coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

धमाधम सडक कालोपत्रे

ज्ञानेश्वरबाट टंगाल जाने सडकमा गरिएको कालोपत्रेमाथि कालोपत्रे

कालोपुलबाट ज्ञानेश्वर र टंगाल जाने सडक दुई वर्षअघि बिग्रदा लामो समयसम्म हिलाम्मे र धुलाम्मे रह्यो । अघिल्लो वर्ष कालोपत्रे गरेपछि भने सडक चाक्लो छ।

आइतबार भने सडक झनै चाक्लो बनाइयो । कालोपत्रे बिग्रिएको थिएन्, मर्मतसम्भार भन्दै रातरात कालोपत्रे गरेर सडक चिलाइयो । त्यहाँ मात्रै होइन्, तीनकुने सडक खण्डमा पनि मर्मतसम्भार भन्दै कालोपत्रे माथि कालोपत्रे थपेर चिल्लो बनाइएको छ ।

गोकर्णेश्वर आरुबारीको मुल सडक बिग्रिएको त आधा दशकै भयो । विस्तार गर्ने भन्दै सडकलाई मर्मत नगरेपछि असारे खेत जस्तै भएको थियो । असार लागेसँगै हिलो पन्छाएर सडकको कालोपत्रे गर्ने तयारी थालिएको छ । बेस तथा सबवेस राख्ने काम सम्पन्न भएकाले यसै हप्ता सडक कालोपत्रे गराइदैछ ।बौद्धबाट तीनचुलीचोक निस्कने र तीनचुली चोकबाट कपन जाने सडक बिग्रिएको त झन ५ वर्ष बढी भयो । सोमबार सडकमा अलकत्र ओछ्उँदा भने स्थानीय चकित नै परे ।

कालोपत्रेको लागि सडकमा अलकत्र ओछ्याएर छोडिएको छ । त्यहाँ मात्रै होइन्, लाजिम्पाटबाट डेनमार्क दुतवास हुँदै उत्तरढोका निस्कने भित्रि सडक पनि बिग्रिएको वर्षौपछि अलकत्र ओछ्याएर कालोपत्रेको तयारी गरिएको छ ।कालोपत्रे रहेकै ठाउँ तथा भइरहेको ठाउँ र वर्षौ कालोपत्रे गरिएको ठाउँमा कालोपत्रेको तयारी हुँदा भने स्थानीय चकित छन् । ‘अबचाँही धमधम सडक बन्ने रहेछ ।’ भन्ने स्थानीयलाई लागेको छ । तर, यो भने सडक धमधम बनाउने अभियान थालिएको नभएर असारे विकास हो।

यी केही ठाउँ मात्रै होइन् असार लागेपछि उपत्यकाभित्रका हरेक टोलटोलमा सडक पिच हुन थालेका छन् ।
पुरानो बानेश्वरबाट नयाँ बानेश्वर जाने सडक हिउँदभरी धुलाम्मे भएर बस्यो । यात्रुले धुलो र हिलोको मार खेप्दा पनि कालोपत्रे नभएको सडक अघिल्लो हप्ता चाक्लो बनाइयो । काठमाडौं सडक डिभिजन कार्यालय १ ले सडकको कालोपत्रे गरेको हो । कार्यालय एकले अहिले दर्जन बढी सडकमा कालोपत्रे गराइरहेको छ।

काठमाडौं महानगरपालिकाले पनि आफ्नो मातहतका ५६ वटा सडक कालोपत्रे गराउने काम गरिरहेको छ । ‘असार ३० गतेसम्म सम्पन्न गर्नेगरी नगरभित्रका ५६ वटा सडक कालोपत्रे गराउने काम गरिरहेका छौं,’ महानगरपालिका पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले भने, ‘बैशाखबाटै कालोपत्रे गर्न थालेका हौं ।’ वर्षयाम भएपनि पानी नपरेको बेला पारेर कालोपत्रे गरिरहेकाले दिगो हुने उनले दाबी गरे ।

वर्षयाममा गरिएका सडकको कालोपत्रेको गुणस्तर भने यही वर्षा समेत नथेग्ने खालको हुने सडक इन्जिनियरहरु नै बताउँछन् । ‘सडक कालोपत्रेको शत्रु भनेकै पानी हो,’ सडक विभागका एक इन्जिनियर भन्छन्, ‘असारमा कतिबेला पानी पर्छ थाहा नै हुँदैन्, सडक कालोपत्रेको क्रममा पानी पर्यो भने त्यो कालोपत्रे दुई महिना पनि टिक्दैन्।’

