coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

धान रोप्न खेतमा पसेका शशांकलाई नेता कार्यकर्ताले हिलाम्मे बनाइदिएपछि...

सिन्धुली– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सिन्धुलीको किसानको खेतमा धान रोप्न पुगेका छन्। १५ औँ राष्ट्रिय धान दिवसको अवसरमा कांग्रेस सिन्धुलीले आयोजना गरेको धान रोपाई कार्यक्रममा सरिक हुन यहाँको कमलामाई नगरपालिका ७ स्थित बर्देउटारको एक किसानको खेतमा कोइराला धान रोप्न पुगेका थिए। हाफ पाइन्ट र टिसर्टमा खेतमा पसेका कोइरालालाई नेता तथा कार्यकर्ताले हिलाम्मे बनाइदिए। स्थानीय केहि महिला रोपार तथा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको हुलसँगै उनले पनि केहि समय धान रोपेका हुन्। 

खेतमा चिप्लदै पुगेर एकैछिन धान रोपेपछि आधुनिक खेती नीति ल्याउनुपर्ने उनले औल्याए। किसान र नेता तथा कार्यकर्तामाझ सम्बोधन गर्न पुगेका कोइरालाले युवालाई जतिसक्दो धेरै सहभागी हुनेगरी आधुनिक खेती प्रणाली ल्याउनुपर्ने जनाए। ‘हाम्रो राष्ट्रमा खेतीमा चाहिने र सुन्दरताका लागि सम्पूर्ण सम्पत्ति छ, तर हामीले त्यसको प्रयोग गर्न सकेका छैनौ’, उनले भने। छोटो सम्बोधन गरेका महामन्त्री कोइरालाले किसान र कृषिकै विषयमा जोड दिए। 

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व कृषि मन्त्री रामकृष्ण यादवले कांग्रेसले किसानको मर्म र भावना बुझेर काम गर्ने प्रतिबद्धता जनाए। उनले सत्ता पक्ष नेकपालाई थोरै गाली गर्न समेत भ्याए। सरकारले नयाँ कुनै कार्यक्रम ल्याउन नसकेको भन्दै पछि यति बर्ष र उति बर्षमा गरौला भनेर जनता ढाट्ने गरेको आरोप लगाए। 

काँग्रेस किसानको खेत बारीमा पनि पुग्ने भन्ने सन्देश दिनका लागि धान दिवसको अवसर पारेर रोपाइ कार्यक्रम गरिएको तरुण दल सिन्धुलीका सभापति विजय कुवरले जानकारी दिए। 

सिन्धुलीमा धान रोपाइ सुरु

सिन्धुलीमा धान रोप्न ढिलो सुरु भएको छ। समयमा प्रशस्त पानी नपर्दा धान रोप्न ढिलो सुरु गरिएको हो। किसानका खेतमा प्रशस्त पानी नपुग्दा धान रोप्न ढिला सुरु भएको किसानहरु बताउँछन्। अघिल्ला बर्षहरुमा असारको पहिलो साताबाटै धमाधम धान रोप्न सुरु भएपनि यसबर्ष खेतमा लगाइएको मकै बालि समेत ढिलो पाक्दा असारको १५ हुँदा किसानका खेत बाझै देखिन्छ। ‘हामीले जोत्न समेत पाएका छैनौ, भर्खरै मकैबाली भित्र्याउदै छौ’, एक किसानले भने।

मकैबाली भित्र्याइसक्ने किसानले भने धमाधम धान रोप्न थालेका छन्। 

प्रकाशित: १५ असार २०७५ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App