खोटाङ– धेरैजसो युवायुवतीको अन्तिम धोको हुन्छ सरकारी जागिर खाने, परिवारलाई सुख सयलकासाथ पाल्ने। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी २४ वर्षीय कोपिला बस्नेत कार्कीलाई पनि लोकसेवा मोहले नछुने कुरै भएन। त्यही भएर श्रीमान प्रकाश कार्कीसँग कोपिलाले मरिमेटेर लोकसेवाको तयारी गरिन्। नभन्दै सरकारी जागीरमा प्रवेश गर्नका लागि मरिमेटेर लोकसेवा तयारी गरेका कोपिला र प्रकाशले गत बैशाखमा एकैसाथ वन रक्षकमा नाम निकाले। मेहनत गरे अनुसार श्रीमान श्रीमती दुबैले नै सरकारी जागिरमा नाम निस्कँदा परिवारमा खुसी छायो। वर्षौँको मेहनतले सार्थकता पाउँदा कार्की दम्पत्ती दंग थिए। तर, उनीहरुको त्यो खुसी दुई महिना पनि टिकेन। सोलुखुम्बुमा शुक्रबार बिहान भएको जीप दुर्घटनामा कोपिलाको मृत्यु भएको छ।
नेचासल्यान गाउँपालिका–२ सल्यानबाट सल्लेरी जाँदै गरेको को १ ज १८६० नम्बरको जीप दुर्घटना हुँदा कोपिला सहित ७ जनाको मृत्यु भएको हो। जीपमा सवार ७ जनाकै मृत्यु भएको प्रहरीले जनाएको छ। सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिक भएको जीप दुर्घटनामा ६ जनाको घट्नास्थलमै र एक जनाको उपचारकोक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूले जनाएको छ। दुर्घट्नामा कोपिलासहित ओखलढुंगा माम्खाका गाडी मालिक ४२ वर्षीय श्यामकुमार राई, उदयपुर शिरिसेका जीप चालक २१ वर्षिय कुसाङ तामाङ, सिराहका ३६ वर्षीय शिवकुमार यादव, सोलुखुम्बु नेचासल्यान–२ सल्यानका ३५ वर्षिया उर्मिला वास्तोला र सोही ठाउँकी २५ वर्षिया सुशीला खड्काको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी नेचासल्यान–२ की अन्दाजी ८ वर्षीया बालिका सुस्मा खड्काको फाप्लुमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले बताए। सुस्मा सुशीलाकी बहिनी हुन् ।
जीप सडकबाट करिब ६ सय हजार मिटर तल भीरमा खसेको थियो। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। नेचासल्यान गाउँपालिका पार गरेर सोलुदुधकुण्ड नगरपालिकाको तिङ्ला प्रवेश गर्नेक्रममा जीप पल्टिएको हो। ‘वरपर कोही नभएको र कोही नबाँचेकाले दुर्घट्नाको कारण खुल्न सकेको छैन,’ प्रहरी निरीक्षक अधिकारीले भने, ‘जीप व्याक भएको देखिन्न। सिधै भीरबाट उँदो खसेको देखिन्छ। यही कारणले दुर्घटना भएको भन्न गा-हो छ।’
भर्खरै मात्र निजामती सेवा प्रवेश गरेकी कोपिला जिल्ला बन कार्यालय सोलुखुम्बु अन्तर्गत सल्लेरीमा र प्रकाश नाम्चेमा खटिएर सरकारी जागीरे जीवन बिताउन सुरु गरेका थिए। कोपिला र प्रकाशको ४ वर्षकी छोरी छन्। निजामती सेवामा प्रवेश गर्नुअघि कार्की दम्पत्ती खाल्लेमै बसिरहेका थिए। बन रक्षकमा नाम निस्किएपछि उनीहरु आ–आफ्नो कार्यक्षेत्रमै बसिरहेका आफन्त दिनराज कार्कीले बताए।
प्रकाशित: १५ असार २०७५ १३:५९ शुक्रबार