त्यसो त सडक विभागका प्रवक्ता मुक्ति गौतम पनि असारमा कालोपत्रे नगर्दै राम्रो मान्छन् । ‘सकेसम्म वर्षयाममा कालोपत्रे नगर्दा राम्रो हो,’ विभाग प्रवक्ता गौतमले भने, ‘गर्नै परेपनि उपयुक्त मौसम हेरेर गर्नपर्छ ।’ उनकै अनुसार पनि कालोपत्रेको क्रममा पानी पर्दा कालोपत्रे दुईचार महिनामै भत्किन थाल्छ।

तर, आर्थिक वर्षको अन्त्यमा हुनै लाग्दा बजेट सक्नकै लागि भएपनि सडक विभाग र यस अन्तर्गतका कार्यालयले असारमा टालटुले काम गर्न थाल्नु नौलो होइन् । वर्षेनी यही समयमा सडक विभाग र यस अन्र्तगका कार्यालयले यसैगरी सडकको टालटुले विकास हुँदै आएका छन् ।इन्जिनियरका अनुसार वर्षका बेला गरिएको कालोपत्रे गतिलो हुँदैन । गुणस्तरहीन पिचका कारण पानी परेसँगै भत्किने सम्भावना हुन्छ । तर, बजेट सक्न उपत्यकाभित्र हिउँदभरि पिच नगरिएका सडकसमेत असार लागेपछि धमाधम पिच गरिनु नौलो होइन्।

अघिल्लो वर्ष साउन १ गते १५ दिन भित्र खाल्डा टाल्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका थिए । तर, सडक विभागले भने वर्षयाममा टालेको खाल्डा दुई महिना पनि नटिक्ने भन्दै माटो हालेर पुर्यो, कालोपत्रे गरेन । यस पटक भने असार महिनै रहेकाले धमधम सडकका खाल्डा समेत टाल्न थालिएको छ । नियमित सडक मर्मत भन्दै सडकका खाल्डामा कालोपत्रे गर्न थालिएको हो।

‘हामीले सडकमा परेका खाल्डालाई खोजीखोजी टाल्दै आएका छौं,’ विभागका प्रवक्ता गौतम भन्छन्, ‘त्यो नियमित कार्यक्रम रहेकाले त्यसलाई असारे विकास मान्नु गलत हो ।’ वर्षभरी नै विभागले सडकमा खाल्डा खोजीखोजी टाल्दै आएको दाबी उनको छ । गौतमको दाबी भने नियमति सडक प्रयोगकर्ता पत्याउँदैनन् । ‘हिजोआज चाँही सडकमा खाल्डा टाल्न थालेको देखिन्छ,’ त्रिपुरेश्वरमा भेटिएका मोटरसाइल चालक रामशरण दाहालले भने, ‘पोखरी जस्ता खाल्डा पर्दा पनि यसअघि भने टालेको कतै देखिएन ।’यतीबेला सडकको मर्मत, कालोपत्रे वा खाल्डा टाल्ने काम गरेपनि त्यो कालोपत्रे दसैंसम्म पनि नटिक्ने जिकिर सडक विभागकै कर्मचारीको छ।

अघिल्लो वर्ष पनि असारमै पिच गरिएको सहिदगेट सडक दुई सातामै उप्किएको थियो । त्यहाँ मात्रै होइन्, अन्य ठाउँमा पनि कालोपत्रे दुईचार महिना समेत नटिकेको उदहरण रहेको विभागका इन्जिनियरले बताए । वर्षयाममा गरेको कालोपत्रे नटिक्ने समस्या भएपनि असारमा कालोपत्रे गर्न भने नरोकिएको ती इन्जिनियर बताउँछन् ।
काठमाडौं सडक डिभिजन कार्यालय–१ का एक प्रमुख मुकुन्द अधिकारी असारमा तुलनात्मक रूपमा सडक मर्मत तथा कालोपत्रे बढी हुने बताउँछन् ।

‘असारमा बढी पिच हुन्छ,’ अधिकारीले भने, ‘आर्थिक वर्षको अन्तिममा कतिपय ठेक्काको म्याद सम्पन्न हुन लागेको हुन्छ भने कतिपय ठेक्काहरु भुक्तानी लिनको लागि काम सम्पन्न गरिन्छ ।’ उनका अनुसार असार महिना मनसुनको महिना भएकाले कालोपत्रे गर्नको लागि उपयुक्त महिना मानिदैन् । मनसुनको कारणले गर्दा कालोपत्रे नटिक्ने समेत हुन्छ । तरपनि, सर्वासाधरणको समस्यालाई मध्येनजर गरेर कालोपत्रे गर्नपर्ने उनले सुनाए।

