coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘सहर प्रकृतिसँग टाढा हुँदै गएको छ’

प्रकाश सपुत, गायक
तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई मनपर्ने सहर पोखरा हो । तुलनात्मक हिसाबले पनि यो सहर अन्यभन्दा शान्त र व्यवस्थित छ । मलाई अलि एकान्त र शान्त ठाउँ मनपर्छ । फेवातालको किनारमा बस्दा आनन्द आउँछ । पोखरा सहरको वरिपरि सफासुग्घर छ । पोखरा धेरै मानिसको सपनाको सहर पनि हो।

काठमाडौं कस्तो लाग्छ ?
मौसम र सेवा–सुविधाको हकमा काठमाडौं धेरै राम्रो छ । यहाँ गाउँको जस्तै हावापानी छ । न बढी जाडो, न बढी गर्मी नै हुन्छ यहाँ । यो हिसाबले अन्य सहरभन्दा फरक छ ।

काठमाडौं देशैभरिका मानिसको संगम स्थल पनि हो । यहाँ दुरदराजबाट आएर भविष्य सुर्धाने मानिसहरू धेरै छ । यहाँ हरेक ठाउँका मानिस विभिन्न काम–पेसा गरेर बसेका छन् । तर, यहाँको भीडभाड, लथालिंग अवस्था देख्दा दिक्क लाग्छ।
काठमाडौंमा केको अभाव देख्नुहुन्छ ?
यहाँ आराम गर्ने र घुम्ने ठाउँको अभाव हुँदै गएको छ । मानिसको संख्या बढ्दै जानु तर सरकारी निकायले त्यही हिसाबले काम नगर्दा सहर अव्यवस्थित भएको हो । सहरमा बालबालिका, वृद्ध र युवाका लागि आराम गर्ने पार्क छैनन्।

तपाईँको विचारमा के कारणले उपत्यका अस्तव्यस्त र कुरूप भयो ?
सहरी इलाकाका जग्गामा कंक्रिट भवन ठडिएका छन् । प्राकृतिक कुराहरू लोप हुँदै गएका छन् । अझै पनि यो क्रम रोकिएको छैन । सहरका साँघुरा भित्री गल्ली जोखिमपूर्ण छन् । प्रकृतिसँग टाढा रहेर सहरको विकास हुन्न । विकास भनेको प्रकृतिमैत्री हुनुपर्छ ।

सहरका संरचनामा प्राकृतिक छनक देखिुनपर्छ । तर, हाम्रो देशको यसको अभ्यास भएको छैन । सहरमा आफूखुसी भवन ठडिएका छन् । सरकारी निकायले पनि यसमा कडाइ गर्न सकेको  छैन।

कुन–कुन देशका सहर घुम्नुभएको छ ?
मैले पाँचभन्दा धेरै देशका सहर घुमेको छु । जापान, अस्ट्रेलिया, कोरिया, दुबई, कतारलगायत देशका सहर घुमेको छु । यी देशका सहर ज्यादै सुन्दर लाग्यो।

यी सहर किन मनपर्यो ?
सहरका हरेक ठाउँ व्यवस्थित छन् । सरकारले नै सहरलाई नियन्त्रणमा राखेको छ । कुनै जमानामा विकास र आर्थिक स्थायित्वमा पछि परेका मुलुक अहिले हामीभन्दा कैयौँ गुणामाथि पुगेका छन् ।

जनता र राज्य मिल्ने हो भने देशको विकास गर्न धेरै समय लाग्दैन । विदेश सहर यति सुन्दर र व्यवस्थित हुनुको कारण त्यहाँको नीति–नियम पनि हो । मुख्य कुरा हाम्रो देशमा नीति नियम फितलो भयो । भएको कानुनको पनि पालना नगरिएका कारण सहर झन् अस्तव्यस्त बन्दै गएको छ ।

हाम्रा सहर विदेशका सहरजस्तै बन्न सक्दैनन् ?
प्रकृतिले हामीलाई अथाह सम्भावना दिएको छ । संसारमा कहीँ पनि यहाँको जस्तो प्राकृतिक सुन्दरता छैन । यहाँको मौसम र हराभरा हेर्न विदेशीहरू आउने क्रम बर्सेनी बढ्दै गएको छ । सरकार र आम नागरिकले चाहने हो भने विदेशका सहरभन्दा सुन्दर बन्न सक्छन्, हाम्रा सहर ।

मुख्य कुरा त हामीले राजनीतिक परिवर्तनतिर धेरै समय बितायौं । विकासको धेरै समय राजनीतिले खायो । अझै पनि राजनीतिक अवस्था सन्तोषजनक, जनमैत्री र विकासमैत्री बन्न सकेको छैन।

