरू सास्ती व्योहोर्दै आएका छन् ।

शुक्रबार तरुण दल र नेविसंघका कार्यकर्ताले सास्ती व्योहोर्नुपरेको आक्रोशका कारण सडकमै रोपाइँ गरे । बाजागाजा र नाराजुलुससहित कांग्रेसको जिल्ला कार्यालयबाट निस्किएका तरुण दल र नेविसंघका कार्यकर्ताले सडक खण्डको पाटी खोलानजिक धानको बीउ रोपेका थिए । रोपाइँपछि आयोजित कोणसभामा तरुण दलका जिल्ला अध्यक्ष दावा साङगे शेर्पाले जिल्लाको मुख्य प्रवेशमार्गमा चरम लापरबाही हुँदा समेत बेवास्ता गरेर सरकारले दोलखावासीलाई अन्याय गरेको बताए । शेर्पाले सडक निर्माण हुने वातावरण नबने सरकार र स्थानीय तहविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिए।

सडकको पहिलो खण्ड लामोसाँघु–मुडेको २५ किलोमिटर भारतीय ठेकेदार सीमाञ्चलका साथै नेपाली ठेकेदार कम्पनी गौरी पार्वती, सुनौला खिम्तीले ३९ करोडको संयुक्त साझेदारीमा ठेक्का लिएका थिए । यस्तै दोस्रो प्याकेजको मुडे–चरिकोट खण्डको ३० किलोमिटर भारतीय कम्पनी सकिल हैदर र नेपाली कम्पनी शंकर माली र सुनौला खिम्तीले संयुक्त साझेदारीमा ७० करोडको लागतमा ठेक्का सम्झौता गरेका थिए ।

तर, दुई वर्षभित्र सक्नुपर्ने सडक विस्तारको काम दुवै कम्पनीले टेवा पर्खाल र नाला बनाएर अलपत्र पारी छाडेका छन् । सुनौला खिम्तीका सञ्चालक भीमसेन भण्डारीले राजस्व छली गरेका कारण राजस्व अनुसन्धान विभागले बैंक खाता बन्द गरेपछि ७ महिनायता उनले दुवै प्याकेजको काम अलपत्र पार्दै आएका थिए।

दुई साताअघि गृह मन्त्रालयको आदेशमा सिन्धुपाल्चोक प्रशासनले भण्डारीलाई पक्राउ गरेको थियो । यस्तै दुवै प्याकेजका भारतीय र नेपाली ठेकेदारलाई समेत ठेक्का तोड्ने गरी सडक विस्तार आयोजनाले पत्र लेखेपछि पहिलो प्याकेजको कामको जिम्मा सुनौला खिम्तीले छाडेर गौरी पार्वतीले लिने र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको थियो । दुवै प्याकेजका ठेकेदारले माघसम्म ग्राभेलको काम र आगामी चैतसम्म कालोपत्रेको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको सडक विस्तार आयोजनाका प्रमुख केदार नेपालले जानकारी दिए ।


 

प्रकाशित: १६ असार २०७५ ०१:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App