असारमै कालोपत्रे गर्नपर्ने अर्को बाध्यताचाँही समयमै भुक्तानी नभएको पनि उनको भनाई छ । ‘ठेकेदारले मंसिरमा काम गर्दापनि भुक्तानी असारमै पाउँछन,’ उनले भने, ‘त्यो भएपछि ठेकेदार पनि असारमै काम गर्छन् र काम सम्पन्न लगातै भुक्तानी लिन्छन्।’ ठेकेदार कम्पनीलाई काम सम्पन्न भएलगतै भुक्तानी नगर्नुले पनि असारे विकास हुने गरेको उनको भनाई छ । असारे विकासको प्रणाली भने बदल्नुपर्ने तर्क अधिकारी राख्छन् । डिभिजन कार्यालयले मात्रै एक दर्जन बढी ठूला सडक कालोपत्रे गरिरहेको छ भने आधा दर्जन साना सडक कालोपत्रे गरिरहेको उनले जनाए । काठमाडौंमा दुई वटा, भक्तपरमा एक र ललितपुरमा एक गरेर उपत्यकामा ४ वटा डिभिजन कार्यालय छन।

मध्यमाञ्चल क्षेत्रिय सडक निर्देशनालयका प्रमुख शिवहरि सापकोटा भने भुक्तानीको अंक लिएर असारे विकास मान्न नहुने बताउँछन् । ‘आर्थिक वर्षको अन्तिम भएकाले तुलनात्मक रुपमा भुक्तानी बढी हुनु स्वाभाविक हो,’ सापकोटाले भने, ‘त्यसलाई नै असारे विकास मानिनु गलत हो ।’ उनका अनुसार पनि मनसुनको अवस्था हेरेर असार महिनामा धेरै सडक कालोपत्रे गराइन्छ ।

कालोपत्रे सडकको अन्तिम काम हो । सडक निर्माणमा अन्य काम गर्दा कालोपत्रे अन्तिम अर्थात असारमा हुने गरेको उनले स्विकारे । ‘असारमा कालोपत्रे गरियो भन्दैमा असारे विकास हुँदैन्,’ उनले भने, ‘काम गर्दै जाँदा असार संयोग भएको मात्रै हो ।’ निर्देशनालय अन्तर्गत उपत्यकाभित्रका चार वटासमेत गरी ११ डिभिजन कार्यालय छन् । यी कार्यालयबाट यतिबेला सडक कालोपत्रेको धमधम काम भइरहेको उनले बताए।

‘सबवेस, सवग्रेड र नाली तयार भएको सडकमा मौसमको अनुकूलता हेरेर कालोपत्रे गर्नुपर्छ,’ उनले भने, ‘बजेट सक्नकै लागि काम गरेको होइन ।’ असारमा गरेको कालोपत्रे दिगो हँुदैन भन्ने धारणा गलत भएको उनले बताए । आर्थिक वर्षपछि सामान्यतया दशैं पछाडि निर्माणका काम हुन थाल्छन् । पाइपलाइन विछ्याउने, समुदायमा आएका विवाद मिलाउने, निर्माण सामग्रीको अभाव लगायतका कारणले गर्दा कालोपत्रेको समय भने असारमै पुग्ने गरेको विभागमा प्रवक्ता गौतम बताउँछन् । झन यस पटक चैत्रदेखि नै मनसुन शुरु भएपछि धेरै सडक कालोपत्रे गर्न नपाएको उनले बताए।

‘असारमा गरिएका कालोपत्रे दिगो नहुने भन्ने हुँदैन्,’ मध्यमाञ्चल क्षेत्रिय सडक निर्देशनालयका प्रमुख सापकोटा भने, ‘यदी असारमा गरेको कालोपत्रे कमसल भएमा ठेकेदारलाई नै बनाउन लगाउँछौं ।’ उनका अनुसार ठेकेदारलाई मौसम अनुकुल पारेर कालोपत्रेको काम लगाएको छ । मौसम प्रतिकुल हुँदा कालोपत्रे गरेर चाँडै भत्किएको खण्डमा ठेकेदारलाई नै बनाउन लगाउने उनको दाबी छ ।नेपाल बिटुमिन तथा व्यारेल लिमिटेडका रमेश हुँमागाईंका अनुसार गुणस्तरीय बिटुमन नल्याउँदा सडक चाँडै भत्किने बताउँछन् । सडकमा नाली नहुँदा पानी जम्दा कालोपत्रे लामो समय टिक्न नसकिरहेको उनको भनाई छ ।


 

प्रकाशित: १५ असार २०७५ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App