८ वैशाख २०८१ शनिबार
अर्थ

शिक्षाका लागि साढे ७ करोड बजेट

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिकाले शिक्षा क्षेत्र सुधारका लागि साढे ७ करोड बजेट विनियोजन गरेको छ। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न आर्थिक वर्ष २०७५/७६ का लागि सात करोड ५१ लाख ६६ हजार बजेट विनियोजन गरिएको हो।

शिक्षा क्षेत्र विकासका लागि वित्तीय सामान्यीकरणतर्फ ९६ लाख ५१ हजार र ससर्त अनुदानतर्फ ६ करोड ५५ लाख ७ हजार बजेट रहेको नीति तथा कार्यक्रममा उल्लेख छ। विद्यालयहरू अपांगमैत्री निर्माण गर्ने योजनामा उल्लेख छ।

गाउँपालिकाको तेस्रो गाउँसभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रममा विद्यालय सुधार कार्यक्रमअन्तर्गत नौवटा योजना समेटिएका छन्। एक घण्टाभन्दा बढी पैदलयात्रा गरेर आउने विद्यार्थीका लागि छात्रावासको व्यवस्था गर्ने, विद्यार्थी संख्या र दूरीका आधारमा विद्यालय गाभ्दै लैजाने, कक्षा ८ तथा माध्यमिक शिक्षा परीक्षा (एसइई) फाइनल परीक्षाको दुई महिनाअगावै कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गरिनेछ।
विद्यालयबाहिरका बालबालिकालाई विद्यालय ल्याउनका लागि गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। ‘विद्यार्थी संख्या, विद्यालयको दूरीका आधारमा विद्यालय एकआपसमा गाभिँदै लगिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ, ‘साथै विकट भूगोलका कारण शिक्षाको पहुँचबाट वञ्चित बालबालिकालाई शिक्षाको पहुँचमा पु-याउन आवश्यक ठाउँमा बालविकास केन्द्र सञ्चालन गरिनेछ।’

गाउँपालिकाका २९ वटा सामुदायिक विद्यालयलाई प्रविधिमैत्री तथा बालमैत्री बनाउने कामलाई विशेष प्राथमिकता दिइएको गाउँपालिकाकी उपाध्यक्ष सृजना लामाले बताइन्। ‘गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको छ,’ उनले भनिन्, ‘यसका लागि विद्यालयलाई बालमैत्री र प्रविधिमैत्री बनाउनुपर्ने देखिन्छ।’ गाउँपालिकाले गत वर्ष शिक्षा क्षेत्रका लागि बजेट विनियोजन गरेको थिएन।

गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि तीस करोड ९५ लाख ८६ हजार बजेट विनियोजन गरेको छ। शिक्षा क्षेत्रका लागि जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले ४० लाख र आमाछोदिङ्मो गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेका छन्।

प्रकाशित: १५ असार २०७५ ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App