coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वृक्षरोपणका लागि बिरुवा उत्पादन

नुवाकोट - वातावरणीय सन्तुलनका लागि आवश्यक भूभागमा वनक्षेत्र कायम गर्ने राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वअनुसार जिल्ला वन कार्यालय नुवाकोटले खाली जग्गामा वृक्षरोपण गर्न विभिन्न जातका तीस हजारभन्दा बढी बिरुवा उत्पादन गरेको छ।

उत्पादित बिरुवामा खोटेसल्ला ११ हजार १ सय ९ वटा, खयर २ हजार ६८ वटा, पारिजात ५ सय ५२, धुपी ४ सय ८४, सिमल ३ वटा, कपुर ६६, सिसौं १३ हजार २ सय ७७, तेजपात ५ सय २८, मसला १ हजार २ सय ७२, बकाइनो ५ सय ६ र राजवृक्ष २ वटा गरी तीस हजार दुई सय सत्रवटा छन्।

अघिल्ला वर्षका तुलनामा कम बिरुवा उत्पादन गरिएकाले वृक्षरोपण गर्न चाहने व्यक्तिलाई १० देखि १५ वटासम्म र सामुदायिक वन, समूह तथा संघसस्थालाई मागअनुसार बिरुवा उपलब्ध गराउने जिल्ला वन अधिकृत पद्मराज नेपालले बताए। ‘बर्खाको मौसमलाई वृक्षरोपण गर्न उत्तम मानिन्छ। कार्यालयले अघिल्ला वर्षझैं यस वर्ष पनि विभिन्न जातका बिरुवा उत्पादन गरेको छ। वृक्षरोपणका लागि असार १७ गते आइतबारदेखि निःशुल्क बिरुवा वितरण गर्छौं,’ नेपालले भने, ‘सडक विस्तार गर्दा वनमा समस्या आएको छ। वन समूह, स्थानीय तह, प्रहरी, प्रशासनसँग सहकार्य गरी समस्या समाधान गर्छौं।’

गएको वर्ष वन कार्यालयले एक लाख २० हजारवटा बिरुवा उत्पादन गरेको थियो। स्थानीय तहमा कार्यक्रम गएकाले बिरुवा उत्पादन नगरेको र जिल्ला वन कार्यालयमा पनि वार्षिक कार्यक्रम नआएकाले बिरुवा उत्पादन घटेको वन कार्यालयले जनाएको छ।

जिल्लाको कुल भूभागको ४३.६१ प्रतिशत भाग जंगलले ढाकेको सरकारी तथ्यांकमा उल्लेख छ । जिल्लामा ३ सय ८१ वटा सामुदायिक वन रहेका छन्।

प्रकाशित: १५ असार २०७५ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App