८ वैशाख २०८१ शनिबार
समाज

रोल्पा ६ गाउँपालिका र १ नगरपालिका सिफारिस

हीराबहादुर घर्तीमगर    

रोल्पा– जिल्लामा अब छ गाउँपालिका र एक नगरपालिका हुने भएको छ। स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले जिल्लामा उक्त गाउँपालिका र नगरपालिका बनाउने प्रस्ताव सहितको प्रतिवेदन आयोगमा पठाएको हो।

जिल्ला विकास समितिका स्थानीय विकास अधिकारीसमेत रहेका प्राविधिक समितिका संयोजक सुशील वैद्यले मंगलबार जिविस सूचना हलमा पत्रकार भेटघाट आयोजना गरी उक्त प्रस्ताव सार्वजनिक गरेका हुन्। उनले प्रस्तावित नगर र गाउँपालिकाको बारेमा जिल्लाका सञ्चारकर्मीलाई औपचारिक रुपमा जानकारी दिए।

समितिका अनुसार जिल्लामा १० गाविस समेटेर लिबाङ नगरपालिका प्रस्ताव गरिएको छ। नगरपालिकामा समेटिएका गाविसमा भाबाङ, जंकोट, कोटगाउँ, ह्वामा, धबाङ, गजुल, खुमेल, लिबाङ, जेदबाङ र कोर्चाबाङ गाविसको वडा नं. ३, ४, ५ र ९ रहेका छन्। सदरमुकाममा नगरपालिका हुनलाई ४५ हजार जनसंख्या हुनु पर्ने भए पनि प्रस्तावित १० गाविसको जनसंख्या ४२ हजार २ सय ९२ मात्र रहेको छ। मौजुदा नगरपालिकासमेत रहेको लिबाङलाई जनसंख्याको मापदण्ड नपुगे पनि नगरपालिका बनाउन समितिले प्रस्ताव गरेको छ।

जिल्लाका पूर्वी आठ गाविसलाई समेटेर लुंग्री गाउँपालिका प्रस्ताव गरिएको छ। यो गाउँपालिकाको केन्द्र मिझिङ गाविसको सुलिचौरमा रहने छ। सुलिचौर पूर्वी रोल्पाको मुख्य व्यापारिक केन्द्र पनि हो। तर सुलिचौर बजारमै गाउँपालिकाको केन्द्र बनाउनलाई प्रर्याप्त मात्रामा खुला जग्गाको अभाव देखिन्छ। लुंग्री गाउँपालिकामा घोडागाउँ, खुंग्री, मिझिङ, पाङ, सीर्प, अरेश, तेबाङ र बडाचौर गाविस समावेश गरिएका छन्। प्रश्तावित गाउँपालिकाको कुल जनसंख्या ३८ हजार २ सय ६९ रहेको छ।

पूर्वी रोल्पाकै नौ गाविसलाई समेटेर सुनछहरी गाउँपालिका प्रस्ताव गरिएको छ। सुनछहरी गाउँपालिकाको केन्द्र जैमाकशला गाविसको पोवाङमा प्रस्ताव गरिएको छ। यो गाउँपालिकामा जेल्बाङ, गाम, स्युरी, हार्जङ, उवा, गुम्चाल, जैमाकशला, सेरम र फगाम गाविस रहेका छन्। सुनछहरी गाउँपालिकाको कुल जनसंख्या २६ हजार ८ सय २० रहेको छ। यो गाउँपालिका जिल्लामा खनिजका दृष्टिले अन्य गाउँपालिकाभन्दा सम्पन्न मानिन्छ।

उत्तर पूर्वी सात गाविसलाई समेटेर जलजला गाउँपालिका प्रस्ताव गरिएको छ। जलजला गाउँपालिकाको केन्द्र कुरेलीको खरिबोट या राङकोटको पुत्ला खोला हुन सक्ने प्रस्ताव गरिएको छ। यो गाउँपालिकामा थबाङ, मिरुल, रांकोट, पाछाबाङ, इरिबाङ, राङसी र कुरेली गाविस रहने छन्। यो गाउँपालिकाको कुल जनसंख्या २७ हजार ६ सय ८९ रहेको छ। जलजला जिल्लाको धार्मिक तथा पर्यटकीय गन्तव्य पनि हो। यहीबाट माओवादीले सिस्ने जलजला ‘सिज अभियान’ पनि शुरु गरेका थिए ।