तपार्इँको विचारमा सहर कसरी व्यवस्थित बन्ला ?
सहरवासी नै जागरुक हुन जरुरी छ । सरकारले चाहने हो भने सहरलाई केही वर्षमै व्यवस्थित पार्न सक्छ । अहिले पनि कहिँ कतै विकासका काम भएका त छन् । तर, सन्तोषजनक छैनन्।

उपत्यकामा नागरिकले खेप्नुपरेको मुख्य समस्या के देख्नुहुन्छ ?
अरु देशका सहरमा नागरिकले भन्दा बढी सास्ती सरकारले व्यहोरेको हुन्छ । विकास निर्माणका काममा नागरिकले कुनै सास्ती खेप्नुपर्दैन । रातारात विकास भएका हुन्छन् । हाम्रोमा त ठ्याक्कै उल्टो छ । बाटोघाटो निर्माण, सरसफाइ, पार्क निर्माण, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथामका कामै भएका छैनन् । सरकारले यी समस्यालाई छिटो समाधान गर्नतिर लाग्नुपर्याे।

विदेश र हाम्रा सहरबीच के भिन्नता देख्नुभयो ?
विकास र व्यवस्थित पक्षलाई हेर्ने हो भने विदेशका सहर हामीभन्दा धेरै नै अघि छन् । हरेक देश नीति–नियममा बाधिएका छन् । सरकारले ल्याएको नियम पालना भएको छ  ।

हाम्रो भएको कानुन र नीति नियम मानिएको छैन । प्रकृतिले दिएको र पुर्खाले सिर्जे कुरामा हामी अन्य मुलुकभन्दा भिन्न छौँ । यहाँका मठ–मन्दिर विश्वकै नमुना हुन् । यस्ताखाले धेरै पुराना र ऐतिहासिक मन्दिर विश्वमा अन्त छैनन् । उपत्यकामा हजारौँ वर्ष पुराना सम्पदा छन्, विभिन्न जात्रा–पर्व छन् । हामी प्राकृतिक र भौगोलिक रूपमा पनि भिन्न छौँ । मौसम, हिमाल र डाँडाकाँडा हेर्नेकै लागि आज धेरै देशका पर्यटक नेपाल आएका छन्।

तपाईं आफू बसेको सहर कस्तो होस् भन्ने लाग्छ ?
म बसेको सहर प्राकृतिक होस् । सहरको विकास प्रकृतिमैत्री होस् । सडकमा आसपासमा रुखहरू रोपिएका हौंओन् । सहरमा बिजुलीबत्ती, पानी, सडक, सार्वजनिक यातायात र सुरक्षा सहज होस् । आराम गर्ने र आफन्त भेट्ने पार्क होऊन्स्वच्छ हावा, हरियाली, शान्त र सबैखाले सेवा–सुविधा होस् । यति भयो भने सहरमा मन रमाउँछ होला।

उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष के हो ?
यहाँका पुराना मठ–मन्दिर । हावापानी मलाई असाध्यै मनपर्छ । यहाँको मौसम पनि सदावहार छ।

मननपर्ने पक्ष ?
ट्राफिक जाम र धुलोधुवाँ, भीडभाडजस्ता पक्ष राम्रो लाग्दैन।

सहरवासीको बानी कस्तो लाग्छ ?
हरेक देशका सहरलाई शान्त र सफा राख्न त्यहाँ बस्ने नागरिकको मुख्य दायित्व हुन्छ । हाम्रो देशमा नागरिक सहरप्रति त्यति संवेदनशील छैनन् । सहरवासीले मेरो दायित्व के हो भन्ने मनन नगर्दा सहर यति साह्रै अस्तव्यस्त र फोहोर भएको हो । यति आफूले थोरै समय दिएर सहजै गर्न सक्ने काम गरेको भए सहर यति साह्रै बिग्रने थिएन । सहरका चोक–चोक र गल्ली–गल्लीमा फोहोर देखिने थिएन।

पछिल्लो समय पुगेको सहर कुन हो ?
केही समयअघि मलेसिया पुगेको थिएँ।

मन भएर पनि पुग्न नपाएको सहर ?
मलाई हङकङ जान मन छ । प्रायः कलाकारको वैदेशिक यात्रा पनि यहीँबाट हुन्छ भन्ने सुनेको छु । एकपटक त्यहाँका सहर घुम्न मन छ।

उपत्यकाभित्र कतै घुम्न जानुपर्यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
चोभार, गोदावरी र ककनीतिर घुम्न मनपर्छ।

सहरको मनपर्ने खानेकुरा ?

मलाई भक्तपुरको जुजु धौ मिठो लाग्छ  
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १५ असार २०७५ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App