थबाङमा केन्द्र हुनु पर्ने माग राखेर आन्दोलित थबाङ बासीको मागलाई सम्बोधन गर्न समितिले थबाङलाई हिमाली गाविसमा राखेर विशेष क्षेत्र कायम गर्न सिफारिस गरेको छ। थबाङ विशेष क्षेत्र हुन नसके यो गाउँपालिकाको केन्द्र कुरेली हुने करिव पक्का छ। थबाङ विशेष क्षेत्र भएमा यो गाउँपालिकाको केन्द्र रांकोटको पुत्ला खोला करिव निश्चित जस्तै देखिन्छ। समितिको यो प्रस्तावले ‘थबाङमा केन्द्र हुनु पर्छ’ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर हालै ज्ञापन पत्र पेश गरेका थबाङ बासीको माग करिब पूरा नहुने देखिएको छ। थबाङलाई केन्द्र बनाउन छिमेकी गाविस मिरुल बाहेक अरु कुनै पनि गाविस तयार नभएको समितिले जनायो। प्रस्तावित गाउँपालिकाले विद्रोही थबाङलाई थप चिढाउने संकेट देखिएको छ।

जिल्लाका सात पश्चिमी गाविलाई समेटेर सुकीदह गाउँपालिका प्रस्ताव गरिएको छ। इरिबाङ गाविसमा पर्ने सुकीदहमा तत्कालिन माओवादीको तालिम केन्द्र थियो। उक्त तालिम केन्द्रमा प्रहरी हमला हुँदा ११ जना माओवादी लडाकु मारिएका थिए। यो गाउँपालिकाको केन्द्र घर्तीगाउँ गाविसको घर्तीगाउँ वा जिनाबाङ गाविसको सुखा ओढार रहने छ। यो गाउँपालिकामा राँक, पाखापानी, तालाबाङ, जिनाबाङ, ओत, घर्तीगाउँ र कोर्चाबाङ गाविसका १, २, ६, ७ र ८ वडा रहने छन्। सुकीदह गाउँपालिकाको कुल जनसंख्या ३३ हजार ५ सय ८९ रहेको छ।

जिल्लामा पाँच वटा गाविसलाई मात्र समेटेर त्रिवेणी गाउँपालिका पनि प्रस्ताव गरिएको छ । यो गाउँपालिकाको केन्द्र नुवागाउँको त्रिवेणी वा गैरीगाउँको तिला रहन सक्ने प्रस्ताव गरिएको छ । यो गाउँपालिकामा जुगार, गैरीगाउँ, बुढागाउँ, करेती र नुवागाउँ रहेका छन्। गाउँपालिका हुन २५ हजार जनसंख्या हुनु पर्ने भए पनि प्रश्तावित त्रिवेणी गाउँपालिकाको कुल जनसंख्या २२ हजार ९ सय ५७ मात्र रहेको छ । यो सबैभन्दा कम गाविस समेटेर बनाइएको गाउँपालिका पनि हो ।

त्यस्तै जिल्लाका छ गाविसलाई समेटेर रुन्टी गढी गाउँपालिका प्रस्ताव गरिएको छ । रुन्टी गढी स्वर्गद्धारी महाप्रभुको जन्म स्थल पनि हो । यो गाउँपालिकामा समावेश गरिएका गाविसमा झेनाम, सखी, जौलीपोखरी, मसिना, दुविडाडाँ र दुव्रिङ रहेका छन । यो गाउँपालिकाको केन्द्र होलेरी रहने जनाइएको छ । यो गाउँपालिकाको कुल जनसंख्या पनि २६ हजार ५ सय ७० मात्र रहेको छ । २०५२ साल फागुन १ गते माओवादीले होलेरीमा रहेको प्रहरी चौकीमा आक्रमण गरी १० वर्षे सशस्त्र विद्रोहको शुरुवात गरेका थिए ।

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गाउँपालिका र नगरपालिका सिमांकनको झन्डै डेढ सय पृष्ठ लामो प्रतिवेदन आयोगमा पठाएको छ । समितिलाई जिल्लाका विभिन्न गाविसबाट १ सय ८६ पृष्ठको भारी सुझाव पनि प्राप्त भएको थियो । अधिकाश सुझाव गाउँपालिकाको केन्द्र आफ्नो गाविसमा हुनु पर्ने मागमा केन्द्रित थिए । समितिका संयोजक समेत रहेका स्थानिय विकास अधिकारी वैद्यले भने ‘अधिकांश सुझाव आ–आफ्नो गाविसलाई केन्द्र बनाउनु पर्छ भन्ने मात्र आयो । रोल्पामा यस्तो खालको नगर र गाउँपालिका बनाउनु पर्छ भन्ने सुझाव त आउँदै आएन।’

समितिले जनसंख्या धेरै भएका जिल्लाका केही गाविसमा दुई वटा वडा कायम गर्न सिफारिस समेत गरेको छ । ती गाविसमा सीर्प, बडाचौर लगायतका गाविस रहेका छन । समितिले जिल्लाको सवैभन्दा ठूलो र विगत गाविस गाममा जनसंख्या कम भए पनि भौगोलिक विकटतालाई मध्य नजर गरेर दुई वटा वडा कायम गर्न सिफारिस पनि गरेको छ ।

छ वटा गाउँपालिका र एक वटा नगरपालिका बनाउने प्रस्तावमा राप्रपा नेपाल बाहेक जिल्लाका अन्य राजनीतिक दलले पनि सहमति जनाएका छन । राप्रपा नेपालले जिल्लाका तीन वटा गाउँपालिकाको केन्द्र वैकल्पिक रुपमा दुई वटा प्रस्ताव गरिएकोमा आपत्ति जनाउँदै सहमतिमा आउन नसकेको समितिले जनायो । गाउँपालिकाको केन्द्र एउटै हुनु पर्ने माग राप्रपा नेपालको रहेको थियो ।
जिल्लाका राजनीतिक दलले आयोगमा ११ वटा गाउँपालिका बनाउन अनुरोध गरेका छन । राजनीतिक दलले ११ वटा नगर र गाउँपालिका बनाउनु पर्ने बताए पनि नगर र गाउँपालिकामा समेटिने गाविस भने किटाएका छैनन । अहिलेकै मापदण्ड बमोजिम पनि जिल्लामा अधिकतम आठ वटा गाउँपालिका बनाउन सकिने प्रावधान रहेको छ । तर स्थानिय तह पुनःसंरचना आयोगले जिल्लालाई अधिकतम सात वटा मात्र गाउँपालिका बनाउन निर्देशन गरेको थियो । आयोगले निर्णय गर्ने क्रममा त्रुटी भएको जनाएको छ ।   
पछिल्लो समय जिल्लाका राजनीतिक दलले पाँच वटा गाउँपालिका बनाउन प्रस्ताव गरे पछि त्यसको चर्को विरोध भएको थियो । विरोध थेग्न नसके पछि स्थानिय तह पुनःसंरचना प्राविधिक सहयोग समिति र जिल्लाका राजनीतिक दल पुनः एक नगरपालिका र सात वटा गाउँपालिका बनाउने पुरानै प्रस्तावमा फर्किएका हुन ।
विरोध ठेग्न नसकेर नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुरेन्द्र थापा घर्तीमगरले रिसको झोकमा स्थानिय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको निर्णय पुस्तिका भदौ १८ गतेको बैठकमै च्याटेर हिडेका थिए । प्राविधिक समितिको निर्णय पुस्तिका च्याटिए पछि जिल्लाका अन्य राजनीतिक दल अन्यौलमा परेका थिए । गाउँपालिकाको संख्या बढाउन जिल्लाका कतिपय गाविसले जिविसको ध्यानाकर्षण समेत गराएका थिए । पछिल्लो समय जिल्लामा गाउँपालिकाको संख्या र केन्द्रका विषयलाई लिएर विरोध गर्ने क्रम बढेर गएको थियो । समितिको पछिल्लो निर्णय आयोगमा गई सकेको हुनाले जिल्लामा अब विरोधका कार्यक्रम कम हुने समितिको आंकलन छ ।

स्थानिय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले जिल्लामा एक नगरपालिका र सात गाउँपालिका बनाउन गरेको प्रस्ताव ।

प्रकाशित: २१ भाद्र २०७३ १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App